कञ्चनपुर। कञ्चनपुरमा अध्ययनका लागि डेंगु रोग सार्ने एडिज लामखुट्टेको लार्भा संकलन गरी प्रयोगशालमा राख्ने कार्य गरिएको छ। सुदूरपश्चिम प्रदेशको ‘इन्टोमोलोजी टिम’ ले भीमदत्त नगरपालिका–१८ स्थित महेन्द्रनगर बजार क्षेत्रबाट डेंगु चिकनगुनिया, जिन्क एलोफिवर सार्ने एडिज लामखुट्टेका लार्भा संकलन गरी प्रयोगशालामा राखेको हो।
लार्भाबाट वयस्क लामखुट्टे उत्पादन भएपछि त्यसमा डेंगु भाइरस संक्रमण अवस्थाबारे अध्ययन गरिने छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशानालायका ‘भेक्टर कन्ट्रोल’ अधिकृत हेमराज जोशीका अनुसार विगतका वर्ष नेपालका ७७ वटै जिल्लामा डेंगु रोग संक्रमण फैलिएको थियो। यसैबेलादेखि डेंगु रोग सार्ने एडिज एजिप्टाइ र एडिज आल्बोपिक्टस लामखुट्टे संक्रमित भएका थिए।
ती संक्रमित लामखुट्टेका लार्भा अहिले पानी परेपछि वयस्क हुने क्रममा छन्। ‘वयस्क हुन खोजेका लामखुट्टेको लार्भामा संक्रमण छ कि छैन भन्नेबारे अध्ययन गर्न संकलन कार्य गरेका छौं,’ उनले भने, ‘यस प्रकारको अध्ययन नेपालमा सम्भव नभएकाले जापानको भाइरोलोजीसम्बन्धी प्रयोगशालासँग समन्वय गरी अध्ययन गरिने भएको छ।’
निर्देशानालायका भेक्टर कन्ट्रोल अधिकृत जोशीका अनुसार डेंगु रोग भाइरसका कारणले लाग्छ। विभिन्न चार प्रकारका भाइरसले मानिसलाई डेंगु रोगबाट संक्रमित गराउन सक्छ। यो भाइरस एक मानिसबाट अर्को मानिसमा सार्ने काम संक्रमित एडिज लामखुट्टेले गर्दछ। एडिज एजिप्टाइ र एडिज आल्बोपिक्टस लामखुट्टेले रोग सार्ने कुरा प्रमाणित भएको उनले जानकारी गराए।
‘एडिज एजिप्टाइ र एडिज आल्बोपिक्टसले डेंगु रोग सार्नका लागि लामखुट्टे डेङ्गु भाइरसबाट संक्रमित हुनुपर्छ,’ उनले भने, ‘लामखुट्टे संक्रमित हुनका लागि कुनै डेंगु रोग लागेको मानिसलाई टोक्नुपर्ने हुन्छ, एकपटक वयस्क लामखुट्टे डेंगु भाइरसबाट संक्रमित भएपछि त्यसबाट जन्मिने बच्चामा स्वतः सङ्क्रमण आउने गरेको कुरा विभिन्न विद्वानहरूले पत्ता लगाएका छन्।’
यही संक्रमण पत्ता लगाउन लामखुट्टेको लार्भा संकलन गरेर वयस्क लामखुट्टेमा संक्रमण छ कि छैन भनी सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयअन्तर्गत स्थापना गरिएको इन्टोमोलोजी प्रयोगशालाले अध्ययनको काम सुरु गरेको उनको भनाइ छ।
एडिज एजिप्टाइ र एडिज आल्बोपिक्टस लामखुट्टेको अण्डाहरू नौ महिनाभन्दा लामो समयसम्म सुक्खा भाँडोमा पनि बाँच्न सक्ने अध्ययनले देखाएको छ। घर र कार्यालय वरिपरि पानी जम्ने भाँडामा एडिज एजिप्टाइले फुल पार्छ। यही फुलबाट वयस्क लामखुट्टे बाँच्न उचित तापक्रममा नौदेखि १० दिन लाग्छ।
वयस्क लामखुट्टे नै मानिसलगायत अन्य प्राणीको रगत खाने गर्छ। रगत चुस्ने क्रममा नै मानिसलाई रोगको संक्रमणबाट आउने गर्छ। सुदूरपश्चिम प्रदेशसँगै देशका अधिकांश प्रदेशमा डेंगु रोग संक्रमण प्रत्येक वर्ष देखिने गरेको छ। रोग फैलिन नदिनका लागि सफा पानीमा हुर्कने डेंगु रोग सार्ने लामखुट्टेका लार्भा नष्ट गर्नुपर्ने हुन्छ। असारदेखि असोज महिनासम्म डेंगु रोगको संक्रमण बढ्न सक्ने उच्च जोखिम रहन्छ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार प्रदेशका नौवटै जिल्लामा पछिल्लो समय डेंगु रोगबाट ३ सय १८ जना संक्रमित भएका छन्। सबैभन्दा बढी दार्चुलामा १ सय ९०, कञ्चनपुरमा ५२, अछाममा ३१ र कैलालीमा २३ जनामा डेंगु संक्रमण भएको पाइएको छ।