काठमाडौं। इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको ९ महिनामा व्यापार ३०.८५ प्रतिशत बढेको छ। ९ महिनामा कम्पनीले ८ अर्ब २१ करोड रुपैयाँ इन्टरनेट व्यापार गरेको छ। अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ६ अर्ब २७ करोड ४० लाख रुपैयाँ इन्टरनेट व्यापार गरेको थियो।
एक वर्षको अवधिमा कम्पनीको व्यापार १ अर्ब ९३ करोड ६० लाख रुपैयाँ बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।
सन् २०२२ मा कम्पनीले ९ अर्ब ३९ करोड १० लाख रुपैयाँ कारोबार गरेको थियो। २०२१ मा ७ अर्ब ५४ करोड, २०२० मा ६ अर्ब ५४ करोड ५० लाख रुपैयाँ कारोबार गरेको थियो।
२०१९ मा ५ अर्ब ४ करोड रुपैयाँबराबरको कारोबार गरेको कम्पनीले जनाएको छ। चार वर्षको वित्तीय विवरण हेर्दा कम्पनीका कारोबारमा बढोत्तरी देखिएको छ।
कम्पनीले ५ अर्ब १९ करोड १० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ। कम्पनीले ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्ट (सिडिसी) र डोल्मा इम्प्याक्ट फण्डलगायतबाट गरी कूल ३ अर्ब ३३ करोड रुपैयाँ ऋण लिएको छ। जसमध्ये ब्रिटिस इन्टरनेसनलबाट १ अर्ब ८ करोड र डोल्माबाट ९० करोड रुपैयाँ ऋण लिएको छ।
नेपालको इन्टरनेट बजारमा कम्पनीको हिस्सा २९ प्रतिशत पुगेको छ। कम्पनीका ग्राहक संख्या ७ लाख ७२ हजार छन्। कम्पनीको इन्टरनेट व्यान्डविथमा ४० प्रतिशत र ७० जिल्लामा सेवा पुगेको छ। मुलुकभरी २६ लाख ७३ हजार ४ सय ७१ इन्टरनेट प्रयोगकर्ता रहेका छन्।
२०१९ मा बेलायती लगानीकर्ता सिडिसी ग्रुपको प्रवेशपछि कम्पनीको व्यवसाय विस्तार भएको हो। सिडिसीले वर्ल्डलिंकको १० प्रतिशत स्वामित्व खरिद गरेको छ।
सिडिसीले कम्पनीमा त्यसबेला १ अर्ब ३५ करोड रुपैयाँ (१ करोड २० लाख डलर) लगानी गरेको थियो। उक्त लगानीपछि कम्पनीको इन्टरनेट सेवाका ग्राहक संख्या बढ्नुका साथै आम्दानी पनि बढ्दै गएको हो।
सेवा विस्तार गर्न कम्पनीले २०२३ मा २ अर्ब रुपैयाँ लगानी थप्ने योजना सार्वजनिक गरेको छ।२०१२ मा वर्ल्डलिंकले एफटिटिएच (फाइबर टु द होम) प्रविधि ल्याएको थियो।
सन् १९९६ मा स्थापना भएको वर्ल्डलिंक २०१९ अप्रिलमा पब्लिक लिमिटेडमा परिणत भएको हो । कम्पनीले प्राथमिक सेयर (आइपिओ) निष्कासन तयारी गरेको छ।
कम्पनीको अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवाल र कार्यकारी निर्देशक मनोजकुमार अग्रवाल हुन्। विजयकुमार जलान र सिडिसीबाट अरुण कोराती कम्पनीको सञ्चालक हुन्। कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) केशव नेपाल छन्।