काठमाडौं। चालू आर्थिक वर्षको १५ दिनमै बैंकिङ प्रणालीबाट १ खर्ब २४ अर्ब ४२ करोड रुपैयाँ निक्षेप घटेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूमा ५७ खर्ब ४० अर्ब २९ करोड रुपैयाँ निक्षेप मौज्दात थियो।
आर्थिक वर्ष सुरु भएको १५ दिनको अवधि (साउन १६ गते) सम्म आइपुग्दा निक्षेप ५६ खर्ब १५ अर्ब ८७ करोड रुपैयाँमा सीमित भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
समीक्षा अवधिमा बैंकिङ प्रणालीबाट ७० करोड रुपैयाँ थप कर्जा प्रवाह भएको छ। गत आवको असार ३१ गतसम्म बैंक तथा वित्तीय संस्थाले ४८ खर्ब ५४ अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। जुन साउन १६ सम्म आइपुग्दा ४८ खर्ब ५५ अर्ब ६१ करोड रुपैयाँ पुगेको हो।
साउनको १६ गतेसम्म वाणिज्य बैंकबाट १ खर्ब २१ अर्ब ९७ करोड, विकास बैंकहरूबाट २ अर्ब ८२ करोड घट्दा वित्त कम्पनीहरूको ३७ करोड रुपैयाँ निक्षेप बढेको छ। गत असार मसान्तमा वाणिज्य बैंकमा ५० खर्ब ६६ अर्ब ४१ करोड रुपैयाँ रहेको निक्षेप साउन १६ मा ४९ खर्ब ४४ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको छ।
असार ३१ गतेसम्म विकास बैंकहरूमा ५ खर्ब ६३ अर्ब २८ करोड रुपैयाँ रहेको निक्षेप साउन १६ गते आइपुग्दा ५ खर्ब ६० अर्ब ४६ करोड रुपैयाँमा सीमित भएको छ। वित्त कम्पनीहरूमा असार ३१ मा १ खर्ब १० करोड रहेको निक्षेप साउन १६ गते १ खर्ब १० अर्ब ९७ रुपैयाँ पुगेको छ।
असार मसान्तमा वाणिज्य बैंकहरूले ४२ खर्ब ९४ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। जुन १ अर्ब रुपैयाँ थप भएर ४२ खर्ब ९५ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ।
यता विकास बैंक र वित्त कम्पनीको कर्जा प्रवाह घटेको छ। विकास बैंकहरूले गत असार मसान्तमा ४ खर्ब ६८ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए।
जुन साउनको १६ गतेसम्म ४ खर्ब ६८ अर्ब ४२ करोड र वित्त कम्पनीहरूको ९२ अर्ब ८ करोड रुपैयाँ थियो। वित्त कम्पनीहरूको कर्जा साउन १६ गतेसम्म ९१ अर्ब ८० करोड रुपैयाँमा सीमित भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।