काठमाडौं। वाणिज्य बैंकहरूमा उठ्न बाँकी रकम अर्थात खराब कर्जा (एनपिएल) सवा खर्ब बढी पुगेको छ। ऋणीले समयमै कर्जा नतिर्दा खराब कर्जा एक वर्षमा १ खर्ब १६ अर्ब ३७ करोड रुपैयाँ थप भएको हो।
गत आर्थिक वर्ष असार मसान्तसम्म वाणिज्य बैंकहरूले कूल ४२ खर्ब ९४ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। त्यसबेला उनीहरूको खराब कर्जा औसत २.७१ प्रतिशत रहेको बैंकहरूद्वारा प्रकाशित वित्तीय विवरणले देखाएको छ।
अघिल्लो आवको तुलनामा गत आवमा वाणिज्य बैंकहरूको औसत खराब कर्जा अनुपात १.४५ प्रतिशत बिन्दुले वृद्धि भएको छ। अघिल्लो आवमा खराब कर्जा १.२५ प्रतिशत थियो।
हाल २० वाणिज्य बैंकले बैंकिङ व्यवसाय गर्छन्। अघिल्लो आवमा कायम एनपिएल गत आवमा सबै बैंकको वृद्धि वाणिज्य बैंकद्वारा प्रकाशित गत आवको अपरिष्कृत वित्तीय विवरणले देखाउँछ।
खराब कर्जा व्यवस्था
बैंक तथा वित्तीय संस्थाका ऋणीले कर्जा सम्झौताअनुसार कर्जा प्रवाह गर्छन्। सम्झौताअनुसार ऋणीले तोकिएको समयमा साँवा ब्याज भुक्तानी नगरे उक्त ऋणलाई खराब कर्जामा राख्नुपर्ने हुन्छ।
यस्तो कर्जामा बैंक तथा वित्तीय संस्थामा राष्ट्र बैंकले तोकेको कर्जा नोक्सानीवापत ‘प्रोभिजन’ गर्नुपर्ने हुन्छ। नेपालको सन्दर्भमा बैंक तथा वित्तीय संस्थाको ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएमा त्यसमा जोखिम भएको मानिन्छ।
बैंकहरूले प्रवाह गरेको कर्जामध्ये साँवा ब्याज भुक्तानी गर्ने भाखा नाघी एक वर्ष नपुगेको कर्जालाई खराब कर्जाका रूपमा राख्नुपर्ने व्यवस्था छ। बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाहित कर्जालाई केन्द्रीय बैंकले वर्गीकरण गरी प्रोभिजन गर्नुपर्ने व्यवस्था गरेको हो।
जसमा कर्जा प्रवाह गरेको ३० दिनसम्म असल कर्जामा वर्गीकरण गरी १ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था थियो। जसलाई राष्ट्र बैंकले अघिल्लो आवदेखि ०.३ प्रतिशत थप गरी १.३ प्रतिशत कायम गरेको छ।
एक महिनादेखि तीन महिनासम्म कर्जाको साँवा ब्याज भुक्तानी नभए त्यो कर्जा ‘वाचलिस्ट’ मा राखी ५ प्रतिशत प्रोभिजन गर्नुपर्छ। साथै, तीन महिनादेखि ६ महिनासम्म कर्जाको साँवा ब्याज भुक्तानी नभए कर्जालाई कमसल कर्जामा वर्गीकरण गरी २५ प्रतिशत प्रोभिजन गर्नुपर्छ।
यदि ऋणीले कर्जा लिएको ६ महिनादेखि एक वर्षसम्म पनि साँवा ब्याज भुक्तानी नगरे त्यो कर्जालाई शंकास्पद कर्जामा वर्गीकरण गरी ५० प्रतिशत प्रोभिजन बैंकले गर्नुपर्छ।
त्यस्तै एक वर्षभन्दा माथि साँवा ब्याज भुक्तानी नभए त्यसमा सतप्रतिशत प्रोभिजन बैंकले गरेर कर्जालाई खराब कर्जामा राख्नुपर्ने व्यवस्था छ।
वाणिज्य बैंकहरूमा खराब कर्जा
गत आर्थिक वर्ष सबैभन्दा बढी निष्क्रिय कर्जा कुमारी बैंक र सबैभन्दा कम एभरेस्ट बैंकमा छ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये चारमा ४ प्रतिशतमाथि ४.७७ प्रतिशतसम्म, १२ मा २ प्रतिशतमाथि ४ प्रतिशतसम्म र ४ मा २ प्रतिशतभन्दा कम छ।
यसैगरी अघिल्लो आवको तुलनामा गत आवमा सबैभन्दा बढी निष्क्रिय कर्जा अनुपात कुमारीको बढेको छ भने सबैभन्दा कम एनआइसी एसियाको बढेको छ। अघिल्लो आवको तुलनामा कुमारीको एनपिएल ३.६६ प्रतिशत बिन्दुले बढ्दा एनआइसी एसियाको ०.२७ प्रतिशत बिन्दुले वृद्धि भएको हो।
कुनमा कति खराब कर्जा?
