काठमाडौं। निजी लगानीमा सञ्चालित चारतारे होटल क्राउन इम्पेरियलले प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। आइपिओ निष्कासन गर्न होटलले लक्ष्मी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।
होटलले १ सय रुपैयाँ अंकित दरमा १ करोड १५ लाख कित्ता आइपिओ ल्याउन लागेको हो। सम्झौतापत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजीव सापकोटा र अर्किड होल्डिङ्स लिमिटेडले सञ्चालन गरेको होटेल क्राउन इम्पेरियलका तर्फबाट प्रबन्ध सञ्चालक सुधीरमान मास्केले हस्ताक्षर गरेका छन्।
यस कम्पनीले २०७६ असार १३ गतेबाट होटेल क्राउन इम्पेरियल सञ्चालनमा आएको हो। चारतारे होटल क्राउन इम्पेरियल १४ तला छ। होटलमा १ सय ३१ कोठा छ। लाइभ म्यूजिकसहितको रेष्टुरेन्ट, रुफटप (स्काई लाउन्ज) र दुईवटा बार छन्। यस्तै, ब्यांकेट हल, जिम, स्विमिङ पुल, ५० देखि ७५ जना सम्मको २ वटा ठुला मिटिङ हल छ।
क्राउन इम्पेरियलको कारोबारमा उछाल
क्राउन इम्पेरियलको कारोबारमा उछाल आएको छ। २०२३ को ८ महिनामा होटलले १३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ।
कारोबारसँगै होटलको वित्तीय अवस्थामा पनि सुधार आएको छ। होटल अकुपेन्सी दरमा सुधार आएपछि क्राउन इम्पेरियलको आम्दानीमा बढोत्तरी आएको हो।
होटलका अनुसार २०२२ मा ६ करोड ६० लाख रुपैयाँमात्र व्यापार गरेको थियो। यो वर्ष अकुपेन्सी दर ६ प्रतिशतमात्र थियो। अघिल्लो वर्ष २ करोड ३० लाख रुपैयाँमात्र व्यापार गरेको थियो। २०२० मा सञ्चालन आम्दानी ८ करोड २० लाख रुपैयाँ थियो।
कन्फरेन्स, मिटिङ र एक्जिबिसनबाट ७२ र बाँकी २८ प्रतिशत आम्दानी रुम बिक्रीबाट भएको होटलले जनाएको छ। होटलले १ अर्ब रुपैयाँ ऋण रेटिङ गराएको छ।
पछिल्लो समय पर्यटक आगमनमा सुधार भएपछि होटलको कोठा, खाद्यान्न र पेयपदार्थ बिक्री बढेको छ।
होटल सञ्चालनमा आएको केही महिनापछि नेपालमा कोरोना महामारी फैलियो र होटलले आम्दानी गर्न पाएन।
होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा नौ किलोमिटर पर रविभवनमा छ। हाल होटलका प्रबन्ध निर्देशकमा सुधीरमान मास्के छन्।
अर्किड होल्डिङ्स २००७ मा स्थापना भएको हो। २०२२ मा आएर होटल पब्लिक लिमिटेडमा रूपान्तरण भएको हो। होटल क्राउन इम्पेरियल ब्रान्डमा सञ्चालनमा छ।