काठमाडौं। नेपाल बैंकले दिवाकर गोल्छा कर्पका सञ्चालकले भृकुटी पल्प एन्ड पेपर नेपाल लिमिटेडको नाममा लिएको ऋण तिर्न थप एक वर्षको समय दिने भएको छ।
बैंकले एक वर्षभित्र ऋण तिर्ने प्रस्ताव स्वीकृतिका लागि सञ्चालक समितिमा पेस गरेको छ। सञ्चालक समितिबाट स्वीकृत भएपछि दिवाकर गोल्छा कर्पले एक वर्षको समय पाउने छ। त्यसपछि ऋण तिर्ने विषयमा बैंक र दिवाकर गोल्छा कर्पबीच समझदारी (एमओयु) हुनेछ।
यसअघि कर्प सञ्चालक हितेश गोल्छाले ऋण तिर्न दुई वर्षको समय मागेका थिए। तर, नेपाल बैंकले एक वर्षको मात्र समय दिन लागेको हो।
हितेश ऋण तिर्ने योजनासहित पुगेपछि नेपाल बैंकले समय दिन लागेको हो। भृकुटीको नाममा रहेको जग्गा बेचेर ऋण तिर्ने प्रस्ताव गोल्छाले राखेका छन्।
भृकुटी कागजको साँवामात्रै ८५ करोड रुपैयाँ छ। ऋणमा लागेको ब्याज तथा हर्जना गर्दा झन्डै दोब्बर हुने बैंकले जनाएको छ। कारखानाको क्षमता बढाउन त्यसबेला गोल्छाले नेपाल बैंकबाट ऋण लिएका थिए।
नेपाल बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक र हिमालयन बैंकले सहवित्तीयकरणमा भृकुटीमा ऋण लगानी गरेका थिए। डिफल्ट समयको ९ प्रतिशत ब्याज तिर्न गोल्छाले सहमति जनाएका छन्।
भृकुटी कागज कारखाना किन्दा आठ टन कागज उत्पादन गर्ने क्षमता थियो। क्षमता बढाएर दैनिक १३ टन पु¥याउन गोल्छाले नेपाल बैंकबाट ऋण लिएका थिए। कारखाना सञ्चालन हुन नसकी बन्द भएपछि गोल्छाले बैंक ऋण नतिरी बसेका थिए।
नवलपुर गैंडाकोटमा रहेको कागज कारखाना २०६७ फागुन १९ देखि पूर्णरूपमा बन्द छ। बन्द भएको १२ वर्षभन्दा बढी भइसकेको छ।
चीनले नेपाललाई कागजमा आत्मनिर्भर बनाउन २०३९ सालमा भृकुटी कागज कारखाना निर्माण गरी हस्तान्तरण गरेको थियो।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले बिस्तारै राज्यको दायित्व निजी क्षेत्रलाई सार्दै जाने नीति लिएपछि भृकुटी कागज कारखाना २०४९ सालमा निजीकरण गरिएको थियो।
त्यसबेला गोल्छा अर्गनाइजेसनसहितको ‘ज्वाइन्ट भेन्चर’ (जेभी) कम्पनीलाई १ हजार ८० कठ्ठा जमिन र औद्योगिक उपकरणसहित १३ करोड रुपैयाँमा कारखाना बेचिएको थियो। निजीकरण भएपछि कारखाना राम्रोसँग सञ्चालन हुन सकेन र बन्द भयो।
गोल्छाले कारखानाको नाममा रहेको आठ बिघा जग्गा अलग्गै बेचिसकेका छन्। भृकुटी कागज कारखानाका मुख्य सञ्चालक दिवाकर गोल्छा थिए। अंशबन्डा हुँदा भृकुटी कागज कारखाना दिवाकरको नाममा आएको हो।
दिवाकरको निधन भइसकेको छ। अहिले कारखानाको स्वामित्व दिवाकरका छोरा हितेशको नाममा छ। २०६७ मा बन्द भएपछि यसका करोडौं मूल्यका सामान नष्ट भइसकेका छन्।
नयाँ मेसिन खरिद गरेर कारखाना पुनः सञ्चालन गर्न करोडौंं रुपैयाँ आवश्यक पर्ने देखिएको छ। हितेशले कारखाना सञ्चालन गर्नुभन्दा पनि जग्गा बेचेर ऋण तिर्ने योजना बनाएका छन्।
कारखानाले विगतमा स्वदेशी कच्चापदार्थ पराल, बाँस, बाबियो, गहुँको छ्वाली, काँस, झुत्रा कागजबाट दैनिक १५ हजार टनसम्म कागज उत्पादन गर्दै आएको थियो।
यता गोल्छाको स्वामित्वको श्रीराम सुगर मिल्स लिमिटेडको उपकरण नेपाल बैंकले लिलाम गरेको छ। शिवशक्ति ग्रुपका राजकुमार अग्रवालले श्रीराम सुगरको सबै मेसिनरी उपकरण साढे ४३ करोड रुपैयाँमा सकारेका छन्।
अग्रवालले शिवशक्ति सुगर मिल्स सञ्चालनको तयारी थालेका छन्। शिवशक्तिका लागि उनले श्रीरामको उपकरण खरिद गरेका हुन्।