काठमाडौं। गत आर्थिक वर्षको नाफाबाट वाणिज्य बैंकहरूले सेयरधनीलाई औसत ११.४२ प्रतिशत लाभांश बाँड्न सक्ने देखिएको छ। सञ्चालनमा रहेका २० वाणिज्य बैंकले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्।
बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आवमा २० वाणिज्य बैंकहरूको औसात चुक्ता पुँजी १८ अर्ब ७३ करोड रुपैयाँ र वितरणयोग्य नाफा औसत १ अर्ब ५९ करोड रुपैयाँ छ।
चुक्ता पुँजी र वितरणयोग्य नाफाका आधारमा गत आवमा वाणिज्य बैंकहरूको औसत लाभांश क्षमता ११.४२ प्रतिशत छ। राष्ट्र बैंकले २०८१ साउन १५ सम्म प्राप्त ब्याज आम्दानीलाई पनि गत वर्षको आम्दानीमा लेखांकन गर्न सक्ने सुविधा दिएको छ। यो आधारमा परिष्कृत वित्तीय विवरणसहित बैंकहरूले लाभांश घोषणा गर्दा साउन १५ दिनमा उठेको ब्याज आम्दानीलाई जोड्दा लाभांश थप बढ्छ।
यसबाहेक बैंकहरूले अघिल्लो आवमा कमाएको पैसा र जगेडामा राखेको पैसाबाट समेत लाभांश दिन सक्ने व्यवस्था छ। त्यसैले अनुमानित लाभांश क्षमता बैंकहरूले वितरण गर्ने वास्तविक लाभांशमा केही फरक पर्न सक्छ।
गत आवमा २० वाणिज्य बैंकले लाभांश क्षमता ०.४६ प्रतिशतदेखि साढे ४० प्रतिशतसम्म छ। जसमा सबैभन्दा बढी लाभांश क्षमता एभरेस्ट बैंकको र सबैभन्दा कम नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको छ। गत आवको नाफाबाट तीन बैंकको २५ प्रतिशतमाथि साढे ४० प्रतिशतसम्म, पाँचको १० प्रतिशतमाथि १८ प्रतिशतसम्म, आठको १ प्रतिशतमाथि, दुई बैंकको १ प्रतिशतभन्दा तल र दुईको वितरणयोग्य नाफा ऋणात्मक हुँदा ती बैंकले सेयरधनीलाई गत आवको नाफाबाट लाभांश वितरण गर्ने क्षमतासमेत ऋणात्मक नै छ।
कुन बैंकको लाभांश क्षमता कति?
एभरेस्ट बैंक : गत वर्षको नाफाबाट सबैभन्दा बढी एभरेस्ट बैंकले लाभांश दिने क्षमता राख्छ। गत आवमा ४ अर्ब ३३ करोड ३२ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। बैंकको कायम चुक्ता पुँजी १० अर्ब ६९ करोड ८० लाख रुपैयाँका आधारमा सेयरधनीलाई ४०.५० प्रतिशत लाभांश वितरणको क्षमता राख्छ।
एनआइसी एसिया : गत आवको नाफाबाट बढी लाभांश क्षमता भएको दोस्रो नम्बर एनआइसी एसिया बैंकको छ। बैंकले गत आवमा ३ अर्ब ६९ करोड ८८ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल कायम चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख हुँदा बैंकले गत आवको नाफाबाट ३१.९९ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक : गत आवमा २ अर्ब ७३ करोड ३९ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको स्ट्यान्डर्ड चार्टर्ड बैंकको हाल कायम चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख छ। जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई २८.९९ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ।
सानिमा बैंक : गत आवमा सानिमा बैंकले २ अर्ब २० करोड ९६ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको थियो। बैंकको हाल कायम चुक्ता पुँजी १२ अर्ब ४६ करोड १ लाख रुपैयाँ छ। जसअनुसार गत आवको नाफाबाट बैंकले १७.७३ प्रतिशत लाभांश दिने क्षमता राख्छ।
माछापुच्छ्रे बैंक : माछापुच्छ्रे बैंकले गत आवमा १ अर्ब ५६ करोड ८७ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी १० अर्ब २५ करोड ७१ लाख छ। जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १५.२९ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ।
नबिल बैंक : नबिल बैंकले गत आवमा ३ अर्ब ९६ करोड १० लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख छ। जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १४.६४ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ।
नेपाल एसबिआई बैंक : बैंकले गत आवमा १ अर्ब ४१ करोड १० लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी १० अर्ब १२ करोड ६ लाख रुपैयाँ छ। जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १३.५९ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ।
