काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमिकमात्र निर्यात गर्नेको पहिचान बदलेर अब नेपाललाई सेवा निर्यात गर्ने देशका रूपमा स्थापित गर्न चाहेको बताएकी छन्।
इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिजले गरेको 'नेपालमा सूचना प्रविधिको वृद्धिसम्बन्धी राष्ट्रिय प्रसार सम्मेलन' लाई सम्बोधन गर्दै उनले यस्तो धाराण राखेकी हुन्।
कार्यक्रममा नेपालमा सूचना प्रविधिको समग्र अवस्था र सेवा निर्यातसम्बन्धी प्रतिवेदन सार्वजनक गरिएको थियो। प्रतिवेदनलाई उद्धृत गर्दै मन्त्री शर्माले सन् २०२२ सम्म १ सय ६ कम्पनी र ६६ हजार ५ सय ९ फ्रिलान्सरले नेपालमै बसेर सूचना प्रविधि सेवा निर्यात गरेको तथ्य सार्वजनिक हुनु महत्वपूर्ण पक्ष भएको बताइन्।
यसरी ५१ कराेड अमेरिकी डलरभन्दा बढीकाे सेवा निर्यात गरी नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपी) मा १ दशमलव ४ प्रतिशत योगदान गरेको तथ्य प्राप्त भएको उनले बताइन्।
यसबाट विदेशी मुद्रा सञ्चितिमा साढे पाँच प्रतिशत योगदान पुुगेको छ,’ उनले भनिन्, ‘नेपालका लागि यो निकै सुखद र महत्वपूर्ण जानकारी हो। सूचना प्रविधि सेवा निर्यात गर्ने जनशक्तिमध्ये ८३.५ प्रतिशत २० देखि २९ वर्ष उमेर समूहका युवा सक्रिय रहेको जुन तथ्य सार्वजनिक भएको छ, नेपालको समग्र विकास र यसमा युवा सहभागिताको दृष्टिले पनि यो निकै महत्वपूर्ण प्रगति हो।’
सरकारले सूचना प्रविधिलाई राष्ट्रिय प्राथमिकतामा राखेर काम अघि बढाएको उल्लेख गर्दै यो क्षेत्रका विज्ञको सुझाव लिएर सरकारले नयाँ कार्यक्रमको थालनी र पुराना कार्यक्रम परिमार्जन गर्दै अघि बढ्ने बताइन।
‘आधुनिक जीवनको आधारः सूचना प्रविधि र सरकार’ भन्ने मूलनारा साथ सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको उल्लेख उनले बताइन्ग। सरकारको कूल पूँजीगत बजेटको न्यूनतम एक प्रतिशत अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति रहेकाे उनकाे भनाइ छ।
‘नवप्रवर्तन र उद्यमशीलता विकास गर्न स्टार्टअप इकोसिस्टम विकास गर्ने, उद्यमशील सोचलाई व्यवसायमा रूपान्तरण गर्न इन्क्युबेसन सेन्टर सञ्चालन गर्ने, नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि निःशुल्क गर्ने, अनलाइनबाट नै कम्पनी दर्ता र खारेजी गर्ने, लगानीकर्ताका लागि आवश्यक सबै सूचना उपलब्ध हुने गरी राष्ट्रिय पोर्टल तयार गर्ने, सूचना प्रविधि र नवप्रवर्तनमा आधारित उद्योगका लागि लचिलो श्रम नीति अवलम्बन गर्नेलगायत व्यवस्था यो वर्षदेखि सुरु गरिएको छ,’ मन्त्री शर्माले भनिन्।
सूचना प्रविधि उद्योगमा वदेशिक लगानीको सीमा यसै वर्षदेखि हटाइएको जानकारी दिँदै मन्त्री शर्माले सूचना प्रविधि सेवा निर्यात गर्ने उद्देश्यले सञ्चालित उद्योगलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय स्थापना गर्न र सफ्टवेयर वा प्रोग्राम खरिद तथा उपकरण जडान गर्ने उद्योगले गरेको विदेशी मुद्रा आर्जनको १० प्रतिशतसम्म विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउने चालू आर्थिक वर्षको बजेटमार्फत घोषणा भइसकेको बताइन्।
सरकारले चालू आर्थिक वर्ष सूचना प्रविधिमा बिजनेस प्रोसेस आउटसोर्सिङ, सफ्टवेयर प्रोग्रामिङ, क्लाउड कम्प्युटिङजस्ता सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई विदेशी मुद्रामा प्राप्त गरेको आयमा लाग्ने करमा ५० प्रतिशत छूट दिने व्यवस्था मिलाएको जानकारी दिँदै मन्त्री शर्माले भनिन्, ‘यसले देशभित्रै बसेर विभिन्न देशको काम गरी विदेशी मुद्रा आर्जन गर्ने सूचना प्रविधि क्षेत्रका जनशक्तिलाई प्रोत्साहित गर्ने र डिजिटल अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान गर्ने सरकारको अपेक्षा छ।’
विश्वबजारमा जुन क्षेत्रमा जनशक्ति माग भइरहेको छ, त्यसको अध्ययन गरी नेपालभित्रै सहज पठनपाठनका लागि पनि सरकारले पहल गर्ने उनले उल्लेख गरिन्। उनले सूचना प्रविधिमा स्नातक गरेका विद्यार्थीलाई सेवा प्रवेशका लागि सहयोग पुग्ने गरी निश्चित अवधि तोकेर तालिम प्रशिक्षणको व्यवस्था गर्ने गरी पनि तयारी गरिरहेको बताइन्।
सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको आकर्षण बढाउनुका साथै उपलब्ध जनशक्ति क्षमता अभिवृद्धि गर्न सूचना प्रविधि विषयमा स्नातकोत्तर, एमफिल र विद्यावारिधि गर्ने विद्यार्थीलाई विश्वविद्यलय अनुदान आयोगको सहकार्यमा छात्रवृत्ति प्रदान गर्ने र सार्वजनिक सेवा क्षेत्रमा कार्यरत दक्ष जनशक्ति प्रोत्साहन गर्ने कार्यक्रम यसै आर्थिक वर्षदेखि सुरु गरिएको पनि मन्त्री शर्माले जानकारी दिइन।
‘सूचना प्रविधि विकास र प्रयोगलाई राष्ट्रिय महत्वको क्षेत्रका रूपमा स्थापित गर्न हामीले केही नयाँ अवधारणा अघि सार्नुपर्छ भन्ने सोचिरहेका छौं,’ उनले भनिन्, ‘सूचना प्रविधि अध्ययन अनुसन्धानमा लागेका संस्था र व्यक्तिलाई आविष्कार र नवप्रवर्तनमा थप आकर्षित गर्ने गरी देशभरिबाट हजारौं प्रतिभा सहभागी हुने गरी राष्ट्रियस्तरको प्रतिष्पर्धा गराउने डिजिटल च्याम्पियनजस्ता कार्यक्रम गर्ने तयारी पनि मन्त्रालयले अघि सारेको छ। हामीले यही वर्ष पहिलोपटक आइटी एक्जिबिसन गरेर सूचना प्रविधि क्षेत्रमा भइरहेका गतिविधिलाई एउटै थलोबाट सार्वजनिक गर्ने तयारी पनि गरिरहेका छौं।’