काठमाडौं। भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा कार्यान्वयन हुने चारवटा परियोजनाका समझदारीपत्रमा हस्ताक्षर भएको छ।
शिक्षा क्षेत्रका तीन र खानेपानी आपूर्ति तथा सरसफाइको एक गरी चारवटा उच्च प्रभाव सामुदायिक विकास परियोजना निर्माण अघि बढाउन सम्झौता भएको हो।
शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय राजदूतावासबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। यी परियोजनामा १७ करोड रूपैयाँ लागत लाग्ने अनुमान छ।
दार्चुलाको शैल्यशिखर नगरपालिकास्थित गलैनाथ माध्यमिक विद्यालयको विद्यालय भवन निर्माण, दार्चुलाकै व्याँस गाउँपालिकास्थित हिमालय माध्यमिक विद्यालयको भवन निर्माण, संखुवासभाको चिचिला गाउँपालिकास्थित दिदिङ प्राथमिक विद्यालयको विद्यालय भवन निर्माण र उदयपुरको त्रियुगा नगरपालिकास्थित श्रीपुर खानेपानी आपूर्ति तथा सरसफाइ परियोजनाका लागि सम्झौता भएको दूतावासले जनाएको छ।
दुतावासका अनुसार यी परियोजनाको निर्माणले स्थानीय समुदायका लागि गुणस्तरीय शिक्षा र खानेपानी तथा सरसफाई सुविधा उपलब्ध गराउनुका साथै नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउने छ।
सन् २००३ यता भारतले नेपालका सातवटै प्रदेशमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइका क्षेत्रमा र अन्य सार्वजनिक सुविधाको निर्माणमा ५४६ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ।
यीमध्ये ४८३ वटा परियोजना पूरा भइसकेका छन्। बाँकी ६३ वटा परियोजना निर्माणाधीन अवस्थामा छन्। सबै परियोजनाको कूल लागत करिब ७ सय ६२ करोड भारु छ। यी परियोजना सरकारको स्थानीय निकायमार्फत कार्यान्वयन छन्।