काठमाडौं। उच्च अदालत पाटनले झन्डै एक सय किलो अवैध सुन तस्करी प्रकरणमा पक्राउ परेका छरेका १८ आरोपितलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको राजस्व विभागले जनाएको छ।
विभागका अनुसार सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका दावा छिरिङ र साउन २ यता पक्राउ परेका १७ जनालाई म्याद थप गरिएको हो।
विभागले सुन तस्करी हुँदै गरेको बेला ट्याक्सी चालक अशोक लामा र भन्सार बिचौलियन राजेन्द्र राईलाई पक्राउ गरेको थियो। त्यसै दिन राति रेडी ड्रेडर्सका सञ्चालक दिलीप भुजेल, दिलीपका मामा रामकुमार भुजेल र दिलीपलाई कम्पनी खोल्न सघाएका हर्कराज राईलाई नियन्त्रणमा लिएको थियो।
साउन ३ मा भारतका थुप्तेन छिरिङ, भाेलिपल्ट चीनका क्युयाङ लिन, कार्गो सञ्चालक राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट पक्राउ परेका थिए।
अवैध सुन भन्सार पास गर्न सघाएका भन्सार अधिकृत सन्तोष चन्द, भन्सार जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ साउन ७ मा पक्राउ परेका थिए।
उक्त आयातमा सहजीकरण गरेको भन्दै विभाग टोलीलले भन्सार एजेन्ट यादवशंकर पराजुली, सुर्दशन गौतम र रुकमिना सुब्बालाई पक्राउ गरेकाे थियाे।
त्यसैगरी विभागले चिनियाँ तस्करलाई गोदाम भाडामा खोजिदिने नुवाकोटका सन्तोष तामाङलाई साउन १० मा पक्राउ गरेकाे थियाे।