काठमाडौं। नेपाल बिमा प्राधिकरणले एकैचोटि १० कम्पनीलाई पुँजी बढाउन हकप्रद सेयर जारी गर्ने अनुमति दिने भएको छ।
प्राधिकरणले चार जीवन र पाँच निर्जीवन बिमा कम्पनीलाई ८८.४५ प्रतिशतसम्म हकप्रद सेयर निष्कासन गर्न दिने भएको हो।
प्राधिकरणले पुँजी वृद्धि प्रक्रियामा अघि बढिसकेका बिमा कम्पनीलाई सहुलियतमा हकप्रदको बाटो खोलिदिएको हो। यस्तो सहुलियत पाउन अधिकांश बिमा कम्पनीले प्राधिकरणमा हकप्रद सेयर निष्कासन प्रस्ताव पेस गरेका छन्।
तोकिएको पुँजी पुर्याउन मर्जर तथा प्राप्तिमा सहभागी भएका र अन्य प्रक्रियामार्फत पनि पुँजी पुर्याउन नसकेकालाई मात्रै हकप्रदको विकल्प खुला गरेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए।
‘सबै कम्पनीले हकप्रद सेयर निष्कासन गर्न पाउँदैनन्, मर्जर भएर पनि पुँजी अपुग भएका कम्पनी पहिलो प्राथमिकतामा छन्,’ पौडेलले क्यापिटल नेपालसँग भने, ‘मर्जरमा सहभागी नभई अन्य प्रक्रियामार्फत पुँजी वृद्धि गर्ने कम्पनीका हकमा असार मसान्तसम्मको नाफालाई पुँजीकरण गरेर बोनस सेयर दिन भनेका छौं, अपुग हुँदा ती कम्पनीले पनि आवश्यक हकप्रद पाउँछन्।’
प्राधिकरणले २०७८ चैत १० गते एक वर्ष समयसिमा तोकेर १ सय ५० प्रतिशतसम्म पुँजी वृद्धि गर्न बिमा कम्पनीलाई निर्देशन दिएको थियो। उक्त समयसिमामा तीन महिना थप गर्दा पनि अधिकांश कम्पनीले तोकिएको पुँजी कायम गर्न सकेका छैनन्।
प्राधिकरणले २ अर्ब ५० करोड चुक्ता पुँजी भएका जीवन बिमा कम्पनीलाई ५ अर्ब र १ अर्ब भएका निर्जीवन बिमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको थियो।
तोकिएको पुँजी नपुगेका कम्पनीलाई हकप्रदको सहुलियत दिनुअघि गत आर्थिक वर्षमा कम्पनीले आर्जन गरेको नाफालाई पुँजीकरण गरी बोनस सेयर जारी गर्न लगाइने पौडेलको भनाइ छ। साथै, प्राधिकरणको निर्देशनअघि नै तोकिएको पुँजी पुगेका वा सामान्य अपुग हुने कम्पनीलाई पनि हकप्रदको सुविधा दिइने उनले स्पष्ट पारे।
हकप्रद पाउने कम्पनी कुनलाई कति?
