काठमाडौं। प्रभु बैंकको खुदनाफामा उछाल आएको छ। गत आर्थिक वर्षमा बैंकको खुदनाफा ४८.५३ प्रतिशत बढेको छ। गत आर्थिक वर्षमा प्रभुले २ अर्ब ८२ करोड ५२ लाख ४९ हजार रुपैयाँ खुदनाफा कमाएको छ।
अघिल्लो आर्थिक वर्षमा बैंकको खुदनाफा १ अर्ब ९० करोड २० लाख रुपैयाँ थियो। प्रभुले एक वर्षमा ९२ करोड ३२ लाख रुपैयाँ नाफा बढाएको छ। प्रभुको खुदब्याज आम्दानीमा उल्लेख्य सुधार भएपछि खुदनाफामा उछाल आएको हो।
समीक्षा अवधिमा बैंकको खुदब्याज आम्दानी ७८.६२ प्रतिशत बढेर १० अर्ब २५ करोड रुपैयाँ नाघेको छ । बैंकको वितरणयोग्य नाफामा भारी गिरावट आएको छ। गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा १६ करोड १६ लाख रुपैयाँ मात्र छ। अघिल्लो आर्थिक वर्षमा बैंकको विरणयोग्य नाफा १ अर्ब ३ करोड रुपैयाँ थियो।
सेञ्चुरी कमर्शियल बैंकलाई समाहित गरेपछि बैंकको खराब कर्जा बढेर ४.१६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष १.८६ प्रतिशतमात्र खराब कर्जा थियो। खराब कर्जा बढेपछि बैंकले लोन लस प्रोभिजनमा २ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी रकम छुट्टाएको छ।
सेन्चुरी कमर्शियल बैंकलाई प्राप्त गरेपछि प्रभुको चुक्ता पुँजी बढेर २३ अर्ब ५४ करोड रुपैयाँ बढी पुगेको छ। सञ्चित कोषको आकार पनि ८५ प्रतिशत बढेर १० अर्ब रुपैयाँ नाघेको छ। बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ छ।
प्रतिसेयर नेटवर्थ १ सय ४३ रुपैयाँ छ। समीक्षा अवधिमा बैंकको निक्षेप लागत ७.८३, सिडी रेसियो ८०.३९, बेसरेट १०.१६, ब्याजदर अन्तर(स्प्रेडरेट) ४.८६ प्रतिशत रहेको बैंकले जनाएको छ। बैंकको निक्षेप परिचालन र कर्जा लगानी बढेको छ।
बैंकले २ खर्ब ८ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी २ खर्ब ३८ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब ७८ अर्ब ६५ करोड रुपैयाँ निक्षेप परिचालन गरी १ खर्ब ४५ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।