काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) ले नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) द्वारा उठाइएका जायज माग तत्कालै सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ।
महासंघले विज्ञप्ति जारी गर्दै केही दिनदेखि चरणबद्ध आन्दोलनमा उत्रिएका निर्माण व्यवसायीसँग वार्ता र सम्वाद गरी निकास निकाल्न आग्रह गरेको हो।
कूल गार्हस्थ उत्पादन (जिडिपी) मा ठूलो योगदान रहेको निर्माण क्षेत्रको जायज माग सुनुवाइमा भइरहेको ढिलाइले निर्माणमात्र नभई अर्थतन्त्रमा नै समस्या पर्ने देखिएको एफएनसिसिआईले जनाएको छ।
’व्यवसायीले निर्माण कार्य सम्पन्न गरे पनि भुक्तानी नभएर वित्तीय प्रणाली र समग्र अर्थतन्त्रमा नै नकारात्मक प्रभाव परेको हुँदा त्यसतर्फ सरकार संवेदनशील हुन जरुरी छ,‘ एफएनसिसिआईले जारी गरेको विज्ञप्तिमा छ, ‘विकास निर्माण र सर्वसाधारणको जीवनयापनसँग समेत जोडिएका परियोजना रोकिँदा सरकारको पुँजीगत खर्च पनि हुन सकेको छैन भने जनताले पनि सुविधा पाउन सकेका छैनन्।’
निर्माण, उद्योग र थोक व्यापार नकारात्मक रहँदा अर्थतन्त्र मन्दीमा गएको छ भने यसबाट बैंक वित्तीय संस्था, सिमेन्ट, छडजस्ता निर्माण सामग्री उत्पादक र सरकारको राजस्वमा पनि गम्भीर असर परेको महासंघले जनाएको छ।
राजस्व १३ प्रतिशतले घटेको छ भने उद्योग करिब ३० देखि ३५ प्रतिशत क्षमतामा चलिरहेको बताउँदै गत वर्ष पुँजीगत खर्च जम्मा ६१ प्रतिशत भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पनि सकारात्मक सन्देश नगएको एफएनसिसिआईले जनाएको छ।