काठमाडौं। तपाईं टिकटक कत्तिको चलाउनु हुन्छ? चलाउनुहुन्छ भने पछिल्लो समय ‘बालुवामाथि चिया पकाएको’ भिडियो पक्कै देख्नुभएको होला।
अरबी ‘स्कार्फ’ टाउकोमा बेरेका युवाले बालुवामाथि दिउरी (चिया पकाउने भाँडो) मा चिया पकाएर बेच्दै गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ।
नयाँ तरिकाबाट चिया पकाउने ‘रेसिपी’ को ती भिडियोले लाखौं भ्युज पनि पाएका छन्। काठमाडौंमा यो व्यवसाय सुरु भएको करिब १० महिनामात्रै भयो।
झन्डै १५ वर्ष युएईको दुबईमा काम गरेर फर्किएका दिपेश निरौला र नितिन कोइरालाले सञ्चालनमा ल्याएको ‘हबिबी चाय’ को स्टलमा चिया पिउने, फोटो खिच्ने र टिकटक बनाउनेको भीड नै लाग्छ।
काठमाडौंमा हुर्किंर्दै गरेको यो व्यवसायको बीउ भने दुबईको मरुभूमिमै रोपिएको थियो।
दिपेश २०६३ सालमा रोजगारीका लागि दुबई हान्निए। थोरै भाग्यमानी नेपाली युवामध्ये उनी परे। त्यहाँ राम्रो काम पाए। पछि श्रीमती पनि उतै लगे। एकपछि अर्को सपना पूरा गर्दै जाँदा दिपेशले १५ वर्ष बितेको पत्तै पाएनन्।
‘नेपाल फर्कने योजना नबनाएको पनि होइन, तर कहिले के नमिल्ने, कहिले के नमिल्ने,’ दिपेश भन्छन्।
कोभिडअघि दिपेशले आमा, बुबा र सासु, ससुरालाई घुम्न दुबई बोलाएका थिए।
‘उहाँहरूलाई नेपाल पुर्याउन आउँदा कोभिड सुरु भयो। चार महिना यतै थन्किएँ। त्यसपछि बल्ल मलाई नेपालमै बस्ने बाटो खुल्यो,’ क्यापिटल नेपालसँग उनी भन्छन्।
केही समयपछि उनलाई दुबईको कम्पनीले फेरि बोलायो। उनी ‘सबै सेटलमेन्ट गर्छु’ भनेर दुबई फर्किए। पाँच/सात महिना दुबई बसेपछि उनी सबै व्यवस्थापन मिलाएर स्वदेश फर्किए।
उनी नेपाल फर्किएपछि फेरि दोस्रो ‘लकडाउन’ सुरु भयो। यो समयमा उनले विभिन्न व्यवसायबारे अध्यन गरे। तर, कुनै पनि व्यवसायमा रुचि लागेन।
यो समयमा उनको दुबई बस्दाका साथी नितिनसँग पनि भेटघाट र छलफल भइरहन्थ्यो। नितिन केही वर्षअघि नेपाल फर्किएर रेस्टुरेन्ट व्यवसाय पनि सुरु गरिसकेका थिए।
‘नितिन दुबई हुँदा उसको कम्पनीले विभिन्न ठाउँमा तालिममा पठाउँथ्यो। तालिमका सिलसिलामा इजिप्ट जाँदा बालुवामा पकाएको चिया पिएको रहेछ। त्यस्तै व्यवसाय गर्ने सल्लाह भयो र काम अघि बढायौं,’ दिपेश भन्छन्।
व्यवसाय सुरु गर्ने त भनियो, तर त्यसका लागि नेपालमा सामान उपलब्ध थिएन। उनीहरूले इजिप्ट, दुबई, टर्कीबाट सामान, चियापत्ती, मसला मगाए। नेपाली मसला पनि मिसाएर नयाँ रेसिपी पनि विकास गरे।
अरबी स्वादको चिया त बेच्ने तर नाम के राख्ने? ‘नाम त अरू पनि राख्न सकिन्थ्यो, तर नेपालीलाई अरबी शब्द धेरै आउँदैन। नेपालमा हबिबी भन्ने शब्द चर्चित छ। त्यही भएर हबिबी चाये राख्यौं,’ उनी भन्छन्।
सुरुमा उनीहरूले परीक्षणका लागि लबिम मलबाट हबिबी चिया बेच्न थाले। त्यहाँ उनीहरूको चिया धेरैले मन पराएपछि व्यवसाय बढाउँदै गए।
अहिले उनीहरूले बसन्तपुरको डबली रेस्टुरेन्ट, बौद्ध रेगुलर स्टल सञ्चालनमा ल्याएका छन् भने शुक्रबार छाया सेन्टर र शनिबार लबिम मल तथा टौदहमा स्टल सञ्चालनमा ल्याएका छन्। त्यस्तै शुक्रबार र शनिबार ठमेलको मजाज रेस्टुरेन्टमा पनि हबिबी चिया पिउन पाइन्छ।
योबाहेक उनीहरूले ठूलो ‘स्केल’ मा विवाह, पार्टीलगायत विभिन्न इभेन्टमा यो सेवा दिन्छन्। उनीहरूको स्टलमा हबिबी चायेसँगै टर्किस कफी, आइस टी र आइस कफी पनि पाइन्छ।
उनीहरूको पेयपदार्थ प्रोसेसिङ गरिएको दूध, विभिन्न गुणस्तरीय क्रिम, गोप्य मसला, नेपाली र अरबी चियापत्ती प्रयोग गरिने भएकाले सामान्य चियाभन्दा केही महँगो हुने दिपेश जानकारी दिन्छन्।
उनीहरू अब केही समयमै हबिबी चायेको छुट्टै आउटलेट खोल्ने तयारीमा छन्। ‘हाम्रो आफ्नै फिजिकल आउटलेट खोलेपछि अरबीले मनपराउने ‘गाहवा’ चिया बेच्ने तयारीमा छौं। यो निकै कडा हुन्छ। अरबीहरूले यो खजुरसँग पिउँछन्,’ उनले भने।
यतिमात्र नभई, उनीहरूले हबिबी चायेको फ्रेन्चाइजी पनि दिने सोच बनाएका छन्। ‘वीरगन्ज, पोखरा र चितवनमा सुरु गर्ने तयारीमा छौं। कसैले गर्न चाहे ५० प्रतिशत लगानी गर्न पनि सक्नुहुन्छ र पूरै आफै लगानी गर्नेलाई पनि सबै तालिम र सामान उपलब्ध गराउछौं,’ उनी भन्छन्।