काठमाडौं। बढ्दो हवाई दुर्घटना न्यूनीकरण गर्न उड्डयन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रमुख वायुयान चालक (पाइलट इन कमान्ड) सन्तुष्ट नभएसम्म उडान गर्न नदिने निर्णय गरेको छ।
कतिपय दुर्घटना ‘पाइलटकै कारण’ हुने गरेको निष्कर्ष निकाल्दै उड्डयन प्राधिकरणले प्रमुख पाइलट पूर्णरूपमा सन्तुष्ट नभएको अवस्थामा वायुयान उडान गर्न नदिन सम्बन्धित एयरलाइन्सहरूलाई निर्देशन जारी गरेको हो।
उड्डयन सेवा निर्देशनालयका उपमहानिर्देशक प्रेमनाथ ठाकुरको संयोजकत्वमा साउन १२ मा बसेको बैठकले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण नागरिक उड्डयन नियमावली २०५८’ को परिच्छेद १० नियम ६५ ‘ख’ मा भएको व्यवस्था कडाईसाथ लागू गर्न उड्डयन तथा हवाई सुरक्षा नियमन निर्देशनालयमार्फत सञ्चालनमा रहेका विभिन्न एयरलाइन्सलाई पत्राचार गरी उक्त निर्णय कार्यान्वयनमा लैजाने निर्णय गरेको हो।
प्राधिकरणका अनुसार अबदेखि उडानअघि प्रमुख पाइलट (क्याप्टेन) सन्तुष्ट वा खुसी रहे/नरहेको विषय सम्बन्धित कम्पनीले अनुगमन गर्नुपर्ने छ। यदि, कुनै कम्पनीले क्याप्टेन सन्तुष्ट नभएकै अवस्थामा जबर्जस्ती जहाज उडान गर्न निर्देशन दिए त्यसको सूचना प्राधिकरणलाई दिनसमेत अनुरोध गरिएको छ।
परिच्छेद १० मा पाइलट पूर्णरूपमा सन्तुष्ट नभई वायुयान उडान गर्न नहुने उल्लेख गरेको छ। कतिपय पाइलटले घरायसी र अफिसियल कुरालाई लिएर तनावग्रस्त अवस्थामै जहाज उडान गर्ने गरेका घटना पनि यसअघि भेटिएकाले त्यस्तो हुन नदिन नयाँ प्रावधान ल्याइएको प्राधिकरणले जनाएको छ।
गत असार २६ गते भएको मनाङ एयरको हेलिकोप्टरका क्याप्टेन चेत गुरुङ पनि २४ घन्टे उपस्थितिलाई लिएर दबाब परी उडान गर्दा दुर्घटनामा परेको वायुसेवा सञ्चालकहरूले आरोप लगाउँदै आएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको २४ घन्टाभित्र इन्जिनियरले पुनः चेकजाँच गर्नुपर्ने बाध्यकारी नियम बनाइएका कारण क्याप्टेन गुरुङ मौसम खराब हुँदाहुँदै छोटो दुरीको यात्रामा निस्किँदा दुर्घटनामा परेको उनीहरूको अनुमान छ।
क्याप्टेन गुरुङ दुर्घटनाभन्दा केही दिनअघि मात्र प्राधिकरणले गरेको कारबाही ‘ग्राउन्डेड’ बाट मुक्त भएर हेलिकोप्टर उडानमा फर्किएका थिए। यदि, उनले कारबाहीको कुनै तनाव नलिई पूर्णरूपमा सन्तुष्ट भई उडान गरेको भए दुर्घटना नहुने अनुमान भइरहेका बेला प्राधिकरणले नयाँ प्रावधान बनाएको हो।
अब, नियमनकारीको कारबाही छल्न र कम्पनीको इन्धन बचाउनका लागि पाइलटहरूले तनावग्रस्त अवस्थामा जहाज उडान गर्न नपाउने प्राधिकरणले जनाएको छ।
पाइलटले जहाज उडान गर्दा वायुयानको उडान योग्यताको प्रमाणपत्र मान्य रहेको हुनुपर्ने, उडान मार्ग तथा गन्तव्य विमानस्थलको मौसम उडान अवतरणका दृष्टिले अनुकूल रहनुपर्ने, कूल तौल प्रस्तावित उडानका लागि सुरक्षित रहेको हुनुपर्ने, सामानहरू उडान सुरक्षित हुने गरी सन्तुलित र बचावटसाथ राखिएको हुनुपर्ने र न्यूनतम इन्धन जगेडा राखेको छ वा छैन भन्ने अनिवार्य हेर्नुपर्ने छ।