काठमाडौं। नेपाल धितोपत्र बोर्डले गैरआवासीय नेपाली (एनआरएन) लाई धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न पाउने व्यवस्था गरेको छ। बोर्डले चालू आर्थिक वर्षको धितोपत्र बजार वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त व्यवस्था गरेको हो।
बोर्डले यसअघिसम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि प्राथमिक सेयर (आइपिओ) मा कोटाको व्यवस्था गरेको थियो। जसले गर्दा आइपिओमा सहभागी हुनेको संख्या वृद्धिसँगै सेयर बजारमा समेत लगानीकर्ता बढेका छन्।
विदेशी भूमिमा गएर आम्दानी गर्ने नेपालीका लागि नेपालमै लगानी गर्ने बाटो खुलाउने घोषणा सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत गरेको थियो। सरकारको घोषणा कार्यान्वयन गर्न बोर्डले दोस्रो बजारमा गैरआवासीय नेपालीलाई लगानी खुला गर्न धितोपत्रसम्बन्धी कानुनमा आवश्यक संशोधन तथा परिमार्जन गर्ने भएको हो।
जसका लागि बोर्डले छुट्टै अध्ययन समितिसमेत गठन गरिसकेको छ भने उक्त अध्ययन कमिटीले बुझाएको प्रतिवेदनका आधारमा आवश्यक काम अघि बढाइने बोर्डका अध्यक्ष रमेश कुमार हमालले क्यापिटल नेपाललाई बताए।
‘अध्ययन प्रतिवेदन आइसकेको छ, त्यसमा बोर्डले नै केही नीति निर्देशन संशोधन गर्ने छ। ऐन संसोधनका लागि नेपाल राष्ट्र बैंकसँग सहकार्य आवश्यक पर्ने कुरा आएको छ,’ बोर्ड अध्यक्ष हमालले भने।
सरकारले गैरआवासीय नेपालीले जलविद्युत क्षेत्रसँगै अन्य वास्तविक क्षेत्रका कम्पनीमा लगानी गर्न पाउने व्यवस्था गरिने उल्लेख गरेको थियो। जसलाई मूर्तरूप दिन बोर्डले एनआरएनको डिजिटल केवाइसीका लागि राष्ट्र बैंकसँग समन्यव गरिरहेको छ। यसका लागि छुट्टै फोकस टिम बनाएको छ।
उक्त टिमले सबै सकारी निकायसँग समन्यव गर्ने काम गर्छन्। एनआरएनको पैसालाई नेपालको पुँजी बजारमार्फत लगानी भित्र्याएर तरलता समस्या समाधानमा गर्न सहयोग गर्न लागिएको बोर्ड अध्यक्ष हमालको भनाइ छ।
बोडेले एनआरएनलाई चालू आर्थिक वर्षको दोस्रो त्रैमासम्म दोस्रो बजारमा ल्याउने काम पूरा गर्ने उनले बताए। ‘दोस्रो त्रैमाससम्म काम पूरा गर्न सकिएला भन्ने आशा छ, सोहीअनुसार काम अघि बढाइसकेका छौं।’