काठमाडौं। अन्तर्राष्ट्रिय ब्रान्डका होटलले ५ प्रतिशतमाथि आम्दानी लैजान नपाउने भएपछि विराटनगरमा आउन लागेको अन्तर्राष्ट्रिय ‘चेन होटल’ र्याडिसन तत्कालका लागि रोकिएको छ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन (फिटा), २०७५ मा भएको व्यवस्था अनुसार कूल बिक्रीको ५ प्रतिशतभन्दा बढी रोयल्टी/शुल्क बढी नहुने गरी पठाउन पाउने प्रावधानले र्याडिसन अन्तिम समयमा रोकिएको हो।
एक वर्षअघि (२०७९ साउन ९) मै र्याडिसन होटल विराटनगरमा चेन होटलका रूपमा व्यवस्थापन गर्ने दुई पक्षीय सम्झौता भए पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन।
सम्बद्ध स्रोतका अनुसार सरकारले ल्याएको ऐनमा ५ प्रतिशतभन्दा बढी रकम लैजान नपाउने भएपछि रूयाडिसनले प्रश्न उठाएर ‘पर्ख र हेर’ को अवस्थामा बसेको छ।
सेन्चुरी ग्रुपले ३ अर्ब लगानीमा निर्माण गरेको पाँचतारे होटलको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी र्याडिसनलाई दिएको थियो। तर, सम्झौता भएको एक वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन।
सेन्चुरीका अध्यक्ष मोतिलाल दुगडले र्याडिसन होटलले ५ प्रतिशतको सीमाबारे चासो राखेको बताए। रोयल्टीकै विषयमा र्याडिसन रोकिएको विषय दुगडले स्वीकार नगरे पनि सरकारी ऐनले समस्या पारेको भने स्वीकारे। ‘यो विषयमा सरकारसँग कुरा भइरहेको छ,’ अध्यक्ष दुगडले क्यापिटल नेपालसँग भने।
फिटाको समस्याले र्याडिसनमात्र रोकिएको भने होइन। पछिल्लो समय नेपाल आउन तयार धेरै चेन होटलले ‘अब्जेक्सन’ जनाउँदै आएका छन्। फिटा ऐनलाई देखाएर विश्वप्रख्यात चेन होटल तथा रिसोर्टले अब्जेक्सन जनाएपछि २०८० असार २५ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई होटल एसोसिएसन नेपाल (हान) ले पत्र पठाएर संशोधनका लागि अनुरोधसमेत गरेको थियो।
हानका प्रमुख सञ्चालन अधिकृत टेकबहादुर महतले मन्त्रालयमा पत्र पठाउँदै फिटा ऐनले अन्तर्राष्ट्रिय ब्रान्डका होटलले ५ प्रतिशतभन्दा कम मूल्यमा सञ्चालन गर्न नचाहने हुँदा यसबाट नेपाल भित्रिन तत्परता नदेखाउने हुँदा यसलाई सहज गरी विदेशी लगानी आकर्षणका लागि व्यवस्था गरिदिन अनुरोध गरेका छन्।
हाल सञ्चालनमा रहेका केही होटलबाहेक अधिकाशले ५ प्रतिशतभन्दा माथि नै शुल्क लैजाने गरी सम्झौता गरेका छन्। जसका कारण धेरै होटलले आम्दानी लैजान वञ्चित छन्।
‘हामीले विदेशी ब्रान्डसँग सम्झौता गर्दा सकेसम्म कम प्रतिशतमात्र नाफा लैजाने प्रावधान बनाएका हुन्छौं,’ एक पाँचतारे होटलका सञ्चालकले भने, ‘व्यवसायीबीचको सहमतिमा सरकारले कुनै अकुंश लगाउन मिल्दैन।’
पछिल्लो समय नेपालमा सुविधासम्पन्न होटल तथा रिसोर्ट निर्माण हुने क्रमले तीव्रता पाएसँगै अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ब्रान्ड भित्र्याउने प्रतिस्पर्धा पनि चलिरहेको छ। तर, फिटा ऐनकै कारण धेरै होटल नेपालमा आउनबाट रोकिन सक्ने र यसले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने भन्दै संशोधन गर्नुपर्ने व्यवसायीले बताउँदै आएका छन्।
यता, उद्योग विभागका महानिर्देशक बाबुराम गौतमले फिटा ऐनले ल्याएको समस्याबारे छलफल भइरहेको बताए। व्यवसायीबीचको सहमति भन्दैमा ठूलो प्रतिशतमा रकम लैजान दिन नमिल्ने बताउँदै व्यावहारिकरूपमा अरू मुलुकमा कस्तो छ, ती विषय बुँदागत ल्याउनका लागि व्यवसायीलाई सुझाव दिएको उनले बताए।
विभागले मात्र चाहँदैमा ऐन संशोधन गर्न नसक्ने भन्दै व्यवसायीले दिएको सुझावमाथि छलफल गरी तालुक मन्त्रालय उद्योग, वाणिज्य तथा आपूर्तिमा पेस गर्न तयार रहेको उनको भनाइ छ।
हाल पाँचतारे होटल संख्या १८ पुगेको छ भने निर्माणाधीन अवस्थाका पाँचतारको संख्या डेढ दर्जनहाराहारी छ। पाँच वर्षभित्र नेपालमा पाँचतारे होटल कम्तीमा ३४ पुग्ने छ। अहिले निर्माण भइरहेका अधिकांश तारे होटलले व्यवस्थापकका रूपमा विश्वप्रसिद्ध ब्रान्ड ल्याउन थालेका छन्।