दमौली। आर्थिक वर्ष २०७९/८० र ८०/८१ मा तनहुँमा नौ पक्की पुल निर्माण पूरा भएका छन्। कूल १५ निर्माणाधीन पुलमध्ये नौ पुल निर्माण पूरा भएका हुन्।
पूर्वाधार विकास कार्यालय तनहुँकी सूचना अधिकारी इञ्जिनियर धनमाया मिश्रले निर्माणाधीन तीन पुल यस चालू आर्थिक वर्षमा क्रमागतरूपमा सरिआएको छ।
जिल्लाको घिरिङ–४ मा तिरम्दी खोला पुल ३ करोड २४ लाख रुपैयाँ लागतमा निर्माण पूरा गरिएको छ। यसको लम्बाइ २५ मिटर रहेको छ।
त्यसैगरी, ऋषिङको वडा नम्बर ४ र ५ जोड्ने ज्वाला खोलामा २५ मिटर लम्बाइको पुल निर्माण पूरा भएको छ। यसको लागत ३ करोड २१ लाख रुपैयाँ रहेको छ।
घिरिङ–१ को द्रौपद खोलामा २० मिटर लम्बाइको पुल ३ करोड २४ लाख रुपैयाँ लागतमा पूरा भएको छ। त्यसैगरी शुक्लागण्डकी–११ र भीमाद–९ जोड्ने जरेबरमा ३२ दशमलव ४ लम्बाइको पुल निर्माण सम्पन्न भएको छ।
३ करोड ४३ लाख रुपैयाँको लागतमा उक्त पुल निर्माण पूरा भएको पूर्वाधार विकास कार्यालयका प्रमुख दिनेशकुमार घिमिरेले जानकारी दिए।
यसैगरी शुक्लागण्डकी–११ र भीमाद–८ जोड्ने क्याङ्दी खोलामा ७४ दशमलव ५५ मिटर लामो पुल निर्माण सम्पन्न भएको छ। ९ करोड ३९ लाख रुपैयाँ लागतमा उक्त पुल निर्माण पूरा गरेको हो।
व्यास नगरपालिका–८ स्थित रिस्ती खोला पुल बगुवामा ५२ मिटरको पुल ४ करोड २ लाख र सोही वडाको रिस्ती खोला पुल सोतीबेंसीमा ४० मिटर लम्बाइको ४ करोड ३७ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गरेको छ।
त्यसैगरी भीमाद–५ र ऋषिङ–८ जोड्ने फेदीखोलमा २५ मिटर लम्बाइको पुल ३ करोड ४६ लाख रुपैयाँ लागतमा पुल निर्माण कार्य पूरा भएको छ।
जिल्लाको भीमाद–३ स्थित बुढुवा खोलामा १९ दशमलव आठ मिटर लम्बाइको पुल २ करोड ४ लाख रुपैयाँ लागतमा सम्पन्न भएको सो कार्यालयले जनाएको छ।