काठमाडौं। यती ग्रुपले राजधानीमा सञ्चालन गरिरहेको गोकर्ण फरेस्ट रिसोर्टले ८० करोड रुपैयाँ लगानीमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र निर्माण गरिरहेको छ।
सम्मेलन केन्द्र आगामी वर्ष सन् २०२४ अप्रिलदेखि सञ्चालनमा ल्याउने तयारी भएको रिसोर्टले जनाएको छ। निर्माणाधीन सम्मेलन केन्द्रमा ठूला र साना गरी धेरै हल रहनेछन्। कुनै समस्या आएन र निर्माणजन्य सामग्रीको भाउ नबढे निर्धारित समय र तोकिएको लगानीमा सम्मेलन केन्द्र निर्माण सम्पन्न हुने रिसोर्टले स्पष्ट पारेको छ।
रिसोर्टले ६ महिनामा २० करोड रुपैयाँबराबर व्यापार गरेको छ। २०२२ मा ३३ करोड ९० लाख, २०२१ मा १२ करोड ७० लाख, २०२० मा २६ करोड २० लाख र कोभिडअघि २०१९ मा ४२ करोड ४० लाख रुपैयाँ व्यापार गरेको थियाे।
रिसोर्टको अकुपेन्सी ५० प्रतिशत छ। ३० प्रतिशत हिस्सा ब्यांक्वेटबाट आम्दानी भएको रिसोर्टले जनाएको छ। गोकर्ण रिसाेर्टले ७३ करोड ४८ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ।
सन् १९९५ मा स्थापना भएको रिसाेर्टमा १ सय कोठा छन्। यती ग्रुपले भाडामा लिएको जग्गा ४ सय ७० हेक्टर छ। गोकर्णमा गल्फ, हर्स राइडिङ र फरेस्ट वाक सेवा छन्।
यती र तारा एयरलाइन्स सञ्चालन गरिरहेको ग्रुपले होटल, ट्रेकिङ, ट्राभल एजेन्सी, एक्सपिडिसन र लक्जरी होटल तथा रिसोर्ट सञ्चालन गरिरहेकाे छ। नेपाल ट्रस्टले यती ग्रुपलाई गाेकर्ण रिसाेर्ट भाडामा सञ्चालन गर्न दिएको हो।