काठमाडाैं। गत आर्थिक वर्ष नेपालको व्यापार घाटा साढे १४ अर्ब रुपैयाँभन्दा बढी छ। अर्थात, मुलुकमा निर्यातभन्दा आयातको मात्रा निकै ठूलो छ।
व्यापार घाटा कम गर्न निर्यात बढाउनुको विकल्प छैन। सरकारले व्यवस्थित तवरले निर्यातजन्य वस्तु तथा सेवा उत्पादन र बिस्तार गर्न सके उल्लेख्य मात्रामा विदेशी मुद्रा आर्जन गर्दै व्यापार घाटा कम गर्न सकिन्छ।
यद्यपि, नेपालले केही यस्ता वस्तु जसको निर्यातबाट राम्रो आम्दानी गरिरहेको छ। जसमध्ये गलैचा, अलैंची, अम्रिसो, कुकुर तथा बिरालाको खाना, यार्सागुम्बा पनि पर्छन्। जसको निर्यातबाट गत आवमा मुलुकले २४ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ।
भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा नेपालबाट ४१ अर्ब रुपैयाँबढीको कार्पेट (गलैँचा) निर्यात भएको छ। गत आवमा २०७९/८० मा ११ अर्ब ५० करोड ६६ लाख २३ हजार रुपैयाँको गलैँचा निर्यात भएको विभागको भनाइ छ।
यहाँ उत्पादन हुने गलैँचा अमेरिका, जर्मनी, बेलायतलगायतका मुलुकमा निर्यात हुन्छ। ऊन तथा जनावरका रौंबाट बनेका यस्ता गलैँचाको माग विशेष गरी अमेरिका तथा यूरोपमा हुन्छ। गत आवमा अमेरिकामा मात्रै ७ अर्ब १८ करोड २५ लाख ६७ हजार रुपैयाँबराबरको गलैँचा निर्यात भएको छ।
साथै, जर्मनीमा ८८ करोड ७० लाख २२ हजार, बेलायतमा ७८ करोड ७५ लाख ७६ हजार, इटलीमा ६१ करोड ४६ लाख ६२ हजार रूपैयाँबराबरको गलैँचा निर्यात भएको छ। यस्तै गत आवमा फ्रान्समा ३४ करोड २५ लाख ९२ हजार रुपेयाँबराबरको गलैँचा निर्यात भएको छ।
भन्सार विभागका अनुसार अघिल्लो आवमा कूल ९ अर्ब ५६ करोड ७७ लाख ३० हजार रुपैयाँ मूल्यबराबरको गलैँचा निर्यात भएको छ। त्यस्तै आव २०७७/७८ मा ७ अर्ब २४ करोड ४० लाख ५० हजार, आव २०७६/७७ मा ६ अर्ब १५ करोड ७७ लाख ६ हजार तथा आव २०७५/७६मा ७ अर्ब ३६ करोड ९६ लाख ९५ हजार रुपैयाँको गलैँचा विभिन्न देशमा निर्यात भएको छ।
८ अर्बको अलैँची निर्यात
विभागका अनुसार गत आवमा ८ अर्ब रुपैयाँभन्दा बढीको अलैँची निर्यात भएको छ। मुलुकको वैदेशिक व्यापारमा अलैँची निर्यातको मूख्य भूमिका छ। गत आवमा ८ अर्ब २७ करोड ६५ लाख ९७ हजार रुपैयाँबराबरको अलैँची मुलुकबाट निर्यात भएको छ। जुन अघिल्लो आवमा ४ अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँ थियो।
विभागका अनुसार आव २०७७/७८ मा ७ अर्ब १ करोड ८ लाख २९ हजार, आव २०७६/७७ मा २ अर्ब ५३ करोड ९५ लाख ९५ हजार तथा आव २०७५/७६ मा २ अर्ब ७१ करोड ४९ लाख ४२ हजार रुपैयाँबराबरको अलैँची निर्यात भएको छ। नेपालबाट भारत, पाकिस्तान, इटली तथा जर्मनीलगायत मूलुकमा अलैँची निर्यात हुने गरेको छ।
