काठमाडौं। आगामी दशकमा विश्वव्यापी आर्थिक शक्ति सन्तुलन नाटकीयरूपमा परिवर्तन हुने अनुमान गरिएको छ। गोल्डम्यान साक्सले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले आगामी दशकमा विश्वव्यापी आर्थिक शक्ति सन्तुलन परिवर्तन भई एसियातिर सर्ने प्रक्षेपण गरेको छ।
केही दशकको प्रमुख विषय चीन र भारतको अविश्वसनीय आर्थिक वृद्धि हो। उदाहरणका लागि सन् २००० र २०२२ बीचमा भारतले बेलायत र फ्रान्सलाई पछाडि पार्दै पाँचौं ठूलो अर्थतन्त्र बन्यो। एक दशक अवधिमा भारत ८ स्थान माथि चढ्यो।
विश्वको आर्थिक शक्ति छिमेकी चीन र भारतको बीचमा रहेको नेपालको अर्थतन्त्र ४२ अर्ब डलरको मात्र छ। नेपालको अर्थतन्त्र विश्वको सयौं ठूलो छ। छिमेकी चीन र भारतको अर्थतन्त्र तीव्र गतिमा विस्तार हुँदा नेपालको अर्थतन्त्र सुस्त गतिमा बढेको छ।
अर्थतन्त्रलाई गति दिन सरकारले दीर्घकालीन सोच २१०० अघि बढाएको छ। आउँदो तीन वर्षमा नेपाल अतिकम विकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदैछ। यस्तै २०८७ सालमा दीगो विकास लक्ष्य हासिल गर्दै उच्च मध्यमस्तर आय भएको मुलुकमा स्तरोन्नति हुने दीर्घकालीन सोच राखेको छ।
अमेरिका पहिलो, चीन दोस्रो
सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाको छ। अमेरिकी अर्थतन्त्रको आकार २ सय ५० खर्ब ३५ अर्ब डलर (२५ ट्रिलियन) भन्दा बढी छ। विश्व अर्थतन्त्रको एक चौथाइ हिस्सा अमेरिकाको छ।
विश्वको दोस्रो स्थानमा छिमेकी चीन छ। चीनको अर्थतन्त्रको आकार १ सय ८३ खर्ब २१ अर्ब डलर (१८.३२ ट्रिलियन) छ। ४३ खर्ब डलर (४.३ ट्रिलियन) सहित तेस्रो स्थानमा जापान छ। चौथो स्थानमा जर्मनी छ। उसको अर्थतन्त्र ४० खर्ब ३१ अर्ब डलर (४.३१ ट्रिलियन) को छ।
त्यस्तै छिमेकी भारत पाँचौं स्थानमा उक्लिएको छ। भारतको अर्थतन्त्रको आकार बढेर ३७ खर्ब ५० अर्ब (३.७५ ट्रिलियन) डलर पुगेको छ।
३१ खर्ब ९८ अर्ब (३.१९ ट्रिलियन) डलरसहित बेलायत छैठौं, २७ खर्ब ७८ अर्ब (२.७७ ट्रिलियन) डलरसहित फ्रान्स सातौं, २२ खर्ब ४० अर्ब (२.२ ट्रिलियन) डलरसहित क्यानडा आठौं स्थानमा छ भने नवौं स्थानमा रुस छ। रुसी अर्थतन्त्र २१ खर्ब ३३ अर्ब (२.१३ ट्रिलियन) डलरबराबर छ। १०औं स्थानमा परेको इटालीको अर्थतन्त्र १९ खर्ब ९७ अर्ब (१.९ ट्रिलियन) डलरबराबर छ।
आगामी २०५० सम्म गोल्डम्यान साक्सले विश्वको कूल गार्हस्थ उत्पादन (जिडिपी) को तौल एसियातिर बढ्ने अनुमान गरेको छ। यो आंशिकरूपमा एसियाले अघिल्लो प्रक्षेपणभन्दा राम्रो प्रदर्शन गरेका कारणले सम्भव हुने भएको हो।
ब्राजिल र रुसलाई सबैभन्दा ठूलो उदीयमान बजारका रूपमा उछिनेर इन्डोनेसिया २०५० सम्म विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने छ। इन्डोनेसिया विश्वको सबैभन्दा ठूलो द्वीपसमूह राज्य पनि हो। इन्डिोनेसियाको जनसंख्या २७ करोड ७० लाख पुगेको छ। जनसंख्याका आधारमा इन्डोनेसिया चौथो ठूलो देश हो।
सन् २०५० : चीन पहिलो, भारत तेस्रो
२०५० मा विश्वका पाँच ठूला अर्थतन्त्र चीन, अमेरिका, भारत, इन्डोनेसिया र जर्मनी हुने गोल्डम्यानको प्रक्षेपण छ। २०५० सम्म चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने छ। चीन २०३५ मै अमेरिकालाई उछिनेर विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने अनुमान छ। २०५० मा चीनको अर्थतन्त्रको आकार बढेर ४ सय १९ खर्ब (४१.९ ट्रिलियन) डलरको हुने अनुमान छ।