मर्जरको कसरत गरेर होस् वा तटस्थ बसेर होस्, २१ बिमा कम्पनीले प्राधिकरणले तोकेको न्यूनतम पुँजी कायम गरेका छैनन्। जसमा ११ जीवन बीमा र १० निर्जीवन बीमा कम्पनी छन्।
प्राधिकरणले मर्जर भएर पनि तोकिएको पुँजी कायम नभएका कम्पनीलाई हकप्रद जारी गर्न दिने निर्णय गरिसकेको छ। तोकिएको पुँजी केही प्रतिशतमात्रै बाँकी भएका वा पुँजी वृद्धि नीतिअघि नै हकप्रदको प्रक्रियामा रहेका कम्पनीले पनि यस्तो सहुलियत पाउने पक्का भएको छ।
मर्जर भएर पनि तोकिएको पुँजी नपुगेका सात कम्पनी छन्। जसमा तीन जीवन र चार निर्जीवन बीमा कम्पनी हुन्। यी कम्पनीले हकप्रद स्वीकृत गराउन कम्पनी रजिस्ट्रारमा प्रक्रिया सम्पन्न गरी प्राधिकरणमा पाइपलाइनमा बसेका छन्।
ती कम्पनीलाई प्राधिकरणले असार मसान्तसम्म प्राप्त नाफाबाट सेयरधनीलाई दिने प्रतिफललाई पुँजीकरण गर्नसमेत सुझाएको थियो। कम्पनीहरूले प्राधिकरणमा हकप्रदको आवेदन पेस गरिसकेका छन्।
बोनस सेयरमार्फत पुँजी थप गर्न सम्भव भए प्राधिकरणले मागभन्दा कम नम्बरमा हकप्रदको स्वीकृति दिने पौडेल बताउँछन्।
‘मर्ज गरेर आउने कम्पनीलाई मागे जति दिनुपर्छ, तर नाफालाई पुँजीकरण गर्ने विकल्प पनि दिएका छौं। त्यो गरेमा उनीहरूले तत्काल माग गरेजति हकप्रद दिनुपर्दैन,’ पौडेलले भने।
मर्ज भएर पनि पुँजी पुर्याउन नसक्ने जीवन बिमा कम्पनीमा सूर्यज्योति लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी हुन्।
सूर्यज्योति लाइफको ४ अर्ब ४५ करोड ५५ लाख रुपैयाँ पुँजी कायम छ। कम्पनीले ५ अर्ब रुपैयाँ पुँजी थप गर्न १० प्रतिशत हकप्रद माग गर्दै प्राधिकरण पुगेको हो। कम्पनीलाई ४५ करोड ४४ लाख रुपैयाँ पुँजी अपुग छ।
यस्तै ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ पुँजी भएको सानिमा रिलायन्सले प्राधिकरणमा १९.५० प्रतिशत हकप्रद माग गरेको छ। कम्पनीलाई तोकेको पुँजी कायम गर्न ८१ करोड ६० लाख रुपैयाँ अपुग छ।
त्यसैगरी ४ अर्ब १० करोड रुपैयाँ पुँजी भएको प्रभु महालक्ष्मीले प्राधिकरणमा २१.९५ प्रतिशत हकप्रदको प्रस्ताव पेस गरेको छ। कम्पनीलाई तोकेको पुँजी कायम गर्न ९० करोड रुपैयाँ आवश्यक छ।
यता निर्जीवन बिमा कम्पनीतर्फ मर्जर भएर पनि तोकेको २ अर्ब ५० करोड रुपैयाँ पुँजी नपुग्नेमा हिमालयन एभरेस्ट, युनाइटेड अजोड र सानिमा जिआइसी इन्स्योरेन्स हुन्।
हिमालयन एभरेस्टको २ अर्ब २३ करोड ९९ लाख रुपैयाँ चुक्ता पुँजी छ। कम्पनीले ११.६१ प्रतिशत हकप्रद माग गर्दै प्राधिकरण पुगेको छ। तोकेको पुँजी कायम गर्न कम्पनीलाई २६ करोड रुपैयाँ आवश्यक पर्छ।
त्यस्तै २ अर्ब भएको सानिमा जिआइसीलाई तोकेको पुँजी पर्याउन ५० करोड रुपैयाँ अपुग छ। कम्पनीले प्राधिकरणमा २५ प्रतिशत हकप्रद मागेको छ। युनाइटेड अजोडको १ अर्ब ९० करोड रुपैयाँ चुक्ता पुँजी कायम छ। कम्पनीले तोकेको पुँजी कायम गर्न २३.२६ प्रतिशत हकप्रद मागेको छ।
प्राधिकरणले ती कम्पनीलाई तोकिएको चुक्ता पुँजी कायम गर्ने ३० प्रतिशतसम्म हकप्रद सेयर जारी गर्न पाउने व्यवस्था गरिसकेको छ।
