नेपालमा ‘राइड सेयर’ सेवा लोकप्रिय भएसँगै ‘इन्ड्राइभ’ पनि नेपाल भित्रियो। राइड सेयर कम्पनीका भीडमा इन्ड्राइभले बिस्तारै लोकप्रियता बढाइरहेको छ। यात्रुका लागि अन्य प्रतिस्पर्धी ब्रान्डभन्दा सस्तो शुल्क र राइडरका लागि ‘कमिसन’ दिन नपर्ने हुँदा यो लोकप्रिय बन्दै गयो। तर, यसको दर्ता र बिमा नभएको, बार्गेनिङ शैलीलाई प्रश्रय दिएको आरोप पनि लाग्ने गरेको छ। यिनै विषयमा केन्द्रित रहेर इन्ड्राइभका ‘साउथ एसिया पब्लिक रिलेसन म्यानेजर’ पवितनन्दा आनन्दसँग क्यापिटल नेपालका लागि सुधीर भण्डारीले गरेको कुराकानी :
हाल नेपालमा इन्ड्राइभले कस्ता सेवा दिइरहेको छ?
हाल नेपालमा इन्ड्राइभले मोटरसाइकल राइड सेयर, ट्याक्सी राइड, सिटी टु सिटी सेवा र डेलिभरी सेवा दिइरहेको छ।
जनसंख्याको हिसाबले नेपाल निकै सानो छ। यहाँ सेवा विस्तार गर्ने उद्देश्य के हो?
हामी विशेषतः विकासोन्मुख देशमा गइरहेका छौं। नेपाल पनि हाम्रा लागि निकै महत्वपूर्ण क्षेत्र हो। जनसंख्या थोरै भए पनि यहाँ सम्भावना धेरै छ। यहाँ राम्रो राइड हिलिङ एपको खाँचो पनि थियो। त्यसकारण हामी यहाँ आएका हौं।
नेपालमा इनड्राइभ कतिजना (प्रयोगकर्ता संख्या) ले लिइरहेका र दिइरहेका छन्?
हामी स्थानीय बजारमा कतिजनाले सेवा दिइरहेका छन् वा लिइरहेका छन् भनेर सार्वजनिक गर्ने गरेका छैनौं। हाम्रो सेवा ४८ देशका ६ सय ५५ सहरमा छ। त्यस्तै, इनड्राइभ एप १७ करोड ५० लाखपटक डाउनलोड भएको छ।
नेपालमा अरू पनि इनड्राइभजस्तै एप छन्। ती एप र इनड्राइभमा फरक के छ?
यसमा अरूभन्दा केही महत्वपूर्ण भिन्नता छन्। पहिलो त यसमा भाडा यात्रु आफैंले निर्धारण गर्न मिल्छ। त्यस्तै राइडरलाई हामी कुनै यात्रु तोक्दैनौं। त्यसकारण सवारीको भाडा राइडर र यात्रुको सहमतिमा हुन्छ। हामीले उहाँहरूलाई जोड्ने प्लेटफर्ममात्र उपलब्ध गराउने हो। यही कारण हाम्रो एपमा क्यान्सिलेसन रेट पनि निकै कम छ।
नेपालमा त हामीले हाल कुनै पनि प्रकारको कमिसन लिइरहेका छैनौं। संसारका अन्य देशमा पनि हामीले सेवा शुल्क जति लिइरहेका छौं त्यो प्रतिस्पर्धीभन्दा निकै कम छ। नेपालमा पनि दर्ता सकिएपछि हामी सेवा शुल्क त दिन्छौं, तर त्यो निकै कम हुन्छ।
तपाईंहरूले नेपालमा सेवा सुरु गरेसँगै दर्ता गर्दैछौं भन्नुभएको थियो। धेरै समय भएन र?
सरकारी काम गर्दा केही समय त लाग्छ नै। हामीले कम्पनी दर्ताका लागि सन् २०२२ अक्टोबरमै आवेदन दिएका थियौं। हाम्रो लिगल टिमले काम गरिरहेको पनि छ। आवश्यक कगजपत्र सम्बन्धित निकायमा बुझाइसकेका पनि छौं। आशा गरौं छिट्टै दर्ता हुन्छ।
सरकारी तवरबाट केही झमेला भएको हो र?
यो विषयमा म धेरै कुरा गर्न चाहन्नँ। यसबारे मलाई धेरै जानकारी पनि छैन। कम्पनी दर्ताका लागि हाम्रो टिमले काम गरिरहेको छ।
नेपालमा तपाईंहरूको प्रतिस्पर्धी ब्रान्डले राइडरदेखि प्यासेन्जरसम्मको बिमा गरेको छ। तपाईंहरूले त्यो सुविधा दिनुहुन्न?
बिमा हाम्रो कम्पनीको पोलिसीमा छैन। किनभने, राइडरहरू हाम्रा कर्मचारी होइनन्। हामीले उहाँहरूलाई प्लेटफर्म दिनेमात्र हो। हामी हाम्रो राइडर र प्यासेन्जरलाई राम्रो र सुरक्षित सेवाको प्रत्याभूति भने गराउँछौं।
केही समस्या परेको खण्डमा तपाईंहरुलाई भेट्न सकिने कुनै कार्यालयसमेत छैन, किन होला?
हाम्रो कम्पनी दर्ता हुनेबित्तिकै हामी कार्यालय राख्छौं र त्यसमा एउटा टिम नै रहन्छ। त्यस्तै सुरक्षाको कुरा गर्नुपर्दा हाम्रो अफिस नभए पनि हाम्रो एपमा कम्प्लेन गरेको खण्डमा कस्टमर सपोर्ट टिमले द्रुत गतिमा काम गर्छ। त्यसका लागि अहिले पनि २४ घन्टा काम गरिरहेको टिम छ।
इनड्राइभको सेवा काठमाडौं बाहिर पनि लैजाने सोच छ त?
यो विषयमा हाम्रो रिसर्च टिमले काम गरिरहेको छ। दर्ता सकियोस्, अनि त्यसपछि हामी यो विषयमा अघि बढ्छौं।
काठमाडौं बाहिर पहिले कहाँ सेवा सुरु होला?
पहिले हामी पोखरा जाने योजनामा छौं।