काठमाडौं। तयाल समूहले सञ्चालन गरेको सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले प्रिमियम मूल्यमा प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्न अनुमति पाएको छ।
लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट १ अर्ब ६६ करोड ६१ लाख ४९ हजार रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ। उद्योगले चुक्ता पुँजीको ४० प्रतिशत आइपिओ निष्कासन गर्न लागेको हो। ६० प्रतिशत संस्थापक सेयर रहेको छ।
सोनापुर मिनलरले कर्मचारीका लागि अंकित मूल्यमा प्रतिकित्ता १ सय रुपैयाँमा १ सय २५ रुपैयाँ प्रिमिय थप गरी २ सय २५ रुपैयाँका दरले आइपिओ निष्कासन गर्ने भएको छ।
यस्तै सर्वसाधारणका लागि १ सय रुपैयाँ अंकित मूल्यमा १ सय ३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २ सय ३७.५८ रुपैयाँ तोकेको छ। सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ।
बोर्डले आइपिओ निष्कासनको स्वीकृति दिएको सोनापुर मिनरल्स चालू आर्थिक वर्षको पहिलो कम्पनी हो।
सोनापुर मिनरल्सको सञ्चालन आम्दानी १८.७२ प्रतिशत घटेको छ। सन् २०२२ मा २ अर्ब ३२ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। २०२१ मा उद्योगले २ अर्ब ९२ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो।
२०२० मा उद्योगले २ अर्ब ६६ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो। २०१९ मा सोनापुर मिनरल्सले ३ अर्ब २२ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो।
उद्योगको कूल आम्दानीमा क्लिंकरको हिस्सा ४० प्रतिशत छ। सोनापुरले अहिले क्लिंकरका साथै सिमेन्ट उत्पादन गरिरहेको छ। २०२२ मा क्लिंकर प्लान्टको उपयोग ५८ र सिमेन्टको ५३ प्रतिशत रहेको छ। सोनापुर मिनरल्सको ऋण ७ अर्ब २८ करोड ७० लाख रुपैयाँ रहेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।
उद्योगले क्लिंकर उत्पादन दैनिक १२ सय ५० टन र सिमेन्ट २३ सय टन थप गरेको छ। कम्पनीसँग हाल एउटै स्थानमा रहेका दुईवटा चुनढुंगा खानी उत्खनन अनुमतिपत्र छ।
सोना सिमेन्ट ब्रान्डमा ओपिसी र सोना सिमेन्ट पिपिसी तथा सोनाश्री सिमेन्टको नाममा पिपिसी उत्पादन तथा बिक्री गर्दै आएको छ।
सोनापुर मिनरल्स सन् २००८ मा स्थापना भएको हो। तयाल परिवारले स्थापना गरेको उद्योगको अध्यक्षमा रतनलाल तयाल र प्रबन्ध सञ्चालकमा निपेश तयाल छन्।
तयालको रोजिन एन्ड टर्पन्टाइन, कागज, कस्मेटिक र फाइबर केबल व्यवसाय पनि छ। आइपिओ निष्कासन गर्न सन् २०२० मा उद्योग पब्लिक लिमिटेडमा रूपान्तरण भएको हो।