काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले हरेक गन्तव्यको मौसम जानकारी दिन भन्दै एयरलाइन्स र हेलिकाेप्टर कम्पनीहरूबाट प्रत्येक उडानवापत १० डलर लिँदै आएको छ। जल तथा मौसम विज्ञान विभागमार्फत प्राधिकरणले हरेक उडान गन्तव्यको मौसमको जानकारी एयरलाइन्स तथा हेलिकाेप्टर कम्पनीलाई दिँदै आएको छ।
प्राधिकरणले दिएको सूचनाका आधारमा एयरलाइन्स तथा हेलिकाेप्टर कम्पनीले उडान गर्दै आएका छन्। सरकारी सूचनालाई आधार मानेर उडान गर्दा कतिपय समयमा बादलभित्र पसेर जहाज दुर्घटना हुने गरेको व्यवसायीको भनाइ छ।
विभागको सूचना आधार मानेर उडान गर्दा गन्तव्यको बीचमा भएको मौसम खराबीका कारण कतिपय दुर्घटना हुने गरेको व्यवसायीको भनाइ छ। विभागले प्रभावकारीरूपमा काम हुन नसकेको बताउँदै व्यवसायीले असन्तुष्टि पोखेका छन्।
वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले इनरुटको सही जानकारी नपाएकै कारण धेरै दुर्घटना हुने गरेको बताए। सरकारी संयन्त्रकै कारण दुर्घटना पर्दा त्यसको दोष एयरलाइन्स कम्पनी र पाइलटले मात्र भोग्नुपरेको बताए। यसमा प्राधिकरणले विशेष चनाखो देखाउनुपर्ने बेला आएको उनको भनाइ छ।
प्राधिकरणले केही समयअघि भएको मनाङ एयरको हेलिकाेप्टर दुर्घटनाको प्रारम्भिक अध्ययनअनुसार मौसम खराबीका बेला उडान गरेको कारण देखाएको छ। जसका कारण प्राधिकरणले आगामी सेप्टेम्बरसम्म 'माउन्टेन फ्लाइट' र 'सिलिङ' उडानमा प्रतिबन्ध लगाएको छ।
व्यवसायीले भने उडान प्रतिबन्ध लगाउनेभन्दा मौसमको सही सूचना दिनेखालका प्रविधि विकासमा प्राधिकरण लाग्नुपर्ने महासचिव मनोज कार्की बताउँछन्।
‘हामीलाई १० देखि १२ हजार फिट उचाइको जानकारी चाहिरहेको हुन्छ,’ महासचिव कार्कीले भने, ‘मौसम विभागले २१ हजार फिटमाथि मात्र जानकारी दिन्छ,जुन हामीलाई आवश्यकता नै पर्दैन।’
अहिले एयरलाइन्स तथा हेलिकाेप्टरले सम्बन्धित विमानस्थल र गन्तव्यमा रहेका आफ्ना कर्मचारीको सहयोगमा त्यस क्षेत्रको मौसमको जानकारी लिएर उडान गर्दै आएका छन्।
प्राधिकरणले हेलिकाेप्टर कम्पनीले मात्र मौसमको जानकारी दिएवापत वार्षिक ७० देखि ८० लाख रुपैयाँ बुझाउँदै आएको व्यवसायीको भनाइ छ। व्यवसायीले बुझाएको रकमले मौसम जानकारी दिन आवश्यक प्रविधिसमेत प्राधिकरणले जडान नगरेको आरोप ती व्यवसायीको छ।
यता, प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जहाज उड्नुभन्दा अघिको जानकारी मौसम विभागमार्फत दिने गरेको बताउँदै बीचमा कहिलेकाहीँ आउने समस्या केही गर्न नसक्ने बताए। 'कहिलेकाहीँ जहाज उडिसकेपछि बीचको गन्तव्यमा मौसम खराब भएको हुन्छ, जुन हामीलाई पनि थाहाँ हुँदैन,' प्रवक्ता निरौलाले भने।
अहिले पोखराबाट जोमसोमको सबै क्षेत्रको जानकारी प्रत्यक्ष देखिने गरी मौसम क्यामेरा जडान गरिसकेको जानकारी दिए। त्यस्तै काठमाडौं लुक्ला र नेपालगन्जबाट सिमकोटसम्मका गन्तव्यको पनि मौसम प्रत्यक्षरूपमा देख्न मिल्ने मौसम क्यामेरा जडानका लागि राष्ट्रिय आविष्कार केन्द्रसँगको समन्वयमा काम भइरहेको बताए।