काठमाडौं। ग्लोबल आइएमई बैंक र डिप्रोक्स नेपालबीच डिजिटल कारोबार प्रवर्द्धन गर्न समुन्नति डिजिटल फाइनान्स परियोजना सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीपछि डिजिटल माध्यमबाट वित्तीय कारोबार प्रवद्र्धन गर्ने उद्देश्य राखी डिप्रोक्सले सञ्चालन गर्ने कार्यक्रममा बैंकको सहभागिता रहने छ।
त्यस्तै परियोजनाअन्तर्गत लुम्बिनी प्रदेशका दाङ, रोल्पा र रुकुम–पूर्व जिल्लाका शान्तिनगर, दंगीशरण, त्रिवेणी, रुन्टीगढी, परिवर्तन, थबाङ, भुमे र पुथाउत्तरगंगा गरी आठ स्थानीय तहमा बेलायतस्थित प्राक्टिकल एक्सन र डिप्रोक्स नेपालको साझेदारीमा सञ्चालन हुने कार्यक्रममा पनि बैंकको सहभागिता हुनेछ।
बैंकसँगको सहकार्यमा हुने डिजिटल कारोबारले लक्ष्यित समुदायको समय, श्रम र खर्चमा बचत हुने जनाइएको छ। परियोजनामा आबद्ध ५ हजार ५ सय घरधुरी तरकारी, दुग्ध उत्पादन, ओखर, सुन्तला खेती र बाख्रापालन व्यवसायमा संलग्न छन्। जसमा ८० प्रतिशत सहभागी महिला छन् भने बाँकी २० प्रतिशत विभिन्न सीमान्तकृत परिवारबाट हुनेछन् ।
यसै भित्रबाट तीन प्रतिशत समुदाय अपाङ्ग घरपरिवार पनि हुने हुँदा परियोजनाले लक्ष्यित समुदायमा समावेशी वित्तीय पहुँच स्थापित हुने विश्वास बैंकले लिएको छ।