काठमाडौं। चालू आर्थिक वर्षमा माछापुच्छ्रे बैंकको खुदनाफा ९.७५ प्रतिशत बढेको छ। गत आर्थिक वर्षमा बैंकले १ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा १ अर्ब ६८ करोड खुदनाफा गरेको थियो। एक वर्षको अवधिमा बैंकको खुदनाफा १७ करोड रुपैयाँ मात्र बढेको छ।
बैंकद्धारा बुधबार सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार सो अवधिमा बैंकले १ अर्ब ५६ करोड रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ। बैंकको चुक्ता पुँजी १० अर्ब २५ करोड रुपैयाँ छ। जसको आधारमा बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १४.२६ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ।
अघिल्लो आवको नाफाबाट बैंकले ५.८२ प्रतिशत लाभांश दिने क्षमता राख्थ्यो। तर, उक्त आवमा बैंकको प्राथमिक पुँजी ८.५० प्रतिशत भन्दा तल कायम हुँदा नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएको थियो।
गत आवमा बैंकले प्राथमिक पुँजी राष्ट्र बैंकले तोकेको सीमा भन्दा तल कायम गर्दा लाभांश वितरण रोक्का भएको थियो। गत आवको तेस्रो त्रैमाससम्म बैंकले यस्तो अनुपात तोकिएको सीमामा नै कायम गरेको छ।
समीक्षा अवधिमा बैंकको निक्षेप परिचालन र कर्जा लगानी बढेको छ। गत वर्ष बैंकले १ खर्ब ५४ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। जसबाट बैंकले ५ अर्ब ३८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।
अघिल्लो आर्थिक वर्षमा र्बैंकले १ खर्ब ४५ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २८ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। जस वापत बैंकले ४ अर्ब ८७ करोड रुपैयाँ खुदब्याज आम्दानी गरेको थियो।
अघिल्लो आवको तुलनामा बैंकको खुदब्याज आम्दानी १०.४३ प्रतिशत वृद्धि भएको छ। साथै, अघिल्लो आवमा २ अर्ब ४५ करोड रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले गत आवमा ९.९१ प्रतिशत बढाएर २ अर्ब ६९ करोड रुपैयाँ सञ्चालन नाफा गर्न सफल भएको छ।
गत आवको चौथो त्रैमाससम्म बैंकको खराब कर्जा अनुपात २.१२ प्रतिशत छ। अघिल्लो आर्थिक वर्षमा यस्तो अनुपात १.०२ प्रतिशत थियो।
साथै, समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ०५ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ५९ रुपैयाँ, आधारदर १०.७४ प्रतिशत, ब्याजदर अन्तर (स्प्रेडरेट) ३.९५ प्रतिशत र सीडी रेसियो ८०.६४ प्रतिशत कायम छ।