काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले डिजिटल युगमा प्रवेश गरे पनि नियम कानुन पुरानै रहेकाले परिमार्जनको तयारी थालिएको बताएकी छन्।
पहिलो नेपाली चलचित्र आमाका अभिनेत्री भुवन चन्द, चैत्यदेवी सिंह र बसुन्धरा भुसालले स्थापना गरेको भुवन चैत्य बसुन्धारा फाउण्डेसनले आयोजना गरेको पुरस्कार अर्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएको हुन्।
‘चलचित्र क्षेत्रको विकास र यसमा जीवन अर्पण गर्ने सर्जक र स्रष्टाहरुको सम्मानमा सरकार प्रतिबद्ध छ,’ मन्त्री शर्माले भनिन्, ‘हिजो श्वेत पर्दाबाट सुरु भएको नेपाली चलचित्र क्षेत्र आज डिजिटल युगमा प्रवेश गरे पनि नियम कानुन पुरानै रहेकाले त्यसमा आवश्यक परिमार्जनको काम थालिएको छ।’
उनले चलचित्र बोर्डले तयार पारेको ऐन परिमार्जनको मस्यौदा मन्त्रालयमा छलफल गरेर चाँडै मन्त्रिपरिषदमा लैजाने प्रतिबद्धता पनि व्यक्त गरिन्।
नेपाली चलचित्र विदेशी चलचित्रसँग प्रतिष्पर्धा गर्नसक्ने बनाउन आवश्यक रहेको पनि उनले उल्लेख गरिन्।
यसका लागि सरकारको नीतिगत सहयोग हुने र चलचित्र निर्माताहरूले पनि गुणस्तरमा ध्यान दिनुपर्ने उनको भनाइ छ। हरेक क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव प्राप्त गर्न त्यही जानुपर्ने अवस्थाको अन्त्य भएको आजको डिजिटल युगमा विभिन्न देशका अभ्यासबाट सिकेर गुणस्तरीय चलचित्र बनाउनतिर ध्यान दिन मन्त्री शर्माले सम्बद्ध पक्षलाई आग्रह गरिन।
‘सबै मानिस सबै क्षेत्रमा लाग्न सक्दैनन् तर जो जुन क्षेत्रमा लागेको छ, उसले निष्ठापूर्वक काम गरेको छ कि छैन भनेर समाजले मूल्यांकन गर्नुपर्छ,’ मन्त्री शर्माले भनिन्, ‘हरेक क्षेत्रमा लागेर समाजका लागि योगदान गर्ने र व्यक्तिगत स्वार्थका लागि काम गर्नेको बीचमा समाजले नै भिन्नता छुट्याउनुपर्छ, त्यही नै ठूलो सम्मान हो।’
सो क्रममा मन्त्री शर्माले भुवन चैत्य बसुन्धरा फाउण्डेसन पुरस्कार २०७९ र २०८० बाट विभिन्न सर्जक तथा स्रष्टालाई सम्मान गरेकी थिइन्।
हरिश भुवन चन्द पुरस्कारबाट वरिष्ठ गीतकार यावद खरेल र नीर शाह, चैत्यदेवी सिंह पुरस्कारबाट वरिष्ठ संगीतकर्मी गणेश रसिक र वरिष्ठ अभिनेता शिव श्रेष्ठ, चेतनारायण बसुन्धरा भुसाल पुरस्कारबाट वरिष्ठ अभिनेत्री मिथिला शर्मा र शर्मिला मल्ललाई सम्मान गरिएको थियो।