काठमाडौं। गएको असार ३ गते कालिमाटी चोकको सडकभरि गोलभेँडा असरल्ल थियो। सवारीसाधन आवागमन नै रोकिएपछि सडकमा फ्याँकिएका गोलभेँडा प्रशासनले हटायो।
चोकमा मात्र होइन, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति परिसरमा त गोलभेँडाको थुप्रो हटाउन एस्काभेटर नै प्रयोग गर्नुपर्यो।
भारतीय गोलभेँडाले राम्रो मूल्य पाउँदा नेपाली गोलभेँडा बिक्री नै हुन छाडेपछि त्यसबेला किसानले सडकमा फालेर विरोध जनाएका थिए।
कालिमाटी तरकारी तथा फलफूल बजारमा भारतीय ठूलो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकिलो ४० र अधिकतम ६० रुपैयाँ पुग्दा नेपाली टनेल गोलभेँडाको भने न्यूनतम मूल्य प्रतिकिलो ६ रुपैयाँ र अधिकतम १० रुपैयाँमात्र थियो।
त्यही मूल्यमा पनि नबिकेपछि गोलभेँडा सडकमा फाल्नुको विकल्प नभएको किसानले गुनासो गरेका थिए।
यो घटनाको ठिक ४६ दिनपछि गोलभेँडाको मूल्य फेरि आकासिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अहिले ठूलो नेपाली गोलभेँडााको भाउ किलोको १ सय ६० देखि १ सय ८० रुपैयाँ पुगेको छ।
त्यस्तै दैनिक घरायसी उपभोग्य सानो (टनेल) गोलभेँडाको भाउ किलोको ९४ देखि १ सय १० रुपैयाँ छ। यही सानो गोलभेँडा पनि उपभोक्तासम्म पुग्दा १ सय ५० रुपैयाँहाराहारी हुन्छ।
गोलभेँडाका लागि यो अफसिजन भएकाले मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए।
‘अफसिजनमा धेरै मूल्य पाइन्छ भनेर धेरै किसानले खेती गर्दा अघिल्लो महिना अत्यधिक उत्पादन भएर मूल्य घटेको थियो। अहिले कतिपय फार्ममा उत्पादन सकिएर होला, कतिपय किसानले उखेलेर अर्को खेती गरे होलान्। त्यही भएर उत्पादन कम भएपछि मूल्य बढेको हो,’ श्रेष्ठले क्यापिटल नेपालसँग भने।
हाल कालिमाटी बजारमा दैनिक ४० देखि ४५ टन गोलभेँडा आइरहेको उनले जानकारी दिए। ‘हाम्रो बजारको दैनिक गोलभेँडा आवश्यकता ६० देखि ६५ टन हो। अहिले ४० देखि ४५ टन आइरहेको छ। किसानले गोलभेँडा फ्याँकेको दिन ९० देखि ९५ टन आएको थियो,’ उनले भने।
अहिले काठमाडौंमा बिक्री भइरहेको गोलभेँडा उपत्यकाकै उत्पादन भएको उनले बताए। ‘यहाँ आउने ९० प्रतिशतभन्दा धेरै उत्पादन उपत्यकाभित्रकै हो। बाहिर उत्पादन भएका गोलभेँडा पनि फार्मबाटै वा स्थानीय बजारमा खपत भइरहेको छ,’ श्रेष्ठले भने।
पछिल्लो समय गोलभेँडा किसानले नै किलोको १ सयभन्दा धेरै पाइरहेको ताजा कृषि तथा पशुपंक्षी फार्मका सञ्चालक राङडोल लामा बताउँछन्।
‘एक महिनाअघि मात्र हामी टनेलको गोलभेँडा किलोको ६ रुपैयाँमा बेच्न बाध्य थियौं। टनेल बाहिरको त बिक्री हुने अवस्था पनि थिएन। अहिले त्यही गोलभेँडा १ सयभन्दा धेरै पाइराखेका छौं,’ उनले भने।
गत महिना उत्पादन धेरै भएकै कारण मूल्य पाइएको उनको बुझाइ छ। ‘योपटक ठिक्क वर्षा भएका कारण टनेल बाहिरका अफ सिजन गोलभेँडा पनि निकै राम्रो उत्पादन भयो र टनेलभित्र र बाहिर गरी उत्पादन अत्यधिक भएका कारण मूल्य आएन,’ लामाले भने।
गत महिना गोलभेँडाको मूल्य नआएपछि धेरै किसानले बिरुवा नै उखेलेर अर्को खेती गरेको उनी बताउँछन्। ‘मूल्य नपाएपछि धेरै किसानले गोलभेँडाको बिरुवा नै फालेर दसैंका लागि अर्को खेती गरे। कतिपय किसानले १/२ वटा टनेलमात्र बाँकी राखे,’ उनले भने, ‘त्यसकारण उत्पादन कम भएर माग बढेको हो। एक महिनाअघि मेरै फार्मबाट दैनिक १ सय क्रेट गोलभेँडा निस्किन्थ्यो। अहिले ४ देखि ५ दिनमा ४/५ क्रेटमात्र निस्किन्छ।’
वर्षमा १० लाख किलोबढी गोलभेँडा निर्यात
गत आर्थिक वर्ष २०७९/८० मा १० लाख किलोभन्दा धेरै गोलभेँडा निर्यात भएको थियो। भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष भारतमा मात्र १ करोड ४९ लाख ४ हजार रुपैयाँको १० लाख ९४ हजार ५ किलो गोलभेँडा निर्यात भएको थियो। २०७८/७९ मा भने ४० किलोमात्र गोलभेँडा निर्यात भएको थियो।