कुकुर तथा बिरालाको खानाको निर्यात बढ्दो
पछिल्लो केही वर्षयता नेपालबाट निर्यात हुने वस्तुमा कुकुर तथा बिरालाको खानासमेत पर्दै गएको छ। विगत पाँच वर्षमा मात्रै मुलुकबाट १० अर्ब रुपैयाँका यस्ता वस्तु निर्यात भएको विवरण भन्सार विभागले सार्वजनिक गरेको छ।
गत आवमा मात्रै ३ अर्ब ४० करोड ९० लाख ७३ हजार मूल्य बराबरका यस्ता वस्तु मुलुकबाट बाहिरिएको विभागले सार्वजनिक विवरणमा छ। गत आवमा २ अर्ब ९६ करोड ७६ लाख रुपैयाँका यस्ता वस्तु अमेरिका निर्यात भएको थियो। त्यस्तै २९ करोड ४२ लाख ३५ हजार रुपैयाँको क्यानडा, ३ करोड ९३ लाख ५६ हजार रुपैयाँबराबरको जापान निर्यात भएको सार्वजनिक विवरमा छ।
नेपालले अघिल्लो आवमा २ अर्ब ९१ करोड १९ लाख ३९ हजारको कुकुर तथा बिरालाका लागि बनेका यस्ता खानेकुरा निर्यात गरेको छ। त्यस्तै आव २०७७/७८मा १ अर्ब ९६ करोड ५० लाख ४६ हजार, आव २०७६/७७ मा १ अर्ब २२ करोड ८३ लाख ५६ हजार तथा आव २०७५/७६ मा १ अर्ब ५ करोड २८ लाख ७६ हजार रुपैयाँको यस्ता वस्तु मुलुकबाट निर्यात भएको विवरण्मा छ।
पाँच वर्षमा ३ अर्बको अम्रिसो निर्यात
नेपालबाट निर्यात हुने वस्तुमा अम्रिसो पनि पर्छ। विभागका अनुसार पछिल्लो पाँच वर्षमा अम्रिसो निर्यातबाट ३ अर्ब ३३ करोड ६ लाख ९२ हजार रुपैयाँ आम्दानी भएको छ। गत आवमा १ अर्ब ८८ लाख रुपैयाँको अम्रिसो भारत निर्यात भएको छ। नेपालबाट निर्यात हुने अम्रिसोको मुख्य गन्तव्य भारत हो।
विभागको विवरणअनुसार अघिल्लो आवमा ६९ करोड ९८ लाख ६२ हजार रुपैयाँको अम्रिसो नियात भएको छ। त्यस्तै आव २०७७/७८मा ६५ करोड ८८ लाख १३ हजार, आव २०७६/७७मा ५५ कराड ७४ लाख ७८ हजार तथा आव २०७५/७६ मा ४० करोड ५७ लाख ३९ हजार रुपैयाँको अम्रिसो मुलुकबाट निर्यात भएको छ।
एक वर्षमा ४४ करोडको यार्सागुम्बा निर्यात
विभागका अनुसार गत आवमा ४४ करोड ३१ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको छ। नेपालको उच्च हिमाली क्षेत्रमा पाइने जडीबुटी यार्चागुम्बाको निर्यात पछिल्ला पाँच वर्ष यताकै उच्च हो।
अघिल्लो आवमा ३० करोड ९२ लाख ३३ हजार रुपैयाँको यार्सागुम्बा निर्यात भएको थियो। त्यस्तै आव २०७७/७८ मा १५ करोड ७६ लाख २५ हजार, आव २०७६/७७ मा २० करोड २२ लाख ३५ हजार तथा आव २०७५/७६मा १७ करोड ९४ लाख ८ हजार रुपैयाँको यार्सागुम्बा निर्यात भएको छ।
विभागका अनुसार नेपालबाट यार्सागुम्बा मुख्य निर्यात हुने मुलुकमा हङकङ, कम्बोडिया, मलेसिया, सिङ्गापुर, भियतनाम, अमेरिकालगायतका राष्ट्र पर्छन्।