२०७३ साउन १२ गते १ हजार ८८१.४५ अंकमा पुगेको थियो नेप्से । यो विन्दुलाई आधार बनाएर हेर्ने हो भने १ हजार १०० विन्दु नजिकमा आईपुग्दा ७७२ अंक अर्थात ४१ प्रतिशत बराबरले बजार घटेको छ । बजारले अझै दक्षिण तर्फको यात्रामा विराम लगाउन भने सकेको छैन । बजारको यो गिरावट २०६८ को तुलनामा निकै कम हो ।
९ महिनाअघि १ हजार १०० विन्दुसम्म झरेर १ हजार ३०० सम्मको उकालो यात्रा तय गरेको थियो नेप्सेले । यसको अर्थ बजार निरन्तर घट्यो भन्ने अवस्था छैन । बजारले आफ्नो प्राकृतिक नियमलाई भने पूर्णरुपमा अवलम्बन गरेको छ ।
बजार यसरी घट्नुमा धेरैले बर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई दोष दिन्छन । उनले बजारलाई सही व्यवहार नगरेको वा बजारप्रति सकारात्मक नभएको गुनासो सुन्ने गरिन्छ । यथार्थमा बर्तमान अर्थमन्त्री खतिवडाका ठाँउमा अर्को कुनै व्यक्ति भएपनि बजार घट्ने नै थियो ।
बजारको वियरिस प्रवृत्तीको प्रमुख कारक भनेको बर्तमान अर्थमन्त्री भन्दा पनि नेपाल राष्ट्र बैंकको पूँजी बृद्धि र ब्याजदर नियन्त्रण सम्बन्धि कमजोर नीति हो ।
२०६५ पछि २०६८ सम्म पनि यस्तै अवस्था सिर्जना भएको थियो । जब बैंक तथा वित्तीय संस्थाले तोकिए अनुसारको पूँजी बृद्धि गर्दै गए अनि बजारमा वियरिस प्रवृत्ति देखापर्यो र नेप्से १ हजार १७५ बाट २९२ अंकसम्म झर्यो । त्यसबेला अर्थमन्त्री डा. बाबुराम भट्टराई थिए । उनले सेयर बजारलाई जुवाको संज्ञा दिए भनेर सेयर बजार घट्यो भन्नेको यहाँ कमी छैन ।
तर यर्थाथमा त्यसबेला पनि पूँजी बृद्धिको असर सेयर बजारमा परेको थियो । अहिलेको कारण पनि त्यहि हो । चार गुणाले पूँजी बढाएपछि सैद्धान्तिक रुपमा चार गुणाले तल आउने हो । तर, चार गुणाले माथि जाने हैन ।
अहिले भएको यहि हो । वित्तीय क्षेत्रको बाहुल्य रहेको बजारमा नेतृत्वकर्ता ओरालो लागेपछि अन्य क्षेत्रपछि लाग्नु वा त्यो भन्दा अघि लागेर घट्नु पनि अस्वभाविक हैन ।
यस्तै अर्को कारण जब नेपाल राष्ट्र बैंकले पुँजि बृद्धिको नीति ल्याउछ त्यहि बेला बैंकिङ क्षेत्रमा तरलताको समस्या देखा परेको छ । जसले ब्याजदरलाई माथि धकेलिदिएको पाइन्छ । जसको प्रत्येक्ष उल्टो असर सेयर बजारमा पर्ने गरेको पाइन्छ ।
समग्रमा सेयर बजारको यो गिरावटको कारण पूँजी वृद्धि र ब्याज दर नियन्त्रण गर्न नसक्ने राष्ट्र बैंकको कमजोरी नै हो । अर्थमन्त्री त केवल बजार घट्दा गाली गर्नका लागि उभ्याइएका पात्र मात्र हुन् ।