काठमाडौं। मुलुकको आर्थिक मन्दी साम्य हुँदै गएसँगै बैंकहरूको आम्दानी प्रतिफल बढ्न थालेको छ। यसबाट बैंकहरूको प्रतिसेयर आम्दानी (इपिएस) औसतमा २ रुपैयाँले बढेको हो।
अघिल्लो आर्थिक वर्ष बैंकहरूको औसत इपिएस १९ रुपैयाँ ९७ पैसा थियो। गत आवको अन्त्यसम्म इपिएस २ रुपैयाँ ३ पैसाले बढेर औसतमा २२ रुपैयाँ कायम भएको छ।
औसतमा वाणिज्य बैंकहरूको इपिइस बढे पनि ६ वटा बैंकको घटेको छ। एक वर्ष अवधिमा १० वाणिज्य बैंकको इपिएस ७ पैसादेखि १० रुपैयाँ ८ पैसासम्मले घटेको हो। जसमा सबैभन्दा बढी कुमारी बैंक र सबैभन्दा थोरै ग्लोबल आइएमई बैंकको घटेको छ।
अघिल्लो आवको तुलनामा गत आवमा १४ वाणिज्य बैंकको इपिएस भने ६५ पैसादेखि १३ रुपैयाँ ४७ पैसासम्म बढेको छ। एक वर्ष अवधिमा इपिएस सबैभन्दा बढी स्ट्यान्डर्ड चार्टर्ड बैंक र सबैभन्दा कम एनएमबी बैंकले बढाएका छन्।
एक वर्षमा इपिएस बढाउने बैंकको दोस्रो नम्बरमा नबिल बैंक र तेस्रोमा कृषि विकास बैंक छन्।
इपिएस भनेको के हो? यसको प्रभाव सेयर बजार मूल्यमा कस्तो हुुन्छ?
करपछिको नाफालाई कूल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी अर्थात इपिएस भनिन्छ। यो लगानीकर्तालाई प्रतिफल दिने आधार पनि हो।
यसले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभूत पक्षको विश्लेषणको प्रमुख सूचकका रूपमा लिइन्छ। प्रतिसेयर आम्दानीले कम्पनीले प्रत्येक सेयरबाट संकलित पुँजी परिचालन गरेर कमाएको नाफालाई वित्तीय तथ्यांकमा व्यक्त गर्छ।
जस्तै, कुनै कम्पनीको एक वर्षको आम्दानी १ हजार रुपैयाँ छ र कम्पनीको सेयर संख्या १ सय छ भने कम्पनीको एक कित्ता सेयर बराबरको आम्दानी भनेको १० रुपैयाँ हुन आउँछ। उक्त आम्दानीमा पनि कम्पनीले निश्चित रकम जगेडा कोषमा राख्छन् । त्यसैले प्रतिसेयर आम्दानी जति धेरै भयो, त्यति नै राम्रो मानिन्छ।
कुनै पनि कम्पनीको सेयरमा लगानी गर्दा त्यो कम्पनीले लगानीको प्रतिफल कति दिन्छ र त्यो कम्पनीको प्रतिसेयर आम्दानी कति छ हेरेरमात्र लगानी गर्नुपर्ने हुन्छ।
लगानी गरिने कम्पनीको प्रतिसेयर आम्दानीको मूल्यांकन नै नगरी लगानीको उचित प्रतिफल पाइादैन। पछिल्लो समय थोरै प्रतिसेयर आम्दानी भएका बैंकहरूको समेत सेयर मूल्य भने उच्च छ।
कम्पनीको मूल्यांकन नै नगरी लगानीकर्ताले सेयरमा लगानी गर्दा थोरै प्रतिसेयर आम्दानी भएका कम्पनीको समेत बजारमा धेरै मूल्य पुगिसकेको छ। यसले गर्दा लगानीकर्ताले लगानीअनुसार प्रतिफल नपाउने प्रष्ट हुन्छ।
