काठमाडौं। लामो समयदेखि कोरोना बिमा रकम भुक्तानी नभएपछि बिमितहरू बिमा कम्पनी र नेपाल बिमा प्राधिकरण धाउँदा–धाउँदा दिक्क भएका छन्।
कोरोना बिमा रकम नपाएका बिमित रकम भुक्तानी हुने आशमा बिमा कम्पनी र प्राधिकरण धाएर दिक्क बनेका हुन्। सरकारले रकम उपलब्ध नगराएका कारण लामो समयदेखि कोरोना बिमा भुक्तानी रोकिएको छ। तर, पनि बिमित रकम पाउने आशमा दिनहुँ बिमा कम्पनी र प्राधिकरण पुग्ने गरेका छन्।
‘कोरोना बिमा रकम उपलब्ध गराइदिन आग्रह गर्दै म इन्स्योरेन्स कम्पनी गएको थिएँ। तर, इन्स्योरेन्स कम्पनीले बिमा प्राधिकरणले भुक्तानी गर्न रोकेको भन्दै मलाई प्राधिकरणमा गएर कुरा गर्न भनियो,’ बिमा रकम खोजी गर्दै प्राधिकरण पुगेका एक बिमितले क्यापिटल नेपालसँग भने, ‘त्यसैले म प्राधिकरण आएको हुँ।’
कम्पनीले आफूबाट धेरै रकम भुक्तानी गर्न बाँकी नरहे पनि प्राधिकरणले रोकेका कारण त्यहीँ गएर कुरा गर्न भनेपछि आफू प्राधिकरणसम्म आएको उनको भनाइ छ।
उनले कोरोना बिमा समयमा भुक्तानी हुन नसक्दा बिमाप्रतिको विश्वास नै घटेर गएको गुनासो गरे। ‘म र मजस्ता बिमाको रकम नपाउने धेरैमा यसको नकारात्मक प्रभाव परेको छ। समस्यामा परेका बेला बिमाले तत्काल सहयोग गर्नुपर्ने हो। तर, वर्षौं बितिसक्दा पनि रकम भुक्तानी नहुँदा यसप्रतिको आस्था नै घटेर गएको छ,’ उनले भने, ‘यसै कारण पुनः बिमामा जोडिन मन लाग्न छाडेको छ भने अरूलाई यसप्रति प्रेरित गर्न पनि नसक्ने अवस्था छ।’
उनले कोरोना संक्रमणबाट परिवारका सदस्यको मृत्यु भएपछि बिमा भुक्तानी खोजीमा पटक–पटक आएको जानकारी दिए।
बिमा कम्पनीहरूले प्राधिकरणबाट रोकिएको बताएपछि दिनहुँ बिमितहरू प्राधिकरण धाउने गरेको प्राधिकरणकै भनाइ छ।
‘प्राधिकरणले पैसा दिने पनि होइन र पैसा दिनू वा नदिनू भनेर कसैलाई भनेको पनि छैन,’ प्राधिकरणका एक अधिकारीले भने, ‘बिमा कम्पनीले बिमा गर्न पनि प्राधिकरणलाई सोध्नुपर्दैन र बिमा गरेको पैसा दिन पनि प्राधिकरणलाई सोध्नुपर्दैन। उनीहरूले प्राधिकरणले रोकेको भनेर यता टाँसो लगाइदिने काम गरेका मात्रै हुन्।’
उनले कतिपय कर्मचारीलाई जानकारी नभएर पनि प्राधिकरणले रोकेको भनेर बताइदिएको हुनसक्ने उल्लेख गरे।
‘कोरोना बिमा हुनुभन्दा अगाडि नै ३ अर्बसम्मको रकम बिमा कम्पनीले बेहोर्ने र त्योभन्दा बढी रकम सरकारले तिर्ने सम्झौता भएको थियो। बिमा कम्पनीबाट उक्त सम्झौताभन्दा बढी रकम भुक्तानी भइसकेको छ,’ ती अधिकारीले भने, ‘त्यसलै अब बिमा भुक्तानी गर्नुपर्ने दायित्व सरकारको हो। सरकारबाट पैसा नआउँदासम्म पैसा आउने पनि देखिँदैन।’
उनले चालू आर्थिक वर्ष २०८०÷८१ को बजेटले कोरोना बिमा भुक्तानीका लागि भनेर बजेट नछुट्ट्याएका कारण पनि यसमा अन्यौल देखिएको बताए।
अब सरकारबाट रकम आएको खण्डमा सबैभन्दा पहिला व्यक्तिगत बिमा गर्नेलाई भुक्तानी हुने उनको भनाइ छ।
‘सरकारले नागरिकको फाइदाका लागि नै भनेर कोरोना बिमा अगाडि सारेको हो। अन्यथा, कोरोना महामारीका समयमा ३ सय रुपैयाँमा बिमा गराउनु कठिन कार्य हो। जुन विश्वका अन्य कुनै मुलुकमा पनि यस्तो भएको देखिँदैन,’ उनले भने, ‘त्यसैले यो सकारात्मक पक्ष हो। तर, समयमा भुक्तानी नहुँदा नागरिकमा नकारात्मक प्रभाव परेको छ भने बिमा गराउने पनि बदनाम हुनुपरेको छ।’
सरकारबाट हाल कोरोना बिमा भुक्तानी गर्ने संकेत नदेखिए पनि सरकार त्यो दायित्वबाट पछि हट्न नहुने बताए।
‘सरकारले पूरा गर्नुपर्ने दायित्व पूरा नगरे अरू कसले गर्ने? अनि नागरिकले कोमाथि विश्वास गर्ने?,’ उनले भने, ‘यसर्थ पनि सरकारले आफ्नो दायित्व निर्वाह गर्नुपर्छ र गर्छ। तर, कहिले र कसरी गर्छ भन्ने विषय अन्यौलपूर्ण छ।’
उनले बिमित नागरिक बिमा रकम पाउने आशामा टाढा–टाढाबाट आउने गरेका कारण सरकारले यस क्षेत्रप्रतिको विश्वास डगमगाउन दिन नहुने बताए।
कोरोना बिमामा १ लाख ६२ हजारभन्दा बढीबाट करिब १५ अर्ब ३५ करोड रुपैयाँबराबरको दाबी परेको थियो। त्यसमा बिमा क्षेत्रको दायित्व रहेको साढे ३ अर्बमा थप डेढ अर्ब बढी गरी कूल ५ अर्बहाराहारी भुक्तानी भइसकेको छ। सरकारले भुक्तानी गर्नुपर्ने साढे १२ अर्ब रुपैयाँ दायित्वमा १ अर्ब भने भुक्तानी गरिसकेको छ।
अब साढे ९ अर्बभन्दा बढी कोरोना बिमा रकम भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणले जानकारी दिएको छ। पछिल्लोपटक सरकारले उपलब्ध गराएको १ अर्ब र त्यसमा बिमा कम्पनीले थप गरेको ८१ करोड गरी १ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी भएको थियो। त्यहाँदेखि यता कुनै पनि रकम भुक्तानी हुन सकेको छैन।