यस्तै दोस्रो स्थानमा अमेरिका हुनेछ। अमेरिकाको अर्थतन्त्र ३ सय ७२ खर्ब (३७.२ ट्रिलियन) डलरको हुनेछ। यस्तै तेस्रो स्थानमा भारत हुनेछ। भारतको अर्थतन्त्र २ सय २२ खर्ब (२२.२ ट्रिलियन) डलरको हुनेछ।
चौथो स्थानमा इन्डोनेसिया हुने भएको छ। इन्डिोनेसियाको अर्थतन्त्र ६३ खर्ब डलर (६.३ ट्रिलियन) डलरको हुनेछ। पाँचौं स्थानमा जर्मनी हुने भएको छ। जर्मनीको अर्थतन्त्र ६२ खर्ब (६.२ ट्रिलियन) डलरको हुनेछ।
यस्तै जापान ६० खर्ब डलर (६ ट्रिलियन) डलरसहित छैठौं, ५२ खर्ब (५.२ ट्रिलियन) डलरसहित बेलायत सातौं, ४९ खर्ब (४.९ ट्रिलियन) डलरसहित ब्राजिल आठौं, ४६ खर्ब (४.६ ट्रिलियन) डलरसहित फ्रान्स नवौं र ४५ खर्ब (४.५ ट्रिलियन) डलरसहित रुस १०औं अर्थतन्त्र हुनेछ।
२०७५ मा अगाडि बढ्दै जाँदा नाइजेरिया, पाकिस्तान र इजिप्ट शीर्ष १० स्थानमा आउने देखिएको छ। यसैबीच युरोपेली अर्थतन्त्र क्रमबद्ध रूपमा तल झर्न जारी रहनेछन्। कुनै समय विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको जर्मनी ब्राजिलपछि नवौं स्थानमा बस्ने छ।
चीन, भारत र अमेरिकाले उक्त समयसम्म समान जिडिपी हुने अपेक्षा गरिएको छ। केही हदसम्म समान आर्थिक शक्ति हुनेछन्।
गोल्डम्यानले आगामी २०७५ सम्म १ सय ४ देश समेटेको छ। उदीयमान अर्थतन्त्र वृद्धि यस दशकको बाँकी अवधिमा उन्नत अर्थतन्त्रभन्दा बढी रहने छ। उदीयमान अर्थतन्त्र ३.८ र उन्नत अर्थतन्त्र १.८ प्रतिशत विस्तार हुनेछ।
२०७५ सम्म चीन, अमेरिका र भारत तीन ठूला अर्थतन्त्र रहने सम्भावना छ। सही नीतिसाथ विश्वका शीर्ष १० अर्थव्यवस्थामध्ये सात उदीयमान बजार हुने अनुमान छ।
गोल्डम्यानले इक्विटी बजार पुँजीकरणमा ध्यान केन्द्रित गर्दै विश्वव्यापी पुँजीबजारको भविष्यको वद्धि प्रक्षेपण गर्न राम्रो विश्लेषण गरेको जनाएको छ। दीर्घकालीन जिडिपी अनुमानलाई भविष्यको इक्विटी बजार पुँजीकरणको अनुमानमा रूपान्तरण गर्न गोल्डम्यानले इक्विटी बजार पुँजीकरणदेखि प्रतिव्यक्ति जिडिपी अनुपात वृद्धि हुने तथ्य विश्लेषण गरेको छ।
उदीयमान बजारमा प्रतिव्यक्ति स्तरमा भइरहेको वृद्धि ध्यानमा राख्दै उदीयमान इक्विटी सम्पत्ति जिडिपीभन्दा छिटो बढ्ने सम्भावना रहेको संकेत गर्छ।
गोल्डम्यानको अनुमानले विश्वव्यापी इक्विटी बजार पुँजीकरणमा उदीयमान बजार हिस्सा हालको २ सय ७५ बाट बढेर २०३० मा ३ सय ५५, २०५० मा ४ सय ७५ र २०७५ मा ५ सय ५५ पुग्ने संकेत गर्छ।
भारतले विश्व सेयरबजारमा सबैभन्दा ठूलो वृद्धि रेकर्ड गर्ने अनुमान गरिएको छ। २०५० सम्ममा चीनको हिस्सा १० प्रतिशतबाट १ सय ५५ सम्म पुग्ने तर सम्भावित वृद्धिमा जनसांख्यिकीय नेतृत्वमा आएको मन्दीलाई प्रतिविम्बित गर्दै २०७५ सम्ममा घटेर १ सय ३५ सम्ममा ओर्लने गोल्डम्यानको अनुमान छ।
अमेरिका बाहिर इक्विटी बजारको बढ्दो महत्वले सेयर २०२२ मा ४२ प्रतिशतबाट २०५० मा २७ र २०७५ मा २२ प्रतिशतमा घट्ने प्रक्षेपण छ। विगत १० देखि १५ वर्षमा विकसित र उदीयमान दुवै अर्थतन्त्रमा वास्तविक जिडिपी वृद्धि सुस्त भएको छ।
