काठमाडौं। भक्तपुर सूर्यविनायकदेखि काठमाडौं रत्नपार्कसम्म द्रुत बस सञ्चालन गर्न सडक विभाग र यातायात व्यवस्था विभागले तयारी सुरु गरेका छन्। सडक विभागले द्रुत बस सञ्चालनका लागि एक लेन सडक रङरोगन गर्ने जनाएको छ।
सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता रामहरि पोखरेलका अनुसार अहिले भइरहेको सडकको एक लेनलाई द्रुत बस सञ्चालनका लागि प्रयोग गरिने छ। उक्त लेनमा तोकिएको समयबाहेक अन्य समयमा जुनसुकै बस गुड्न पाउँछन्।
‘द्रुत बस चलाउन छुट्टै सडक बनाउने होइन, अहिले भएको सडकको एक लेनलाई कलर गरेर परैबाट द्रुत बस चल्ने सडक हो भनेर चिनिने बनाउँछौं,’ पोखरेलले क्यापिटल नेपालसँग भने, ‘कलर भनेर नयाँ/अर्कै भन्ने हुँदैन, सडकमा प्रयोग हुने कलर नै प्रयोग हुन्छ।’
डेढ करोड खर्च
सूर्यविनायक–रत्नपार्क दुरी १४ किलोमिटर छ। उक्त खण्डलाई व्यवस्थापन गरे ‘र्यापिड ट्रान्जिट’ बस चलाउन डेढ करोड लाग्ने अनुमान विभागको छ।
तै पनि उक्त बजेट चालू आर्थिक वर्ष २०८०/८१ मा विनियोजन भएको छैन। विभागको आन्तरिक स्रोत प्रयोग गरेर द्रुत बस सेवाका लागि सडक तयार गर्ने योजना विभागको छ।
सवारीसाधनको अत्यधिक चाप हुने समय बिहान ९ देखि ११ बजे र बेलुका ४ देखि ६ बजे (दिनमा ४ घन्टा) सम्म द्रुत बस चल्नेछ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार ४० सिट क्षमताका २५ वटा बस सञ्चालन हुनेछन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले असोज १ बाट सूर्यविनायक–रत्नपार्क खण्डमा द्रुत बस सेवा सञ्चालन गर्ने घोषणा गरेका छन्।
काठमाडौं उपत्यकामा धेरै ट्राफिक जाम र सार्वजनिक यातायातमा यात्रा गर्दा समयमा गन्तव्य पुग्न कठिन भएपछि द्रुत बससेवा सञ्चालन गर्न लागिएको मन्त्री ज्वालाको भनाइ छ।
परीक्षणका रूपमा सूर्यविनायक–रत्नपार्कमा सञ्चालन हुने द्रुत बस सेवा बिस्तारै अन्य स्थानमा पनि विस्तार गर्ने मन्त्रालयको योजना छ।
कार्यालय समयमा सूर्यविनायक–रत्नपार्क (१४ किलो मिटर) बाटो सार्वजनिक यातायातमा यात्रा गर्दा डेढ घन्टा लाग्छ। द्रुत बस सेवा सञ्चालन भएपछि अत्यधिक जामका बेला पनि ४५ मिनेटमा पुग्न सकिने मन्त्रालयको भनाइ छ।
हाल उक्त खण्डमा २५ बसस्टप (यात्रु चढाउने÷ओराल्ने ठाउँ) छन्। त्यो संख्या घटाएर १९ हुनेछन्।
सम्भव छ असोज १ बाट द्रुत बस सञ्चालन?
