काठमाडौं। मुख्यसचिव डा. वैकुण्ठ अर्यालले मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य जरुरी रहेको बताएका छन्।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र फेडेरेसन अफ नेपाल एक्सपोर्ट्स एसोसिएसनले संयुक्तरूपमा आज यहाँ आयोजना गरेको ‘आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरू’ विषयक पुस्तक विमोचन कार्यक्रममा उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि निर्यातलाई बढावा दिनुपर्ने बताए।
मुख्यसचिव अर्यालले मुलुकले निर्यातजन्य वस्तु विकासमा जोड दिनसके बजारीकरणको समस्या नहुने उल्लेख गरे। निर्यात बढाउनका लागि निर्यात घर स्थापना राम्रो काम भएको बताउँदै निर्यात घर स्थापनाका लागि सरकार लाग्ने स्पष्ट पारे। उनले विदेशमा निर्यात हुने वस्तुलाई स्वदेशी बजारमा समेत प्रयोग गर्नसके राम्रो हुने बताए।
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले नेपालमा उत्पादित वस्तुलाई निर्यात गर्नका लागि पुस्तक मार्गदर्शन हुने बताए। उनले निर्यातजन्य वस्तुमा गुणस्तरलाई ध्यान दिन आम व्यवसायीलाई आग्रहसमेत गरे।
परराष्ट्र सचिव पौडेलले विदेशस्थित नेपाली नियोगमार्फत निर्यात प्रवर्द्धन गर्न सकिने उल्लेख गर्दै त्यसमा परराष्ट्र मन्त्रालयले समेत सहजीकरण गर्ने बताए।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपालमा उत्पादित वस्तुलाई विदेशसम्म निर्यात गर्न सकेमात्र नेपालको अर्थतन्त्र बलियो हुने धारणा राखे। सरकारले विदेशमा निर्यात हुने वस्तुलाई पहिचान गरिरहेको उनको भनाइ थियो।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाललगायतले दिगो विकासको लक्ष्य पूरा गर्न नेपालको मौलिक उत्पादनलाई बढावा दिई विदेशमा निर्यात गर्नुपर्ने बताएका थिए।
सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले आकासिँदो आयात र बढ्दो व्यापार घाटालाई कम गरी मुलुकमा रोजगारी प्रदान गर्नका लागि निर्यातलाई बढाउनुपर्ने बताएका थिए। उनले मौलिक उत्पादनलाई विकास गरेर विदेशमा निर्यात गर्न सके दुई वर्षमा ८ लाख रोजगारी सिर्जना गर्न सकिने धारणा राखेका थिए ।
डा. गोपालप्रसाद तिवारी, उत्तमप्रसाद गौतम र कृष्णराज बजगाईंद्वारा लिखित उक्त पुस्तकमा नेपाली हाते कागज, अल्लो, वस्त्र, उनी फेल्ट, धनियाँ, अलैँची, जडीबुटी, बेसार, अदुवा, धूप–अगरबत्ती र बास्केटलाई विदेशमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिने बताइएको छ।