यस अवधिमा विश्वअर्थतन्त्रले सामना गरेका विभिन्न झट्काबीच उदाउँदो र विकसित अर्थतन्त्र विश्वव्यापी वित्तीय संकट र कोभिड महामारीपछि यथावत छन्।
उदीयमान र विकसित आय वृद्धि निरन्तरताले उदीयमान बजारद्वारा लेखिएको विश्वव्यापी जिडिपीको अंश समयसँगै बढ्दै जाने संकेत गर्छ। तिनीहरूको आम्दानी बिस्तारै विकसित अर्थतन्त्रको स्तरमा परिणत हुनेछ। विश्वव्यापी आम्दानीको वितरण मध्यम आय अर्थतन्त्रको यो बढ्दो समूहतर्फ सर्ने छ।
ग्लोबल इकोनोमिक्स विश्लेषणमा गोल्डम्यानले समयसँगै प्रमुख पुँजीबजार बन्ने अपेक्षा गर्ने अर्थतन्त्र पहिचान गर्दै विश्वव्यापी पुँजीबजार भविष्यको वृद्धि प्रक्षेपण विश्लेषण गरेको छ।
गोल्डम्यानको अनुमानअनुसार २०२४–२९ मा विश्वव्यापी वृद्धि २.८ प्रतिशत छिटो हुनेछ।
२०५० मा विश्वका पाँच ठूला अर्थतन्त्र चीन, अमेरिका, भारत, इन्डोनेसिया र जर्मनी हुनेछन्। इन्डोनेसियाले ब्राजिल र रुसलाई विस्थापित गर्ने छ। २०३५ मा चीनले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रका रूपमा अमेरिकालाई उछिन्ने छ।
सन् २०७५ : चीन पहिलो, भारत दोस्रो
गोल्डम्यानले २०७५ सम्म विश्वका तीन ठूला अर्थतन्त्र चीन, भारत र अमेरिका हुनेछन्। जसमा भारतले अमेरिकालाई पछाडि पार्ने छ। रोचक कुरा के छ भने राम्रो जनसांख्यिकीय दृष्टिकोणका कारण अमेरिकी सम्भावित जिडिपी वृद्धि भौतिकरूपमा चीनभन्दा छिटो हुने अपेक्षा छ। अहिलेका उदीयमान बजार २०७५ मा विश्वका शीर्ष १० अर्थव्यवस्थामध्ये सात बन्नेछन्।
पहिलो, ठूला तीन अर्थतन्त्र चीन, भारत र अमेरिकासाथै अन्य सबै अर्थतन्त्र युरो क्षेत्रले चौथो आर्थिक महाशक्तिलाई एकल अर्थतन्त्रका रूपमा लिने हो भने यसबीच ठूलो अन्तर छ। तसर्थ, २०७५ को जिडिपी सूचीमा इन्डोनेसिया, नाइजेरिया र पाकिस्तान क्रमशः चौथो, पाँचौं र छैठौं स्थानमा पर्ने अनुमान गरिएको छ। चीन, भारत र अमेरिकाको आकारको एक तिहाइभन्दा कम हुने अनुमान छ।
दोस्रो, २०७५ सम्ममा चीन र भारत अमेरिकाभन्दा ठूलो हुने अनुमान छ। तर, गोल्डम्यानको अनुमानले अमेरिका दोब्बरभन्दा बढी धनी रहने संकेत गर्छ।
२०७५ मा चीनको अर्थतन्त्र बढेर ५ सय ७० खर्ब (५७ ट्रिलियन) डलरको हुनेछ। यस्तै दोस्रो स्थानमा रहेको भारतको ५ सय २५ खर्ब (५२.५ ट्रिलियन) डलरको हुनेछ। तेस्रो स्थानमा अमेरिकाको ५ सय १५ खर्ब ५१.५ ट्रिलियन) डलरको हुने गोल्डम्यानको अनुमान छ।
यस्तै चौथो स्थानमा हुने इन्डोनेसियाको १ सय ३७ खर्ब (१३.७ ट्रिलियन) डलर, पाँचौ स्थानमा अफ्रिकी देश नाइजेरिया हुनेछ। नाइजेरियाको अर्थतन्त्र १ सय ३१ खर्ब (१३.१ ट्रिलियन) डलरको बन्ने छ। छैठौं स्थानमा पुग्ने पाकिस्तानको अर्थतन्त्र १ सय २३ खर्ब (१२.३ ट्रिलियन) डलरको बन्ने अनुमान छ।
सातौं स्थानमा पुग्ने अनुमान गरिएको इजिप्टको अर्थतन्त्र १ सय ४ खर्ब (१०.४ ट्रिलियन) डलर, आठौं स्थानमा हुने ब्राजिलको ८७ खर्ब (८.७ ट्रिलियन), नवौं स्थानमा हुने जर्मनीको ८१ खर्ब (८.१ ट्रिलियन) डलर र १० औं स्थानमा बेलायत झर्ने छ। त्यसबेला बेलायतको अर्थतन्त्र ७६ खर्ब (७.६ ट्रिलियन) डलर पुग्ने अनुमान गोल्डम्यानको छ।