काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचिकृत मध्ये ४२ सामूहिक लगानी कोष (म्युचअल फन्डको नाफा ९३.६७ प्रतिशत बढको छ। नेप्सेमा सूचिकृत ३५ बन्दमुखी र ७ खुलामुखी म्युचअल फन्डले २ अर्ब ७९ करोड ६ लाख रुपैयाँ नाफा गरेका छन्।
अघिल्लो महिना फन्डहरुले १ अर्ब ४४ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। एक महिनाको बीचमा फन्डहरुको कूल नाफा १ अर्ब ३५ करोड रुपैयाँ बढेको छ।
यस अवधिमा धेरै नाफा गर्नेमा एनआइसी एसिया ग्रोथ फन्ड रहेको छ । असारसम्म ग्रोथ फन्डले १५ करोड ७२ लाख रुपैयाँ नाफा गरेको छ। जेठमा १२ करोड ६७ लाख रुपैयाँ बढी नाफा गरेको थियो।
असार सेयर बजारमा वृद्धि देखिएका कारण फन्डहरुको नाफामा सुधार देखिएको हो। म्युचुअल फन्डहरुले ठूलो हिस्सा सेयर बजारमा लगानी गरेका हुन्छन्। सेयर बजारमा उचारचढाव आउँदा नाफामा असर पर्ने गर्छ।
प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) पनि बढ्ने वा घट्ने भइरहन्छ। गत जेठमा २४ अर्ब ५४ करोड ३४ लाख रुपैयाँ रहेको सेयरमा लगानी अहिले बढेर २६ अर्ब ४७ करोड २८ लाख रुपैयाँ पुगेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।
असार मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै न्याभ सानिमा इक्विटी फन्डको छ। सानिमाको न्याभ बढेर १३ रुपैयाँ ९ पैसा पुगेको छ। जेठमा सानिमाको न्याभ १२ रुपैयाँ ८० पैसा थियो।
गत असारसम्ममा म्युचुअल फन्डहरुको सेयर बजारमा लगानी बढेको देखिन्छ। फन्डहरुले २६ अर्ब ४७ करोड २८ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।
जेठमा फन्डहरुले २४ अर्ब ५४ करोड रुपैयाँ लगानी गरेका थिए। सबैभन्दा धेरै सिद्धार्थ इक्विटी फन्डले १ अर्ब १७ करोड ४८ लाख रुपैयाँ भन्दा बढी सेयर बजारमा लगानी गरेको छ। सबैभन्दा कम एनआइसी एसिया डाइनामिक डेब्ट फन्डले १२ करोड १२ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेको छ ।