काठमाडौं। नेपालमा बढ्दो क्रिकेट खेलको ‘क्रेज’ मध्यनजर गर्दै श्रीलंकामा हुन लागेको एसिया कपका लागि ट्राभल एजेन्सीहरूले आकर्षक प्याकेज सार्वजनिक गरेका छन्।
नेपाल र भारतबीच आगामी सेप्टेम्बर ४ (भदौ १८) मा श्रीलंकामा हुने क्रिकेटको एसिया कप हेर्न जानेलाई लक्ष्यित गरी ट्राभल एजेन्सीहरूले आकर्षक टुर प्याकेज सार्वजनिक गर्न थालेका हुन्।
नेपाली दर्शकलाई प्रत्यक्ष क्रिकेट हेर्ने मौका दिन भन्दै ट्राभल एजेन्सीहरूले पहिलोपटक खेल हेर्नकै लागि प्रतिस्पर्धात्मकरूपमा प्याकेज सार्वजनिक गरिरहेका हुन्। ट्राभल एजेन्सीहरूले श्रीलंकामा जाने आउने जहाज टिकटदेखि त्यहाँ चारतारे होटलमा बसाइ, खाना, खाजा, खेल हेर्ने टिकटसहित भिसा शुल्कसमेत तिरिदिने गरी प्याकेज ल्याएका छन्।
होलिडे एक्सपर्टका निर्देशक राजु पन्तले खान, बस्न, हवाई टिकट, भिसा प्रक्रियामा लाग्ने शुल्क, खेल हेर्ने टिकट सहित ४ रात ५ दिनको प्याकेजको व्यवस्था रहेको बताए।
यसका लागि प्रतिव्यक्ति १ लाख २० हजार रुपैयाँ तोकिएको छ। खेल हेर्न जान प्याकेज लिनेको संख्या बढिरहेको उनको भनाइ छ। खेल हेर्नकै लागि नेपालबाट ट्राभल एजेन्सीहरूले पहिलोपटक प्याकेज सार्वजनिक गरेको उनले बताए।
नेपाल र भारतबीच हुने खेल भएकाले पनि धेरै नेपाली दर्शकको रुचि खेल हेर्ने भएकाले प्रत्यक्ष हेर्ने अवसर दिन ट्राभल एजेन्सीहरूले आकर्षक प्याकेज दिएको व्यवसायीहको भनाइ छ।
‘आउटबाउन्ड’ मा वर्षेनि ठूलो संख्यामा नेपालीलाई विदेश घुमाउँदै आएका ट्राभल एजेन्सीहरूले यो वर्ष भने नेपाली क्रिकेट पारखीलाई लक्ष्यित गरी प्याकेज सार्वजनिक गरेका हुन्। प्याकेजमा जानेलाई श्रीलंकामा रहेको चारतारे होटलमा बसाइदेखि खेल हेर्ने टिकटसहित विभिन्न पर्यटकीय गन्तव्य घुमघामको अफरसमेत राखिएको छ।
सिलिंक्स होलिडेजले ४ रात ५ दिनको प्याकेज सार्वजनिक गरेको छ। जहाजको टिकट, खेल हेर्ने टिकट, चारतारे होटलको बसाइ, खानासहित त्यहाँका पर्यटकीय गन्तव्य घुमघाम प्याकेजमा छ। सिलिङले होटलमा एकजनामात्र बस्न चाहनेका लागि १ लाख ३१ हजार ५ सय र कोठा सेयरिङ गर्न बस्न चाहनेका लागि प्रतिव्यक्ति १ लाख १८ हजार ५ सय रुपैयाँ तोकेको छ।
रुप्से होलिडेजले तीनवटा मिति तय गरेर प्याकेज सार्वजनिक गरेको छ। उसले अगस्ट ३० र ३१ तथा सेप्टेम्बर ३ का लागि जहाजको टिकट बुकिङ गरेर छुट्टाछुट्टै प्याकेज सार्वजनिक गरेको छ।
रुप्सेले अगस्ट ३० र ३१ मा जानेका लागि ६ रात ७ दिनको प्याकेज ल्याएको छ। यसका लागि प्रतिव्यक्ति १ लाख ३० हजार रुपैयाँ तोकेको छ। सेप्टेम्बर ३ का लागि ४ रात ५ दिनको प्याकेज छ। जसको मूल्य १ लाख १८ हजार रुपैयाँ प्रतिव्यक्ति तोकिएको छ। योसँगै नेपाली टिमसँग फोटो खिच्ने कार्यक्रमसमेत सार्वजनिक गरिएको छ।
गुरु ट्राभलले ६ रात ७ दिनका लागि प्रतिव्यक्ति १ लाख ३५ हजारको प्याकेज बनाएको छ। नेपाल–भारतको खेलपछि श्रीलंकाका विभिन्न सहरमा घुम्ने मौकासमेत दिने छ। गुरुले अगस्ट ३० र ३१ गरी दुई दिन नेपालबाट दर्शक लैजाने भएको छ।