काठमाडौं। नेपाल विद्युत प्राधिकरणले आफ्नो ३८औं वार्षिकोत्सवका अवसरमा देशभरिका कार्यालयमार्फत वृक्षरोपण गरेको छ।
सोमबार प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालय, वितरण केन्द्र÷उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालय, सबस्टेसन कार्यालय, उत्पादन सेवाअन्तर्गतका विद्युत उत्पादनगृमा कार्यारत कर्मचारीले आफ्नो कार्यालय परिसर तथा अन्य उपयुक्त स्थानमा वृक्षरोपण गरेका हुन्।
कार्यालयहरूले आ–आफ्नो क्षेत्रको हावापानी र माटो अनुरुपका १ लाखभन्दा बढी फलफूल तथा अन्य प्रजातिका बिरुवा रोपेका छन्।
जलविद्युत, प्रसारण र वितरणतर्फका आयोजना निर्माण गर्दा रुख काट्नेमात्र हैन रुख बिरुवाको संरक्षण पनि गरिन्छ भन्ने सन्देश दिन प्राधिकरणले हरेक वर्ष साउन १५ गते देशभरिका कार्यालयमार्फत वृक्षरोपण गर्ने छ।
प्राधिकरणको प्रधान कार्यालय तथा वृक्षरोपण गर्ने स्थान नभएका काठमाडौं उपत्यकाभित्रका कार्यालयमा कार्यरत कर्मचारीले नेपालको पहिलो तथा ऐतिहासिक फर्पिङ जलविद्युत केन्द्र परिसरमा बिरुवा रोपेका छन्।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवं प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शक्ति बहादुर बस्नेतले केन्द्र परिसरमा नास्पातीको बिरुवा रोपी वृक्षरोपण कार्यको सुरुवात गरेका थिए।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव एवं प्राधिकरण सञ्चालक समितिका सदस्य दिनेश कुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कर्मचारीबाट विभिन्न प्रजातिका ३ सयभन्दा बढी बिरुवा रोपिएको छ।
नास्पाती पकेट क्षेत्रका रूपमा रहेको फर्पिङमा अधिकांश बिरुवा त्यसकै रोपिएका छन्।
कार्यक्रममा मन्त्री बस्नेतले वृक्षरोपण गरिएका बिरुवाको संरक्षण सबैभन्दा महत्पूर्ण भएकाले त्यतातर्फ विशेष ध्यान दिन निर्देशन दिए।
वातावरण संरक्षण र विकासलाई एक अर्काका विरोधीका रूपमा चित्रण हुने गरेको उल्लेख गर्दै मन्त्री बस्नेतले वृक्षरोपणले दुई विषय एक अपासका विरोध हैनन् भन्ने सकारात्मक सन्देश जाने बताए।
सचिव घिमिरेले वृक्षरोपण गरिएका बिरुवालाई त्यतिकै नछाडेर हेरचाह र संरक्षण गर्न आग्रह गरे। कार्यकारी निर्देशक घिसिङले आगामी वर्षबाट जलविद्युत आयोजनाको जलाधार क्षेत्रमा वृक्षरोपण गरिने बताए।