काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र फेडेरेसन अफ नेपाल एक्पोर्टर्स एसोसिएसनद्वारा तयार गरिएको ‘आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरू’ नामक पुस्तक सार्वजनिक गरिएको छ।
नेपाली मौलिक उत्पादनहरूको वर्तमान अवस्था, अन्तर्राष्ट्रिय माग एवं आपूर्तिको स्थिति, उत्पादकत्व वृद्धिको प्रचुर सम्भावना र निर्यात प्रवर्द्धनमार्फत अर्थतन्त्रको दिगो विकास र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा पुग्न सक्ने योगदानका विषयमा लामो अध्ययन तथा विश्लेषणसहित यो पुस्तक विमोचन भएको हो।
पुस्तक विमोचन कार्यक्रममा सिबिफिनका अध्यक्ष पवन गोल्यानले बैंक तथा वित्तीय संस्थाबाट जोखिमयुक्त एवं अनुत्पादक क्षेत्रमा भइरहेको लगानीलाई सुरक्षित र उत्पादनमुलक क्षेत्रमा केन्द्रित गराउन जरुरी देखिएको उल्लेख गर्दै आन्तरिक बजारमा बढ्दो माग भएका र वाह्य बजारमा निर्यात वृद्धिको प्रचुर सम्भावना भएका स्वदेशी कच्चा पदार्थमा आधारित कृषि तथा वनपैदावारलगायतका १० वटा वस्तुहरुको १० वर्षे तथ्यांक केलाएर अध्ययन गरिएको बताए।
पुस्तकले समग्र उद्यमी÷व्यवसायीको स्तरोन्नति मार्ग पहिल्याउनुका साथै दिगो र आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि मार्गनिर्देशसमेत गरेको उनको भनाइ छ।
त्यस्तै सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सिबिफिन र एफएनइएले तयार गरेको उक्त पुस्तकले नेपाली उत्पादनको वस्तुनिष्ठ अवस्थाको उजागर गर्दै निजी क्षेत्र र सरकारका लागि चुनौती र सम्भावना दुवै औंल्याइदिएको बताए।
आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी रहेको बताउँदै उनले नेपाली उत्पादनको प्रवर्द्धन तथा उपयोगलाई प्रश्रय दिँदै निर्यातलाई बढावा दिनुपर्ने उल्लेख गरे।
त्यसैगरी उनले मुलुकले निर्यातजन्य वस्तु उत्पादनमा जोड दिनसके बजारीकरणको समस्या नहुने उल्लेख गरे। उत्पादकत्व वृद्धि र निर्यात प्रवर्द्धनमा देखिएका नीतिगत र व्यवहारिक कठिनाइ सुधार गर्न सरकारले आवश्यक सहजीकरण र पहलकदमी लिने बताए।
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले नेपालमा उत्पादित वस्तु निर्यातका लागि पुस्तक मार्गदर्शन हुने उल्लेख गर्दै निर्यातजन्य वस्तुको उच्च गुणस्तर कायम गर्न र प्रमाणीकरण गर्न सरकारका तर्फबाट पनि आवश्यक पूर्वाधारको विकास गर्नुपर्ने बताउँदै त्यस विषयमा ध्यान पुर्याउन आम व्यवसायीलाई आग्रह गरे।
उनले विदेशस्थित नेपाली नियोगमार्फत निर्यात प्रवर्द्धन गर्न सकिने उल्लेख गर्दै त्यसमा परराष्ट्र मन्त्रालयले आवश्यक सहजीकरण गर्ने बताए।
उद्योग, वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले सिबिफिनले सरकार र अन्य क्षेत्रले भन्दा एक कदम अगाडि बढेर आम उद्यमी/व्यवसायी र राष्ट्र हित हुने गरी बहुपयोगी पुस्तक तयार गरेका बताउँदै नेपालको उर्वरशील भूमि र प्राकृतिक स्रोतको उचित प्रयोग र परिचालन नगरी राष्ट्रको आर्थिक उन्नति नहुने बताए।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेलले अध्ययन पुस्तकले औल्याएका तथ्य–तथ्यांक र सुझावलाई सरकारले मनन् गर्नुपर्ने बताउँदै योजना तर्जुमा गर्दा उक्त सुझावलाई सम्बोधन गर्न आफूले सक्दो प्रयास गर्ने बताए।
आम उद्यमी तथा व्यवसायीले पनि आफ्नो लगानी, उत्पादन र व्यवसायले देशको अर्थतन्त्रमा के कस्तो प्रभाव पारेको छ भन्ने विषयमा पनि ध्यान दिन आग्रह उनले आग्रह गरे।
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा, नेपाल च्याम्बर्स अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल र फेडेरेशन अफ नेपाल एक्पोटर्स एसोसिएसनकी उपाध्यक्ष देविका बुढाथोकीले पुस्तकका विषयमा चर्चा गर्दै नेपालका उद्यमी÷व्यवसायीले भोगिरहेका समस्या र समाधानका लागि गर्नुपर्ने सुधारका विषयमा धारणा राखेका थिए।