एजेन्सी। भारतीय निजी वायुसेवा कम्पनी आकासा एयरले नेपाल उडान गर्ने भएको छ। आकासाले नेपालसहित श्रीलंका र बंगलादेशमा उडान गर्न लागेको हो।
आकासाले मध्यपूर्व, दक्षिणपूर्वी एसिया र दक्षिण एसियाका अन्य देशमा उडान गर्न नयाँ जहाज थपेको छ। आकासाले अन्तर्राष्ट्रिय उडानका लागि आफूलाई योग्य बनाउँदै मंगलबार २०औं जहाज थपेको जानकारी दिएको छ।
कम्पनीले गत महिना मध्यपूर्व, दक्षिणपूर्वी एसिया र दक्षिण एसियाका श्रीलंका, नेपाल र बंगलादेशका रुटमा नेटवर्क विस्तार गर्ने जानकारी दिएको थियो।
अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि योग्य बन्न एयरलाइन्सको कम्तीमा २० वटा जहाज हुनुपर्छ। बोइङकाे '७३७ म्याक्स–८–२०' सिरिजका जहाज थप्ने आकासा एयर पनि एसियाकै पहिलो एयरलाइन बनेको छ। अमेरिकाबाट उडेकाे उसकाे जहाज मंगलबार बेंगलुरु आइपुगेको कम्पनीले जानकारी दिएको छ।
‘हाम्रो जहाज संख्यामा आज कोसेढुंगा थपिएको छ। जसले अन्तर्राष्ट्रिय उडानको अध्याय थपिएको घोषणा गर्छ। यसले हामीलाई हाम्रो भविष्यबारे धेरै आशावादी बनाएको छ। हामी हाम्रो अद्वितीय र विशिष्ट सेवा संसारमा प्रदर्शन गर्न उत्साहित छौं,’ आकासा एयरका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) विनय दुबेले भने।
गत वर्ष अगस्टमा सुरु भएको आकासा एयरको बजार हिस्सा ४.९ प्रतिशत थियो। गत महिना बढेर ६ लाख १८ हजार यात्रुले आकासा जहाजबाट उडान गरेका थिए। गो फर्स्ट एयर समस्याग्रस्त हुँदा आकासाको बजार हिस्सा बढेको छ।
२०२२ अगस्टमा सुरु भएको आकासा एयरले ७६ बोइङ जहाज खरिद अर्डर गरेको छ। आकाशाले जहाज किन्न अमेरिकाको बोइङसँग सम्झौता गरेको छ। सम्झौताअनुसार आकासाले ९ अर्ब डलर खर्च गर्ने छ। गत महिनामात्र आकासाले थप चार जहाज अर्डर गरेको थियाे।
भारतीय उड्डयन क्षेत्रमा प्रतिस्पर्धा तीव्र हुँदै गएको बेला इन्डिगो र एयर इन्डियाले ठूला जहाज अर्डर गर्ने र आक्रमक बजार विस्तारको योजना सार्वजनिक गरेका छन्। उनीहरूलाई पछ्याउँदै आकासाले विस्तारको रणनीति लिएको छ। तै पनि कम्पनीका सिइओ दुबेले बिस्तारै भारतका साथै अन्तर्राष्ट्रिय बजार बढाउँदै लैजाने योजना रहेको सुनाए।
अन्तर्राष्ट्रिय सेवा सुरु गर्ने तयारी गर्दै कम्पनीले चालू आर्थिक वर्ष अन्त्यसम्ममा ८ सय नयाँ कामदार थप्ने लक्ष्य लिएको छ। कर्मचारी संख्या बढाउन आकासाको मात्रै एक्लो योजना छैन। इन्डिगो र एयर इन्डियाले समेत थप कर्मचारी भर्ती गर्ने योजना बनाएका छन्।
यता बन्द रहेको जेट एयरवेजले पनि उडान सुरु गर्ने भएको छ। २०१९ देखि ग्राउन्डेड जेट एयरवेज जलान क्यालरक कन्सोर्टियम (जेकेसी) ले सञ्चालन गर्न लागेको हो। जेकेसीले जेट सञ्चालन गर्न १३ अर्ब ७५ करोड भारु लगानी गर्ने भएको छ।
जसअनुसार ९ अर्ब पुँजी लगानी र बाँकी ४ अर्ब ७५ करोड भारु ऋण तिर्न खर्चिने छ। त्यसमध्ये ३ अर्ब ८० करोड बैंक ऋण तिर्ने छ।
जेकेसीले जेट एयरवेजको ८९.७९ प्रतिशत स्वामित्व लिएको छ भने ९.५ प्रतिशत ऋणदाताको स्वामित्व रहने गरी लगानी संरचना तयार पारिएको छ।
यता जेकेसीले जेट एयरवेज पुनः सञ्चालन गर्न भारतको नागरिक उड्डयन महानिर्देशकको कार्यालयबाट सोमबार वायुसेवा सञ्चालन अनुमति प्राप्त गरेको छ।