गत आर्थिक वर्ष असार मसान्तसम्म वाणिज्य बैंकले प्रवाह गरेको कर्जाका आधारमा सबैभन्दा बढी खराब कर्जा कुमारीमा हुँदा दोस्रोमा हिमालयन र तेस्रोमा प्राइम बैंक छन्।
एक वर्षमा कुमारी बैंकमा ३.६६ प्रतिशत बिन्दुले बढेर ४.७७ प्रतिशत, हिमालयन बैंक २.९८ प्रतिशत बिन्दुले बढेर ४.५७ प्रतिशत, प्राइम २.४६ प्रतिशत बिन्दुले बढेर ४.२३ प्रतिशत र प्रभु बैंकमा २.३ प्रतिशत बिन्दुले बढेर ४.१६ प्रतिशत पुगेको हो।
त्यसैगरी नबिल बैंकमा १.६ प्रतिशत बिन्दुले बढेर ३.२ प्रतिशत, सिटिजन्स ०.९७ प्रतिशत बिन्दुले बढेर ३.१९६ प्रतिशत, ग्लोबल आइएमई १.८३ प्रतिशत बिन्दुले बढेर ३.०८ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकमा ०.८६ प्रतिशत बिन्दुले बढेर २.९५ प्रतिशत पुगेको छ।
अघिल्लो आवको तुलनामा निष्क्रिय कर्जा नेपाल बैंकमा १.०२ प्रतिशत बिन्दुले बढेर २.८५ प्रतिशत, लक्ष्मी सनराइज १.९२ प्रतिशत बिन्दुले बढेर २.८१ प्रतिशत, एनएमबी १.२७ प्रतिशत बिन्दुले बढेर २.२७ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा १.२७ प्रतिशत बिन्दुले बढेर २.७२ प्रतिशत र कृषि विकास बैंकमा ०.३९ प्रतिशत बिन्दुले बढेर २.४८ प्रतिशत पुगेको छ।
त्यस्तै नेपाल एसबिआई बैंकमा २.२८ प्रतिशत बिन्दुले बढेर २.२८ प्रतिशत, माछापुच्छ्रे १.०५ प्रतिशत बिन्दुले बढेर २.१२ प्रतिशत, सिद्धार्थ ०.९४ प्रतिशत बिन्दुले बढेर २.०१ प्रतिशत, सानिमा ०.९७ प्रतिशत बिन्दुले बढेर १.३ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड ०.६१ प्रतिशत बिन्दुले बढेर १.१७ प्रतिशत, एनआइसी एसिया ०.२७ प्रतिशत बिन्दुले बढेर ०.८० प्रतिशत र एभरेस्ट बैंकमा ०.४४ प्रतिशत बिन्दुले बढेर ०.१७ प्रतिशत पुगेको छ।