काठमाडौं। के तपाईं वैदेशिक रोजगारीबाट फर्किएर नेपालमै कुनै व्यवसाय गर्ने सोचमा हुनुहुन्छ? कि तपाईं विदेशमै भए पनि आफ्नो परिवारका सदस्यले कुनै उद्यम–व्यवसाय सञ्चालन गर्ने सोच बनाउनुभएको छ?
यदि त्यसो हो भने तपाईंका लागि बागमती प्रदेश सरकारले फाइदाजनक नीति लिने भएको छ। बागमती प्रदेश सरकारले वैदेशिक रोजगारबाट फर्केकालाई ५० प्रतिशतसम्म ब्याज अनुदानसहित सहुलियतपूर्ण कर्जा दिने भएको हो।
‘प्रदेश श्रम तथा रोजगार नीति २०८०’ ले वैदेशिक रोजगारबाट प्राप्त आम्दानी, सीप अनुभव र प्रविधिलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्ने नीतिबमोजिम वैदेशिक रोजगारबाट फर्केकालाई ५० प्रतिशतसम्म ब्याज अनुदानसहित सहुलियतपूर्ण कर्जा दिने भएको हो।
सरकारले वैदेशिक रोजगारमा सिकेको सीपमा आधारित व्यवसाय वा उद्यम सञ्चालन गर्न चाहने वा वैदेशिक रोजगारबाट फर्किएका श्रमिकले आर्जन गरेको आम्दानी रोजगारमूलक क्षेत्रमा लगानी गर्न चाहे व्यवसायको क्षमता तथा आवश्यकता हेरी परियोजना ‘स्किल’ मा आधारित रही ५० प्रतिशतसम्म ब्याज अनुदानसहित सहुलियतपूर्ण कर्जा प्रदान गर्ने नीति लिएको हो।
‘वैदेशिक रोजगारमा प्राप्त सीपमा आधारित उद्योग सञ्चालन गर्न चाहनेलाई स्किल निर्माण, बजार सर्वेक्षण तथा अन्य व्यवसायीसँग अनुभव प्राप्त गरी उद्यम स्थापनाको चरणसम्म पुर्याउन सहजीकरण गरिने छ,’ प्रदेश श्रम तथा रोजगार नीति २०८० मा उल्लेख छ।
त्यसैगरी वैदेशिक रोजगारबाट फर्केका व्यक्तिले सञ्चालन गर्ने व्यवसायमा छुट तथा सहुलियत प्रदान गर्न कानुनी व्यवस्था गरिने बागमती प्रदेश सरकारको नीति छ।
त्यसैगरी, वैदेशिक रोजगारीमा गएकाको परिवारले सञ्चालन गर्ने उद्यम–व्यवसायलाई वैदेशिक रोजगारीमा गएकाले पाउनेसरह सुविधा प्रदान गरिने श्रम तथा रोजगार नीति २०८० मा उल्लेख छ।
प्रदेशमा भित्रिने विप्रेषण (रेमिट्यान्स) उत्पादनशील एवं रोजगारमूलक क्षेत्रमा परिचालन गर्ने नीति अवलम्बन गरिने, वैदेशिक रोजगारका क्रममा सिकेको सीप परीक्षणका लागि आवश्यक सहयोग र सहजीकरण गरिने श्रम मन्त्रालय बागमतीको नीति छ।
श्रमिकले वैदेशिक रोजगारीका क्रममा प्राप्त अनुभव, सीप तथा प्रविधिको रेकर्ड राख्ने र त्यसको उपयोग गरिने एवं यस्तो सीप स्थानीयस्तरमा समेत हस्तान्तरणका लागि प्रोत्साहित गरिने छ।
वैदेशिक रोजगारीमा कम्तीमा दुई वर्ष व्यतित गरी फर्किएका श्रमिकलाई वैदेशिक रोजगारसम्बन्धी सूचना प्रवाह, प्रशिक्षण तथा रिटर्न स्वयंसेवकलगायत कार्यमा प्राथमिकता दिने नीति अवलम्बन गरिने र विदेशमा सिकेको सीप स्तरोन्नति वा रूपान्तरण गरी स्वदेशमा प्रयोग गर्ने अवसर प्रदान गरिने मन्त्रालयको नीति छ।