काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बुधबारबाट चितवन क्षेत्र नम्बर २ का महिलाका लागि निःशुल्क ‘ब्लु बस’ सञ्चालनमा ल्याए।
उनले उपनिर्वाचन जितेको १ सय दिनका अवसर पारेर सञ्चालनमा ल्याइएको उक्त बस शक्तिखोरबाट सुरु भएर भरतपुरका विभिन्न रुटमा चलिरहेको छ। यो बस रविको निर्वाचन क्षेत्रमा पर्ने कालिका नगरपालिका र भरतपुर महानगरपालिकाका रुटमा सञ्चालन भइरहेको छ।
रास्वपाले पहिलो चरणमा ५ सय महिलालाई निःशुल्क यातायात कार्ड वितरण गरेको रविको सचिवालयले जनाएको छ। यातायात कार्ड लिन रास्वपा कार्यालयमा सम्पर्क गर्न सकिने रविका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए।
‘पार्टी कार्यालयमा सम्पर्क गरेर यातायात कार्ड सहजै लिन सकिन्छ। कार्ड नभएकाले पनि बस चढ्न पाउनुहुन्छ। उहाँहरू बस चढेपछि सहचालकले आफूसँग भएको कार्ड यात्रुलाई दिनुहुन्छ र अर्को पटकबाट त्यही कार्ड प्रयोग गर्दा हुन्छ,’ उनले भने।
हाल एउटा बसबाट सुरु गरिएको यो सेवा विस्तार गरिने सिग्देलले जानकारी दिए।
‘अहिले माननीयज्यूकै स्रोतबाट आफ्नो निर्वाचन क्षेत्रमा यातायात सेवा दिनुभएको हो। यसमा पार्टीको आर्थिक सहयोग छैन,’ सिग्देलले क्यापिटल नेपालसँग भने, ‘भाडामा लिइएको यो गाडीको मासिक करिब १ लाख ३५ हजार खर्च हुन्छ।’
ब्लु बस नाम दिइएको यो बसलाई पार्टीको प्रचार गर्न सार्वजनिक यातायात प्रयोग गरिएको आरोप रविमाथि लागेको छ।
कालो नम्बर प्लेटको सार्वजनिक यातायात साधन भएको र यो सार्वजनिक सम्पत्ति भएकाले पार्टीको प्रचारका लागि दुरुपयोग भएको आरोप उनलाई लागेको छ। आरोप लाग्नुको प्रमुख कारण बसको रङ र यातायात कार्ड हो।
गाडीमा रास्वपाको झण्डाको आकासे रङ प्रयोग गरिएको र यातायात कार्डमा लामिछानेले नमस्कार गरेको तस्बिर राखिएको छ। सेवा दिने भए यातायात कार्डमा आफ्नो तस्बिर किन राखेको भनेर उनलाई कतिपयले प्रश्न गरेका छन्।
ब्लु बस सञ्चालन नितान्त सेवाका लागिमात्र भएको स्वकीय सचिव सिग्देलको तर्क छ। ‘बसमा पार्टीको नाम र चिह्न प्रयोग गरेका छैनौं। त्यस्तै यातायात कार्डमा माननीयज्यूको फोटोको विषयमा कुरा गर्ने हो भने उहाँ आफैं बहुचर्चित मान्छे हो,’ सिग्देलले भने, ‘विगतमा विभिन्न प्राइभेट ब्रान्डले पनि उहाँको तस्बिर प्रयोग गरेर आफ्ना वस्तु तथा सेवाको प्रचार गरेको देख्नुभएकै होला। त्यसैले कार्डमा उहाँको तस्बिर राख्नुलाई पार्टीको प्रचार भन्न मिल्दैन।’
गाडीको रङ आकासे हुनु पनि त्रुटि वा प्रचारको विषय नभएको उनको तर्क छ। ‘पार्टीकै ब्रान्ड कलर बसमा लगाइएको भन्नुहुन्छ भने आकास पनि त निलै रङको हुन्छ। अब त्यसलाई के भन्ने?,’ उनले भने।
यातायात ऐनमा निःशुल्क यातायात सेवाको विषयमा स्पष्टता नरहेको यातायात व्यवस्था विभागका प्रवक्ता इश्वरीदत्त पनेरु बताउँछन्।
‘यातायात ऐन बन्दा निःशुल्क यातायात सेवाको परिकल्पना गरिएको थिएन। त्यसकारण हामीले यो विषयमा तत्काल प्रतिक्रिया दिनु उचित हुँदैन,’ उनले भने।
यो विषय नयाँ भएकाले गाडीको रङ, यातायात कार्डमा व्यक्तिको फोटो राख्न पाउने/नपाउने विषयमा स्पष्ट हुन बाँकी रहेको श्रम रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता खगेन्द्र पौडेल बताउँछन्।
‘सार्वजनिक यातायातलाई रिजर्भमा प्रयोग गर्ने अवधारणा त छ, तर निःशुल्क सेवाको विषय नयाँ भएकाले अध्ययन गर्न बाँकी नै छ,’ उनले भने।
नागरिकलाई निःशुल्क सेवा दिन्छु भन्ने अवधारणा राम्रो भए पनि त्यसको उद्देश्य राम्रो हुनुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अध्यक्ष विजयबहादुर स्वाँरले बताए।
‘नागरिकलाई निशुल्क सेवा दिन्छु भन्न पाइन्छ। तर, त्यसमा कुनै व्यक्तिगत वा संस्थागत स्वार्थ हुनु भएन। त्यस्तै त्यो सेवा कति समय चल्ने हो, स्रोत कसरी व्यवस्थापन हुने भन्नेमात्र हो,’ उनले भने, ‘कि दिल्लीमा जस्तो महिला, बृद्धका लागि निःशुल्क सेवा दिएर त्यसको स्रोत नगरपालिकाले व्यवस्थापन गर्नुपर्याे, कि एउटा स्थायी स्रोत हुनुपर्याे,’ स्वाँरले भने।