काठमाडौं। सरकारी जग्गा मिचिएको लगायत मुद्दाका कारण लामो समयदेखि विवादित भैरहवाको पाँचतारे स्तरको ‘टाइगर प्यालेस रिसोर्ट’ अन्ततः बिक्री भएको छ।
अमेरिकामा व्यवसाय गर्दै आएका नेपाली नागरिक बुद्धि सुवेदीसहित केही नेपाली व्यवसायी मिलेर उक्त रिसोर्ट ५ अर्ब रुपैयाँमा खरिद गर्ने गरी ‘फाइनल डिल’ यसै साता गरेका हुन्।
विश्वस्त स्रोतका अनुसार रिसोर्ट खरिद डिल विदेशमै भएको हो। केही समययता उक्त रिसोर्ट खरिद बिक्रीबारे चर्चा भइरहेका बेला योपटक भने बिक्री नै गरिसकेको र नेपाल आएर सेयर स्वामित्व हस्तान्तरण गर्नमात्र बाँकी छ।
रिसोर्ट खरिद गर्ने सुवेदीले अमेरिकाको डेलावरमा दर्ता भएको नेपालयन टाइगर इन्भेस्टमेन्ट एलएलसीमार्फत गरेको स्रोतले बताएको छ।
सुवेदी गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका निर्वतमान अध्यक्षसमेत हुन्। उनीसहितको समूहले रिसोर्टमा रहेको हालको ऋण सकार्ने गरी सहमति गरेको हो। उक्त कम्पनीमा सुवेदीलगायत अमेरिका, क्यानडा र युरोपमा रहेका नेपाली संलग्न छन्।
खरिदकर्ताले रिसोर्टका नाममा रहेको सबै ऋण पनि स्वीकार गरेको छ। यो खरिद–बिक्री नेपालमा भएका ठूला किनबेचमध्ये एक हो। विदेशी लगानी हुने गरी उक्त होटलको सेयर खरिद–बिक्री भएको हो।
यसअघि अमेरिकामै रहेका व्यवसायी खगेन्द्र जिसी तथा नेपालका व्यवसायी बालकृष्ण भुसाल र सिएन पाण्डेले खरिद प्रक्रिया अगाडि बढाएका थिए।
यस्तै २०७६ साउनमा मलेसियामा रहेका इन्द्रबहादुर थापालाई ‘केही व्यवसायी’ ले ‘डमी’ का रूपमा अगाडि सारेर उक्त रिसोर्ट खरिदका लागि प्रक्रिया अगाडि बढाए पनि सफल हुन सकेको थिएन।
रुपन्देही तिलोत्तमा नगरपालिका कोटिहवामा १७ बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा क्यासिनोसमेत सञ्चालनमा छ। रिसोर्टमा १ सय ५ कोठा छन्। विवादकै कारण लामो समयदेखि लगानीकर्ताले रिसोर्ट बेचेर नेपालबाट बाहिरिन खोजेको थियो। तर, पटक–पटक भएको डिल भङ्ग हुँदै आएको छ।
२०७४ सालबाट सञ्चालनमा रहेको रिसोर्टमा हङकङको सिल्भर हेरिटेज ग्रुपको ५ अर्ब २० करोड लगानी छ। उक्त ग्रुपको नेपालस्थित सहायक कम्पनी सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिले सञ्चालनमा ल्याएको हो।