एजेन्सी। अमेरिकाको ई–कमर्स कम्पनी अमेजन संसारकै सबैभन्दा महँगो ‘ब्रान्ड’ बनेको छ। अमेजनको ब्रान्ड मूल्य (ब्रान्ड भ्यालु) २ खर्ब ९९ अर्ब ३० करोड डलर पुगेको छ।
अमेजनका प्रमुख कार्यकारी अधिकृत ((सिइओ) जेफ बेजोस हुन्। ५९ वर्षीय बेजोसको सम्पत्ति १ खर्ब १४ अर्ब डलरबराबर छ।
दोस्रो महँगो ब्रान्डमा अमेरिकाको आइफोन निर्माता कम्पनी एप्पल छ। एप्पलको ब्रान्ड भ्यालु २ खर्ब ९७ अर्ब ५० करोड डलरबराबर छ।
त्यस्तै इन्टरनेट सर्च इन्जिन तथा प्रविधि कम्पनी गुगल विश्वको तेस्रो महँगो ब्रान्ड भएको छ। अमेरिकी कम्पनी गुगलको ब्रान्ड भ्यालु २ खर्ब ८१ अर्ब ४० करोड डलरबराबर छ।
गुगलका प्रमुख अमेरिकाका ल्यारी पेज हुन्। उनी विश्वका १२औं सवौधिक धनी हुन्। ५० वर्षीय पेजको कूल सम्पत्ति ७९ अर्ब २० करोड डलरबराबर छ।
चौथो महँगो ब्रान्ड पनि अमेरिकाकै प्रविधि कम्पनी माइक्रोसफ्ट कर्पोरेसन हो। माइक्रोसफ्टको ब्रान्ड भ्यालु १ खर्ब ९१ अर्ब ६० करोड डलरबराबर छ। माइक्रोसफ्टका प्रमुख बिल गेट्स १ खर्ब ४ अर्ब डलरसहित विश्वका छैठौं धनी हुन्।
पाँचौंमा अमेरिकाकै खुद्रा व्यापार कम्पनी वालमार्ट परेको छ। वलमार्टको ब्रान्ड भ्यालु १ खर्ब १३ अर्ब ८० करोड डलरबराबर छ।
दक्षिण कोरियाको सामसङ ग्रुप छैठौं महँगो ब्रान्ड बनेको छ। सामसङको ब्रान्ड भ्यालु ९९ अर्ब ७० करोड डलरबराबर छ।
संसारको सातौं महँगो ब्रान्ड मूल्य भएको बैंक इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइना (आइसिबिसी) हो। आइसिबिसीको ब्रान्ड मूल्य ६९ अर्ब ५० करोड अमेरिकी डलरबराबर पुगेको छ।
आठौं महँगो ब्रान्ड अमेरिकाकै टेलिकम कम्पनी भेरिजन रहेको छ। भेरिजनको ब्रान्ड भ्यालु ६७ अर्ब ४० करोड डलर पुगेको छ।
नवौं स्थानमा पनि अमेरिकी विद्युतीय गाडी निर्माता कम्पनी टेस्ला परेको छ। टेस्लाको ब्रान्ड भ्यालु ६६ अर्ब २० करोड डलरबराबर छ।
त्यस्तै चीनको टिकटक १०औं महँगो ब्रान्ड बनेको छ। टिकटकको बजार मूल्य ६५ अर्ब ७० करोड डलरबराबर छ।
विश्वको १० महँगा ब्रान्डमा अमेरिकी कम्पनीको वर्चश्व देखिएको छ। दुई चिनियाँ र एक दक्षिण कोरियाबाहेक सात कम्पनी अमेरिकाका हुन्।
ब्रान्ड मूल्य कुनै पनि कम्पनीको अमूर्त सम्पत्तिको एक महत्वपूर्ण भाग हो। यसप्रकारको गैरभौतिक सम्पत्ति जस्तै प्याटेन्ट र ब्रान्ड नामले कम्पनीको समग्र मूल्यमा प्रभाव पारिरहेको हुन्छ। कम्पनीको बजार स्थितिमा ब्रान्ड इक्विटीले खेल्ने भूमिका चित्रण गर्छ।
ब्रान्ड भ्यालुको पहिलो स्थानमा प्रविधि, दोस्रो रिटेल (खुद्रा), तेस्रो मिडिया, चौथो बैंकिङ, पाँचौं अटोमोबाइल, छैठौं टेलिकम, सातौं व्यापारिक सेवा, आठौं तेल र ग्यास, नवौं इन्जिनियरिङ र निर्माण तथा १०औं स्थानमा बिमा क्षेत्र छन्।
प्रविधि क्षेत्रको हिस्सा ८ खर्ब ९१ अर्ब २० करोड डलरबराबर छ। समग्रमा प्रविधिको हिस्सा १९.४ प्रतिशत छ। यस्तै दोस्रोमा रहेको रिटेलको हिस्सा १५ प्रतिशत छ। रिटेल समूहको ब्रान्ड भ्यालु ६ खर्ब ९० अर्ब डलर छ।
तेस्रो स्थानमा रहेको मिडियाको हिस्सा १४ प्रतिशत छ। चौथो स्थानमा रहेको बैंकिङ क्षेत्रको हिस्सा १०.२ प्रतिशत छ। यसको हिस्सा ४ खर्ब ६७ अर्ब ४० करोड डलर छ।
पाँचौं स्थानमा अटोमोबाइल क्षेत्रको हिस्सा ८.६ प्रतिशत छ। टेलिकमको ७.३, व्यापारिक सेवाको ३.८, तेल र ग्यासको ३.७, इन्जिनियरिङ निर्माणको ३.३ र बिमाको हिस्सा २ प्रतिशत छ।
बिवाइडी बन्यो उदीयमान ब्रान्ड
चीनको विद्युतीय गाडी निर्माता कम्पनी ‘बिल्ड योर ड्रिम्स’ (बिवाइडी) अहिले विश्वको उदीयमान ब्रान्ड बनेको छ। बिवाइडीको ब्रान्ड भ्यालु ५७ प्रतिशत बढेको छ।
यस्तै दोस्रो स्थानमा कोनोको फिलिप्सको वृद्धिदर ५६, मर्सेक ५३, लिंक्डइन ४९, क्रिस्चियन डायर ४६, टेस्ला ४४, एडिपी ४४, युनाइटेड एयरलाइन्स र इन्स्टाग्रामको ४२ र इक्विनोरको ४० प्रतिशत वृद्धि देखिएको छ।
यसरी निर्धारण गरिन्छ ब्रान्ड भ्यालु
ब्रान्ड मूल्यले बजार अनुसन्धान (मार्केट रिसर्च) को विधि प्रतिविम्बित गर्छ। प्रयोगकर्ताले वास्तवमा ब्रान्डका लागि भुक्तानी गर्छन्। यो विधिले ब्रान्डको स्कोरकार्डमा गणना गरिएको भविष्यको आम्दानी पनि समावेश गर्दछ।
विगतको आम्दानी र वृद्धि दर, बजार, लगानी, सरोकारवालाको स्वपुँजी (इक्विटी) र व्यापार कार्यसम्पादन ब्रान्ड मूल्य गणनामा समावेश गरिन्छ।