झापा। पश्चिम इलामको देउमाई–३ का तेजबहादुर कटुवालले १५ रोपनीमा लगाएको किबीका बोटमा यतिबेला फल लटरम्म फलेका छन्।
गाउँमा उन्नत किसानका रुपमा परिचित कटुवाल लहरामा लटरमम्म किबी हेरेर मुस्कुराउँछन्। तर, उनको मनमा भने आउँदो पाक्ने सिजनमा बजारमा भाउ नपाइने हो कि भन्ने चिन्ता लहरिएको छ।
‘विसं २०६७ मै एक सय ५० झ्याङ रापेर किबीखेती सुरु गरेको हुँ,’ उनी मनको बह पोख्दै भन्छन्, ‘यसपाली साह्रै राम्रो फलेको छ। कात्तिकदेखि पाक्न सुरु हुन्छ। तर, बजारमा भाउ पाइएन भने त बर्बादै हुन्छ नि।’
पूर्वी पहाडको इलाम र पाँचथरमा किबीखेती विस्तार भइरहेको छ। भूवनोट र हावापानीका कारण विज्ञले इलामलाई किबीको खानी नै मानेका छन्। राम्रो फलेर मात्र हुँदोरहेनछ। बिक्री गर्ने बेलामा कौडीको मोलमा विचौलियालाई दिनुपर्दा किसान निराश हुने गरेका छन्।
इलामको देउमाई, साखेजुङ, सन्दकपुर र माइपोखरीमा किबीखेती प्रवर्द्धनका लागि ‘किबी जोन’ नै सरकारले घोषणा गरेको छ।
पाँच सय हेक्टर जग्गामा किबीखेती भएपछि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ‘किबी जोन’ घोषणा गरेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत सहयोग गर्छ।
‘किबी जोन’मा सरकारले किसानलाई प्रविधि, उपकरण, अनुदान र तालिमसम्बन्धी सहयोग दिँदै आएको छ। इलामका किसान सरकारले किबीको उत्पादन बढाउन सहयोग गरे तापनि दीगो बजारका लागि पर्याप्त मद्दत नगरेको गुनासो सुनाउँछन्।
कटुवालले किबीको व्यावसायिक खेतीका लागि पानीटार कृषि फार्म स्थापना गरे। कृषि ज्ञानकेन्द्र इलामले किबीको लहरालाई फलामको दीगो थाङ्ग्रा हाल्न सुरुमा ५ लाख रुपैयाँ अनुदान दिएको थियो।
थाङ्ग्रो हाल्नमात्रै ७ लाख रुपैयाँ निजी लगानी गरेको उनले बताए। बर्सेनि किबी खेती विस्तार गर्दै उनले अहिले देउमाईकै सबैभन्दा ठूलो किबी फार्म सञ्चालन गरिरहेका छन्।
किबीलाई स्वादिलो र पौष्टिक फल मानिन्छ। यसको बजार भने झापाको विर्तामोड, मोरङको विराटनगर, सुनसरीको धरान र काठमाडौं नै हो।
किसानले उत्पादन गरेको किबी फल कतिपय व्यवसायीले फार्ममै आएर खरिद गर्छन् भने व्यापारी नआउँदा टिपेर बजार पुर्याउने गरेको उनले बताए।
किसानका अनुसार कात्तिक महिनादेखि माघसम्मको चार महिना किबी पाक्ने बेला हो। चरा, भ्याउसो नामको जङ्गली जनावरले किबीको बोटमै गएर खाएर बाली नष्ट गर्दै आएको हुँदा पाकेका बेला रुँघेर खेतबारीमै बस्नुपर्ने हुन्छ।
‘एक सिजनमा ४० देखि ५० क्विन्टल किबी फल्छ,’ पानीटार कृषि फार्मका सञ्चालक तेजबहादुर कटुवालले भने, ‘सुरुका वर्षमा बोटमै टिपेर क्विन्टलको ५० हजार रुपैयाँका दरले भाउ हालेर खरिदेले लैजान्थे। गत वर्ष मुस्किलले १५ हजारका दरले दिए। यसपालि पनि भाउ बढेन भने डुबिने भइयो।’
भारतबाट सस्तो किबीको निर्वाध आयात भइरहेका कारण स्थानीय उत्पादनले बजारमा उचित भाउ नपाएको किबी उत्पादक कटुवालको भनाइ छ। उनका अनुसार इलाममा प्रशस्त किबी उत्पादन भए तापनि सरकारले जुस, जाम र वाइन कारखाना खोल्न प्रोत्साहित गरेन।
धनकुटाको राजारानीमा माउन्ट एभरेस्ट वाइनरी प्रालिले किबीबाट वाइन उत्पादन गरिरहेको छ। कटुवालले किबीको सबैभन्दा बढी उत्पादन हुने इलाममै वाइन, जुस र जामको कारखाना खोल्नसके किबी किसान लाभान्वित हुने बताए।
आर्थिक वर्ष २०७९/८० मा काँकडभिट्टा नाकाबाटै २ करोड ८५ लाख २० हजार रुपैयाँ मूल्य बराबरको ७१ मेट्रिकटन भारतीय किबी भित्रिएको पाइएको छ। भारतबाट भित्रिने किबी सस्तो हुने गरेको छ।
कोशी प्रदेशका झापा र सुनसरीबाहेक १२ जिल्लामा किबीको व्यावसायिक खेती हुँदै आएको छ। कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका कृषि अर्थविज्ञ सार्थक घिमिरेका अनुसार कोशी प्रदेशको किबी रोपिएको कूल क्षेत्रफलमध्ये आधाभन्दा बढी खेती इलाममै छ।
उनका अनुसार कोशी प्रदेशमा १ हजार २ सय ७८ हेक्टर क्षेत्रफलमा किबी खेती छ भने वार्षिक उत्पादन तीन हजार पाँच सय ४७ मेट्रिकटन रहेको छ। जबकि, इलामको किबीखेती सात सय हेक्टरमा विस्तार भइसकेको छ भने वार्षिक उत्पादन १ हजार ५ सय मेट्रिकटन रहेको छ।
नेपालभरि २ हजार ५ सय ९९ हेक्टर क्षेत्रफलमा किबीखेती गरिएको र त्यसबाट ७ हजार ६ सय ९८ मेट्रिकटन फल उत्पादन हुँदै आएको छ। कृषि अर्थविज्ञ घिमिरेका अनुसार देशभरिको किबी खेतीमध्ये आधा इलाममै रहेको छ।
इलामपछि पाँचथरमा २ सय ५० हेक्टर र सोलुखुम्बुमा १ सय १५ हेक्टर क्षेत्रफलमा किबीखेती हुँदै आएको छ।
खोटाङमा ४०, सङ्खुवासभामा ३६, भोजपुरमा ३५, ताप्लेजुङमा ३०, धनकुटामा २४, तेह्रथुममा १६, उदयपुरमा १५ र मोरङमा १५ हेक्टर क्षेत्रफलमा किबीखेती हुँदै आएको छ।