एजेन्सी। चार वर्षदेखि ‘ग्राउन्डेड’ भारतको निजी वायुसेवा कम्पनी जेट एयरवेज पुनः सञ्चालनमा आउने भएको छ।
सन् २०१९ देखि ग्राउन्डेड जेट एयरवेज ‘जलान क्यालरक कन्सोर्टियम’ (जेकेसी) ले सञ्चालन गर्न लागेको हो। जेकेसीले जेट सञ्चालन गर्न १३ अर्ब ७५ करोड भारु लगानी गर्ने भएको छ।
जसअनुसार ९ अर्ब पुँजी लगानी र बाँकी ४ अर्ब ७५ करोड भारु ऋण तिर्न खर्चिने छ। त्यसमध्ये ३ अर्ब ८० करोड बैंक ऋण तिर्ने छ।
जेकेसीले जेट एयरवेजको ८९.७९ प्रतिशत स्वामित्व लिएको छ भने ९.५ प्रतिशत ऋणदाताको स्वामित्व रहने गरी लगानी संरचना तयार पारिएको छ।
यता जेकेसीले जेट एयरवेज पुनः सञ्चालन गर्न भारतको नागरिक उड्डयन महानिर्देशकको कार्यालयबाट सोमबार वायुसेवा सञ्चालन अनुमति प्राप्त गरेको छ।
ग्राउन्डेड भएको दुई वर्षभन्दा बढी समयपछि फेरि जेटलाई आकासमा लैजाने तयारी भएको छ। योसँगै जेट एयरवेजको पुनरुत्थान हुन पुगेको छ।
नागरिक उड्डयन महानिर्देशकको कार्यालयले सञ्चालन अनुमति दिएपछि सोमबार बम्बई स्टक एक्सचेन्जमा जेट एयरवेजको सेयर मूल्य ५ प्रतिशत बढेर ५०.८० भारु पुगेको छ।
जालान क्यालरक कन्सोर्टियम जेट एयरवेजको पुनरुत्थानमा पूर्णरूपमा समर्पित भएको छ। उसले जेटको सफलता सुनिश्चित गर्न व्यापक रणनीति लागू गर्ने प्रतिबद्धता जनाएको छ।
२०२२ मे २० मा एक वर्षका लागि जेटको पुनः प्रमाणीकरण गरिएको थियो। तै पनि भारतको प्रमुख वायुसेवा जेटको पुनरुत्थानमा अनिश्चितता बढेको थियो। किनभने, जेठटको वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्रको वैधता मे महिनामै समाप्त भएको थियो।
त्यसबेला जेटको उडान अनुमतिको स्थितिमा कन्सोर्टियमबाट कुनै तयारी नभएको पिटिआईले जनाएको छ।
उच्च घाटा, ऋण र बक्यौताको बोझले दबिएको जेटले २५ वर्ष उडान गरेपछि २०१९ अप्रिलमा उडान बन्द गरेको थियो। त्यसपछि जुन महिनामा राष्ट्रिय कम्पनी कानुन न्यायाधीकरणद्वारा खारेजी प्रक्रिया अघि बढाइएको थियो।
दुई वर्षको खारेजी प्रक्रियापछि अदालतले २०२१ जुनमा जालान क्यालरक कन्सोर्टियमको जेट पुनरुत्थान संकल्प योजना अनुमोदन गरेपछि सञ्चालन गर्न बाटो खुलेको थियो।
जालन क्यालरकको जेट एयरवेजका बैंकहरूसँगको गतिरोध अदालतमा जारी रहेका बेला नागरिक उड्डयन महानिर्देशकको कार्यालयले उडान गर्ने बाटो खोलिदिएको हो।
भारतको राष्ट्रिय कम्पनी कानुन पुनरावेदन न्यायाधीकरण (एनसिएलएटी) ले जेट एयरवेजका सम्बन्धमा अगस्ट ७ मा अन्तिम चरणको बहसको सुनुवाइ हुने जनाएको छ।
राष्ट्रिय कम्पनी कानुन न्यायाधीकरणले गत जनवरीमा जेट एयरवेजको स्वामित्व हस्तान्तरण गर्न अनुमति दिएको थियो। जसले २०२१ मा ग्राउन्डेड जेटलाई पुनरुत्थान गर्ने बाटो खुलेको थियो।