एक वर्षमा वाणिज्य बैंकहरूको इपिएस
सञ्चालनमा रहेका २० वाणिज्य बैंकको इपिएस समीक्षा अवधिमा ७ रुपैयाँ ४६ पैसादेखि ४० रुपैयाँ २२ पैसासम्म कायम छ। उक्त अवधिमा १४ बैंकले ६५ पैसादेखि १३ रुपैयाँ ४७ पैसासम्म त्यस्तो आम्दानी बढाएका हुन्।
एक वर्षमा सबैभन्दा बढी आम्दानी प्रतिफल बढाउनेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक छ। अघिल्लो आवको चौथो त्रैमासमा बैंकको इपिएस २३ रुपैयाँ ९२ पैसा थियो। गत आवको सोही अवधिमा ५६.३१ प्रतिशतले वृद्धि भएर ३७ रुपैयाँ ३१ पैसा कायम भएको छ।
एक वर्षमा नबिल बैंकको इपिएस ४९.२५ प्रतिशत अर्थात ९ रुपैयाँ १८ पैसाले बढेर २७ रुपैयाँ ८२ पैसा, कृषि विकास बैंकको ४३.१० प्रतिशत अर्थात ६ रुपैयाँ २१ पैसाले बढेर २० रुपैयाँ ६२ पैसा पुगेको छ।
यसैगरी समीक्षा अवधिमा नेपाल एसबिआई बैंकको ५ रुपैयाँ ९६ पैसाले बढेर २२ रुपैयाँ १५ पैसा, लक्ष्मी सनराइजको ५ रुपैयाँ ९६ पैसा बढेर १९ रुपैयाँ ४४ पैसा, एभरेस्टको ५ रुपैयाँ ४२ पैसा बढेर ३१ रुपैयाँ ७२ पैसा, एनआइसी एसियाको ३ रुपैयाँ ७७ पैसा बढेर ४० रुपैयाँ २२ पैसा र प्राइम बैंकको ३ रुपैयाँ २८ पैसाले बढेर १४ रुपैयाँ ९४ पैसा कायम भएको छ।
त्यस्तै सानिमा बैंकको २ रुपैयाँ ४ पैसा बढेर २१ रुपैयाँ ०२ पैसा, सिद्धार्थको २ रुपैयाँ ४ पैसा बढेर २२ रुपैयाँ ६४ पैसा, माछापुच्छ्रेको १ रुपैयाँ ६१ पैसा बढेर १८ रुपैयाँ ५ पैसा, सिटिजन्सको १ रुपैयाँ ५७ पैसा बढेर १५ रुपैयाँ ६९ पैसा, हिमालयनको ९६ पैसा बढेर १९ रुपैयाँ १९ पैसा र एनएमबी बैंकको ६५ पैसाले बढेर १८ रुपैयाँ ५७ पैसा पुगेको छ।
इपिएस घट्ने बैंकहरू
एक वर्ष अवधिमा ६ वाणिज्य बैंकको प्रतिसेयर आम्दानी घटेको छ। अघिल्लो आवको तुलनामा गत आवमा कुमारी बैंकको ५७.४७ प्रतिशत अर्थात १० रुपैयाँ ८ पैसा घटेर ७ रुपैयाँ ४६ पैसा कायम भएको छ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको २२.५२ प्रतिशत अर्थात ४ रुपैयाँ ६७ पैसा घटेर १६ रुपैयाँ ७ पैसा र प्रभुको १९.८४ पैसा अर्थात २ रुपैयाँ ९७ पैसा घटेर १२ रुपैयाँ कायम भएको छ।
समीक्षा अवधिमा नेपाल बैंकको इपिएस १२.६२ प्रतिशत अर्थात २ रुपैयाँ ९३ पैसाले घटेर २० रुपैयाँ २९ पैसा, राष्ट्रिय वाणिज्य बैंकको २.५५ प्रतिशत अर्थात ८९ पैसाले घटेर ३३ रुपैयाँ ९६ पैसा र ग्लोबल आइएमई बैंकको ०.३४ प्रतिशत अर्थात ७ पैसाले घटेर २० रुपैयाँ ७७ पैसा कायम भएको छ।