विभागका प्रवक्ता पोखरेलका अनुसार ठेक्का प्रक्रियामार्फत सडक रङरोगन गर्नुपर्छ। जसले गर्दा असोज १ बाटै द्रुत बस चलाउन सजिलो भने छैन। तर, विभागसँग ठेक्का सम्झौता गर्ने दुई विकल्प छन्। जसमध्ये छोटो समयमै सडक तयार गरी असोज १ बाट द्रुत बस चलाउने योजना छ।
‘एउटा विकल्प, कलर गर्न आवश्यक सामान किन्नेदेखि सडकमा लगाउने सबै ठेक्कामा दिने र अर्को कलर गर्न सामान किन्नमात्रै ठेक्का आह्वान गर्ने अनि सडकमा कलर गर्न दिनगन्तीमा मजदुर राख्ने,’ उनले भने, ‘अहिले छिटो गर्नु छ, त्यसैले कलर गर्न सामान किन्नमात्रै ठेक्का आह्वान गरेर दिनगन्तीमा काम लगाउने विषयमा बढी केन्द्रित छौं।’
यातायात व्यवस्था विभागको तयारी के छ?
यातायात व्यवस्था विभाग भने सडक तयार भए द्रुत बस चलाउन आफ्नो तयारी पूरा भएको बताउँछ। विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुका अनुसार यातायात व्यवसायीसँग छलफल भइसकेको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघसँग छलफल भएको हो। जसमध्ये नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले द्रुत बस सञ्चालनमा सहयोग गर्ने भएको छ।
द्रुत बस सञ्चालनका लागि छुट्टै बस नहुने सूचना अधिकारी पनेरु बताउँछन्। कुनै कम्पनी वा निकायअनुसारको बस नभई नियमित चल्ने बस नै चल्छन्।
‘सूर्यविनायक–रत्नपार्क चलिरहेका बसलाई नै द्रुत बसका रूपमा प्रयोग गर्ने हो, नयाँ बस पनि ल्याउनु पर्दैन,’ पनेरुले भने, ‘त्यसैले रुट पर्मिटका लागि पनि समस्या हुँदैन। केही घन्टाभित्रै रुट पर्मिट मिलाउन सकिन्छ।’
त्यस्तै ट्राफिक प्रहरीसँग पनि छलफल भइसकेको विभागले जनाएको छ। ट्राफिक लाइट, अन्य बसभन्दा द्रुत बसलाई प्राथमिकता दिएर गुड्न दिनेलगायत विषयमा प्रहरीले व्यवस्थापन गर्ने छ।
सडक विभागले द्रुत बस चल्ने सडकको लेन परैबाट चिन्ने गरी कलर गरेजस्तै द्रुत बस पनि यात्रुले सहजै पहिचान गर्न सक्ने बनाउने यातायात व्यवस्था विभागले जनाएको छ।
भौतिकमन्त्री ज्वालाले बसमा छुट्टै कलर गर्ने बताए पनि तत्काल त्यस्तो सम्भव नहुने विभागको भनाइ छ। नेपालमा द्रुत बस सञ्चालन असोजबाट परीक्षण हुने भएकाले तत्काल बस कलर गर्न उपयुक्त नहुने सूचना अधिकारी पनेरु बताउँछन्।
‘एक÷डेढ महिना परीक्षणका रूपमा द्रुत बस चल्छ, अहिले नै कलर गरेर बस चलाउँदा केही गरी सोचेको जस्तो सेवा प्रवाह हुन सकेन भने राम्रो हुँदैन। त्यसैले ब्यानर राखेर बस चलाउँछौं,’ उनले भने।
त्यस्तै द्रुत बसको जानकारी लिन मोबाइल एप पनि यातायात व्यवस्था विभागले बताउने छ। तर, करिब डेढ महिना परीक्षण भएपछि मात्रै एप बनाउने विभागले जनाएको छ।
सरकारले काठमाडौंमा द्रुत बस सञ्चालन अध्ययन गर्न यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा नौ सदस्यीय अध्ययन समिति गठन गरेको थियो।
समितिमा सडक विभागका प्रवक्ता पोखरेल, भौतिक मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर, उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौं महानगरपालिका, विशेषज्ञ इन्जिनियर र यातायात व्यवसायीका प्रतिनिधि थिए। समितिले बुझाएको प्रतिवेदनअनुसार द्रुत बस सेवा सञ्चालन हुन लागेको हो।