मर्जरमा सहभागी नभएका तर तोकेको पुँजीको नजिक रहेका नेको इन्स्योरेन्सले २४.२३ प्रतिशत हकप्रदको प्रस्ताव गरेको छ। नेकोको पुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ छ। कम्पनीलाई ४८ करोड ७६ लाख रुपैयाँ पुँजी अपुग छ।
यस बाहेक एनएलजी इन्स्योरेन्सले समेत ६६ प्रतिशत हकप्रदको स्वीकृति पाइसकेको छ। कम्पनीले पुँजी वृद्धि नीतिअघि नै प्राधिकरणबाट हकप्रदको अनुमति लिइसकेको थियो। कम्पनी हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डमा पाइपलाइनमा छ। कम्पनीको पुँजी १ अर्ब ४५ करोड ९२ लाख छ भने अपुग पुँजी १ अर्ब ४ करोड ७ लाख रुपैयाँ छ।
हकप्रद नचाहिने कम्पनी
अहिलेसम्म तीन निर्जीवन बिमा कम्पनी र तीन जीवन बिमा कम्पनीको मात्रै प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याएका छन्। जसमा जीवन बिमातर्र्फ नेसनल लाइफ, हिमालयन लाइफ र नेपाल लाइफ इन्स्योरेन्स छन्।
निर्जीवनतर्फ सिद्धार्थ प्रिमियर, सगरमाथा लुम्बिनी र आइजिआइ पु्रडेन्सियल इन्स्योरेन्सले तोकिएको चुक्ता पुँजी कायम गरिसकेका छन्। नेपाल लाइफ, नेसनल लाइफ र शिखर इन्स्योरेन्सको पुँजी प्रधिकरणको निर्देशनअघि नै थप गर्नुपर्ने पुँजी कायम थियो। हिमालयन लाइफ, सगरमाथा लुम्बिनी र आइजिआइ पु्रडेन्सियल इन्स्योरेन्सले मर्जमा सहभागी भएर तोकेको पुँजी पुर्याएका हुन्।
तीबाहेक मर्जरमा सहभागी नभएका र तोकिएको पुँजी पुर्याउन अन्य प्रक्रियामा समेत नगएका एसियन लाइफ, नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सलाई समेत तत्काल हकप्रदको सुविधा नदिने प्रष्ट पारिसकेको छ।
तोकिएको पुँजी कायम गर्न एसियन लाइफलाई ५८.४५ प्रतिशत, प्रभु इन्स्योरेन्सलाई ८१.६७ प्रतिशतसम्म हकप्रदको आवश्यता छ। ती कम्पनीले आवश्यक हकप्रद सेयर निष्कासनको प्रस्ताव पेस गरिसकेका छन्।
अन्य प्रक्रियाबाट केही पुँजी थप गरेपछि मात्रै आवश्यकताका आधारमा हकप्रदको स्वीकृति दिइने पौडेल बताउँछन्।
जसमा नेसनलले असार मसान्तसम्म प्राप्त नाफालाई पुँजीकरण गरी बोनस सेयर जारी गर्ने, प्रभु इन्स्योरेन्सले विदेशी साझेदार भित्र्याउने र नेपाल इन्स्योरेन्सले अचल सम्पत्ति बिक्री गरी पुँजी थप गर्ने प्रतिबद्धता जनाएका छन्।
लाइफ इन्स्योरेन्स कर्पोरेसनलाई भने प्राधिकरणले ८८.४५ प्रतिशत हकप्रदको स्वीकृति दिइसकेको छ। यो कम्पनीलाई मातृ कम्पनी भारतको जेभी एनआइसीलाई हकप्रद सेयर दिने गरी स्वीकृति दिइएको हो।
यता, प्राधिकरणको पुँजी वृद्धि नीतिअघि नै प्रिमियममा सेयर जारी गर्ने अनुमति पाएका आइएमई लाइफ, सन नेपाल, रिलायबल लाइफ र सिटिजन लाइफले आइपिओमार्फत नै पुँजी संकलन गर्न सक्ने पौडेलको भनाइ छ।
जीवन बिमाका लागि तोकिएको ५ अर्ब रुपैयाँ पुर्याउन कायम पुँजीमा आइएमई लाइफलाई ७८.५७ प्रतिशत, सन नेपाललाई १२३.२५ प्रतिशत, रिलायबल लाइफ ७८.५७ प्रतिशत र सिटिजन लाइफ ९०.४८ प्रतिशत हकप्रद आवश्यक पर्छ।
यसैगरी विदेशी बिमा कम्पनीका शाखाका रूपमा नेपालमा बिमा व्यवसाय गर्ने ओरिएन्टल इन्स्योरेन्स र नेसनल इन्स्योरेन्सले दायित्वअनुसार पुँजी थप गर्ने प्रतिबद्धता जनाएका छन्।
सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनी र राष्ट्रिय बिमा संस्थानलाई प्राधिकरणको पुँजी वृद्धिको नीति लागू नभएको देखिन्छ।