काठमाडौं। भारतले धान निर्यातमा दिएको कोटा सकिएको छ। वार्षिक ६ लाख टन धान नेपाल निर्यात गर्न छुट्ट्याएको कोटामात्र सकिएको छैन, चामल निर्यातसमेत रोकेको छ।
चामल निर्यातमा रोक लगाएपछि नेपालमा प्रत्यक्ष असर परेको छ। अहिले चामल व्यापारीले मूल्य बढाउने चलखेल सुरु गरेका छन् भने ‘स्टक’ बढाउने होडबाजी नै चल्न सुरु भइसकेको छ।
नेपाल चामल, तेल, दाल उद्योग संघका अध्यक्ष कुमुदकुमार दुगडले दुई महिनालाई मात्र पुग्ने चामल स्टक रहेको जानकारी दिए।
‘हामीले सरकारलाई दुई महिनाका लागि चामल स्टक रहेको र धान निर्यातको कोटा बढाउन नसके हाहाकार हुन सक्छ भनेर जानकारी गराइसकेका छौं,’ दुगडले क्यापिटल नेपालसँग भने, ‘सरकारले कूटनीतिक पहल गरेर यो विषय सम्बोधन गर्छ होला।’
चामल निर्यातमा रोक लगाएपछि व्यवसायीले मात्र होइन, घर–घरमा स्टक राख्न लागिएकाले दुई महिनाका लागि भने पनि एकदेखि डेढ महिनामा सकिने अवस्था आएको उनले बताए।
‘त्यसकारण समस्या विकराल हुनुअघि नै सरकारले तत्काल कूटनीतिक पहल गरेर समस्या समाधानका लागि पहल गर्न आवश्यक भइसक्यो,’ दुगडले भने।
उनका अनुसार नेपालका लागि चामलभन्दा धान आयातमा जोड दिनुपर्छ। त्यसका लागि आवश्यक मिल तयारी अवस्थामा रहेकाले रोजगारी सिर्जना गर्न पनि धान आयातमा जोड दिनुपर्छ। यसबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जानकारी दिइसकिएको छ।
भारतले चामल निर्यातमा रोक लगाएपछि अहिले चामलको मूल्य प्रतिबोरा १ सयदेखि ५ सयसम्म बढिसकेको खुद्रा व्यापारीले जानकारी दिए पनि भाउ बढिनसकेको संघ अध्यक्ष दुगडको दाबी छ।
‘अहिले तत्काल मूल्य बढाउन आवश्यक छैन,’ उनले भने, ‘सरकारले लबिङ गरेर १ देखि २ लाख टन धान आयात गर्ने हो भने अहिलेको समस्या समाधान हुनेछ।’
नेपालमा भारतबाट वार्षिक ११ लाख टन धान आयात गर्न सके दीर्घकालीन हिसाबमा समस्या समधान हुने उनको भनाइ छ। अहिले भारतबाट वर्षको ६ लाख टनमात्र धान आयात भइरहेको छ।
निजी क्षेत्रसँग दुई महिनालाई मात्र पुग्ने चामल स्टक छ भनिरहँदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता राधिका अर्यालले भने आत्तिनुपर्ने स्थिति नरहेको बताइन्।
‘बुधबार उद्योगमन्त्री रमेश रिजालकै उपस्थितिमा निजी क्षेत्र र सरकारीस्तरको छलफल गरेका छौं,’ प्रवक्ता अर्यालले भनिन्, ‘रिपोर्टिङ सुन्दा आत्तिनुपर्ने स्थिति देखिँदैन।’
चामल अभाव हुने स्थिति देखिए तत्कालै कूटनीतिक पहल गरी समस्या समधान गर्ने तयारीमा मन्त्रालय रहेका कारण अहिले नै कुनै निर्णय नभएको उनले बताइन्।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा देशभरि ५४ लाख ८६ हजार ४ सय ७२ टन धान फलेको अनुमान छ।
तर, निजी क्षेत्रले भने यो तथ्यांकमा त्रुटि भएको बताउँदै आएको छ। ‘सरकारी तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा चामलको अभाव नै हुनुपर्ने देखिँदैन,’ संघ अध्यक्ष दुगडले भने, ‘तथ्यांकमा भर पर्दा दुःख पाइरहेका छौं, सरकारी निकायले सोच्नुपर्ने बेला आएको छ।’
नेपालमा वार्षिक करिब १५ देखि २० लाख टन चामल खपत हुँदै आएको छ।