राष्ट्रिय वाणिज्य बैंक : बैंकले गत आवमा १ अर्ब ८१ करोड २८ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७३ लाख छ। जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ११.५९ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ। यद्यपि, राष्ट्रिय वाणिज्य बैंक पूर्णसरकारी स्वामित्वको बैंक भएकाले यसको लाभांश क्षमताले सर्वसाधारणलाई प्रभाव पार्दैन।
लक्ष्मी सनराइज बैंक : बैंकले गत आवमा १ अर्ब ९३ करोड ७१ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी २१ अर्ब ६७ करोड छ। जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ८.९४ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ।
एनएमबी बैंक : बैंकले गत आवमा १ अर्ब ५५ करोड ५० लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख छ। जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ८.४४ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ।
ग्लोबल आइएमई बैंक : बैंकले गत आवमा २ अर्ब ९५ करोड ६९ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी ३५ अर्ब ७७ करोड १० लाख छ। जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ८.२७ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ।
सिटिजन्स बैंक : बैंकले गत आवमा १ अर्ब ३ करोड ७२ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी १४ अर्ब २० करोड छ। जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ७.३० प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ।
नेपाल बैंक : बैंकले गत आवमा ९७ करोड ३३ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख छ। जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ६.६२ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ।
कृषि विकास बैंकः बैंकले गत आर्थिक वर्षमा २ अर्ब ७१ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। चुक्ता पुँजी १३ अर्ब ४५ करोड १६ लाख रुपैयाँ हुँदा गत आवको नाफाबाट बैंकले सेयरधनीहरुलाई १४.५२ प्रतिशत लाभांश वितरण गर्न सक्छ।
सिद्धार्थ बैंक : बैंकले गत आवमा ७९ करोड ५७ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख हो। जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ५.६५ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ।
प्राइम बैंक : बैंकले गत आवमा २० करोड ४८ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख छ। जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १.०६ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ।
प्रभु बैंक : बैंकले गत आवमा १६ करोड १६ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख छ। जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ०.६९ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक : बैंकले गत आवमा १५ करोड ८३ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी ३४ अर्ब १२ करोड २८ लाख छ। जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ०.४६ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ।
लाभांश बाँड्न नसक्ने बैंक
गत आवमा कुमारी बैंक र हिमालयन बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ। वितरणयोग्य नाफा ऋणत्मक हुँदा यी बैंकले सेयरधनीलाई गत आवको नाफाबाट लाभांश वितरण गर्ने क्षमता समेत ऋणात्मक नै छ।
कुमारी बैंक : गत आवमा कुमारी बैंकको वितरणयोग्य नाफा ८४ करोड ८३ लाख रुपैयाँ ऋणात्मक छ। बैंकको कायम चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख हुँदा लाभांश क्षमता ३.२३ प्रतिशत नकारात्मक देखिन्छ।
हिमालयन बैंक : गत आवमा बैंकको वितरणयोग्य नाफा ७१ करोड १४ लाख रुपैयाँ ऋणात्मक छ। हाल कायम चुक्ता पुँजी १२ अर्ब ९६ करोड ८७ लाख हुँदा बैंकको लाभांश क्षमता ५.४९ प्रतिशत नकारात्मक देखिन्छ।