काठमाडौं। निर्माण व्यवसायीहरुले सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँध्दै सिठ्ठी फुकेर दोस्रो चरणको आन्दोलन सुरु गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा दोस्रो चरणको अन्दोलनमा सेफ्टी हेल्मेट र ज्याकेट लगाई हातमा कालो पट्टी बाँधेर महासंघ सचिवालय अनामनगरदेखि संसद भवन अगाडिसम्म सिठ्ठी जुलुस भएको हो।
महासंघका अध्यक्ष रवि सिंह नेतृत्वमा रहेको जुलुस बबरमहल हुँदै माइतीघर मण्डलामा पुगेर कोण सभामा बदलिएको थियो। कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्रीसमेत रहेका सांसद ज्ञानेन्द्रबहादुर शाहीले व्यवसायीहरूको रकम तत्काल भुक्तान गर्न सरकारसँग माग गरेका छन्।
निर्माण व्यवसायीहरूको रकम भुक्तान हुनुपर्ने विषयमा आफूले संसदमै कुरा उठाइसकेको स्मरण गराउँदै शाहीले अब अर्थ समितिमा पनि यो विषय प्राथमिकतासहित उठान गर्ने प्रतिबद्धता जनाएका छन्।
‘सरकारले काम लगाएपछि रकम भुक्तानी गर्नैपर्छ, आफ्नो अधिकार पाउन निर्माण व्यवसायीहरू सडकमै ओर्लनु राज्यकै कमजोरी हो’ सांसद शाहीले भने। निर्माण उद्योगमा धेरै समस्याहरू रहेको स्विकार गर्दै शाहीले त्यस्ता समस्या समाधानका लागि सार्वजनिक खरिद ऐनमै संसोधन आवश्यक रहेकोसमेत बताएका छन्।
मुलुकको कर्मचारीतन्त्रका कारण पनि निर्माण व्यवसायीहरू मारमा परेको उनको भनाइ छ। महासंघका अध्यक्ष सिंहले सरकारले व्यवसायीहरूका जायज माग पूरा नगरेका कारण बाध्य भएर दोस्रो चरणको आन्दोलन सुरु गर्नुपरेको बताए।
अध्यक्ष सिंहका अनुसार म्याद थप मात्र समस्याको समाधान नभइ म्याद थपसँगै भुक्तानीको व्यवस्था नहुँदा निर्माण उद्योगको समस्या जटिल हुँदै गएको हो। महासंघका महासचिव रोशन दाहालले सामान्य तरिकाले राज्यले व्यवसायीहरूको समस्या नसुनेका कारण सिठ्ठी फुकेर ध्यानाकर्षण गराइएको बताएका छन्।
महासंघका प्रवक्तासमेत रहेका नीतिगत उपमहासचिव शिवहरि घिमिरेले सोमबारको विरोध कार्यक्रमलाई आगामी शुक्रबारसम्म निरन्तरता दिइने जानकारी दिए।
घिमिरेले शुक्रबारसम्म माग पूरा नभए साउन २८ बाट तेस्रो चरणको आन्दोलनको कार्यक्रम सुरु हुने जनाएका छन्।
साउन २८ देखि अत्यावश्यक बाहेकका सबै निर्माण कार्यहरू अनिश्चितकालका लागि बन्द गर्ने महासंघले जनाएको छ। त्यस्तै विकासे विभागहरूमा पालैपालो विहान १० बजेदेखि ११ बजेसम्म धर्ना तथा तालाबन्दी गर्ने कार्यक्रम महासंघले सार्वजनिक गरेको छ। तेस्रो चरणकै कार्यक्रमअन्र्तगत महासंघले निर्माण विज्ञहरूबीच प्रत्यक्ष सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्नेछ।
आफ्ना मागहरू पूरा नभए थानकोट तथा भक्तपुरको साँगा नाकामा आलोपालो गरी दैनिक एक घण्टा सडकमा चक्का जाम गरी नाका बन्द गर्ने कार्यक्रम महासंघले सार्वजनिक गरेको छ। महासंघको जारी आन्दोलनमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतका निजी क्षेत्रका विभिन्न संघ संस्थाहरूले एक्यबद्धता जनाएका छन्।