काठमाडौं। ग्लोबल इक्विटी फन्ड र ऊर्जा डेभलपर्सले ऊर्जा इम्प्याक्ट फन्ड सिर्जना गर्न समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
ऊर्जा इम्प्याक्ट फन्ड नेपालमा हरित ऊर्जा र नवीकरणीय ऊर्जा परियोजनामा लगानी गर्नका लागि एक विशेष उद्देश्य कोष हो।
यो एक हरित ऊर्जा केन्द्रित कोष हो जसले मुख्यतया जलविद्युत परियोजना, सौर्य परियोजना, र अफ ग्रिड सौर्य परियोजना (रुफटप सोलार प्लान्ट) मा लगानी गर्नेछ।
ग्लोबल इक्विटी फन्ड र ऊर्जा डेभलपर्स, ऊर्जा इम्प्याक्ट फन्डको संयुक्त कोष प्रबन्धक हुन् जसले स्वदेशी तथा अन्तर्राष्ट्रिय संस्थागत लगानीकर्ता, विकास वित्त संस्था र आइएफसी र एडिबीजस्ता बहुपक्षीय वित्तीय संस्थामार्फत लगानी संकलन गर्छन्।
ग्लोबल इक्विटी फन्ड नेपालको पहिलो सेबोनबाट इजाजतपत्र प्राप्त प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फन्ड प्रबन्धक कम्पनी हो जसले विभिन्न आकारका कोषहरू चलाउँदैछ।
ऊर्जा डेभलपर्स एक नवीकरणीय ऊर्जा क्षेत्रका लागि एक समग्र समाधान प्रदायक कम्पनी हो जसले सन् २०३० सम्ममा १ गिगावाट कार्बन न्यूट्रल ऊर्जाको उत्पादन गर्ने परिकल्पना राखेको छ।
नवीकरणीय ऊर्जा विकास नेपालका लागि स्वच्छ ऊर्जामा रूपान्तरण र महत्वपूर्ण जलवायु लक्ष्य पूरा गर्न आर्थिक र सामाजिक विकासलाई सशक्त बनाउनुपर्ने ग्लोबल इक्विटी फन्डका प्रबन्ध निर्देशक डा. मनिष थापाले बताए।
‘उर्जा डेभलपर्ससँग ग्लोबल इक्विटी फन्डको साझेदारीले स्वच्छ बिजुली ल्याउने परियोजनाको वित्तपोषणलाई उत्प्रेरित गर्न र निम्न समुदायको आर्थिक विकास र दिगो जीविकोपार्जनलाई प्रवर्द्धन गर्न अति आवश्यक पुँजी उपलब्ध गराएर नेपालको स्वच्छ ऊर्जा रूपान्तरणका अवरोध समाधान गर्ने लक्ष्य राखेको छ,’ उनले भने।