काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना माग सम्बोधन नभएको भन्दै दोस्रो र तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ।
आइतबार पत्रकार सम्मेलन गर्दै महासंघले साउन २२ देखि २६ गतेसम्म दोस्रो चरणका आन्दोलन गर्ने जनाएको छ। त्यस्तै, साउन २८ पछि तेस्रो चरणको आन्दोलन गर्ने महासंघका अध्यक्ष रवि सिंहले बताए।
दोस्रो चरणमा सेफ्टी हेल्मेट र ज्याकेट लगाएर हातमा कालोपट्टी बाधेर महासंघको कार्यालय अनामनगरदेखि संसद भवनसम्म सिठ्ठी जुलुस गरी कोणसभा गरेर माइतीघर, बबरमहल हुँदै हनुमानस्थानमा धर्ना दिने कार्यक्रम छ।
त्यति गर्दा पनि सरकारले ५० अर्ब रुपैयाँ नदिए, आयोजनाको समग्र म्याद थप नगरे, कानुन संशोधन नगरे तेस्रो चरणको आन्दोलन गर्ने महासंघले जनाएको छ।
तेस्रो चरणमा अत्यावश्यक बाहेकका सबै निर्माण कार्य अनिश्चितकालका लागि बन्द गर्ने, विकासे विभागहरूमा पालैपालो १० देखि ११ बजेसम्म धर्ना तथा तलाबन्दी गर्ने, निर्माण विज्ञलगायत सरोकारवाला राखेर सार्वजनिक सुनुवाइ टेलिभिजनमार्फत सार्वजनिक गर्ने, थानकोट र भक्तपुरको साँगा नाकामा आलोपालो दैनिकरूपमा एक घन्टा सडकमा चक्का जाम गरी नाका बन्द गर्ने महासंघको घोषणा छ।
यसैबीच अर्थ मन्त्री डा. प्रकाशशरण महतले बजेट अभावका कारण निर्माण व्यवसायीको भुक्तानी दिन नसक्ने बताएका छन्।