काठमाडौं। बागमती प्रदेश सरकारले प्रदेशका १३ जिल्लाका लोपोन्मुख तथा पछाडि परेका समुदायको निःशुल्क स्वास्थ्य बिमा गराउने प्रक्रिया सुरु गरेको छ।
उक्त कार्यक्रमका लागि बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ५ करोड २५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ।
स्वास्थ्य मन्त्रालयले सीमान्तकृत लोपोन्मुख, आश्रममा आश्रित, अपाङ्गता (क) र (ख) वर्ग भएका व्यक्तिहरूको निःशुल्क स्वास्थ्य बिमा गर्न लागेको बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका प्रवक्ता दीपकप्रसाद तिवारीले जानकारी दिए।
कूल १३ जिल्लाका १ सय १९ वडामा स्वास्थ्य बिमा गराउन लागिएको हो।
मन्त्रालयका अनुसार गत आवमा आश्रममा आश्रितको मात्र बिमा गरिएको थियो। चालू आवमा बिमा बोर्डमार्फत प्रत्येक वडासम्म पुग्ने गरी कार्यक्रम तय गरिएको छ।
स्वास्थ्य बिमा नभएका कारण औषधी उपचार गर्दा महँगो खर्च हुने र पैसा अभावकै कारणले उपचार गराउन पाउन समस्या छ।
सोही समस्यालाई ध्यानमा राख्दै प्रदेश सरकारले लक्षित निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम लागू गर्न लागेको हो।
निःशुल्क बिमामा अधिकतम पाँच जनासम्मको परिवारलाई १ लाखदेखि १ लाख २५ हजार रुपैयाँसम्म बिमा गरिन्छ।
बिमितले तोकिएको सरकारी तथा निजी अस्पतालमा निःशुल्क उपचार र औषधिको सुविधा पाउनेछन्।
स्वास्थ्य बिमा बोर्डका अनुसार मकवानपुरमा स्वास्थ्य बिमा गराउनेको संख्या बढ्दै गएको छ। हालसम्म करिब १ लाख ५२ हजार रुपैयाँभन्दा बढी व्यक्तिको स्वास्थ्य बिमा भइसकेको छ।
पाँच वर्षअगाडि सुरु गरिएको बिमा कार्यक्रमअन्तर्गत ९१ प्रतिशतले नवीकरण गराइसकेका छन्।