काठमाडौैं । चालू आर्थिक बर्ष २०७६/०७७ मा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारणमा १ हजार ५ मेगावाट बिद्युत थप हुने भएको छ । प्राधिकरणको सहायक कम्पनी र निजी क्षेत्रका ५० जलविद्युत् आयोजना निर्माण सम्पन्न भइ राष्ट्रिय प्रणालीमा उक्त परिमाणको बिद्युत थपिने प्रक्षेपण गरेको हो ।
प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित साना/ठूला ५० ओटा जलविद्युत् आयोजनाबाट ग्रीडमा बिद्युत थप हुने प्रक्षेपण गरेको छ । आर्थिक बर्ष २०७५/०७६ सम्म १२ सय ३७ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जडित छ । असारयता, हालसम्म ४० मेगावाटका आयोजना सम्पन्न भइ ग्रीडमा थपिएका छन् ।
अहिले कुल जडित क्षमता १२ सय ८० मेगावाट पुगेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । केही आयोजना चालू आर्थिक बर्षमा र केही २/३ महिनापछि निर्माण सम्पन्न भएर विद्युत् उत्पादन हुने चरणमा रहेको उनको भनाइ छ । माथिल्लो तामाकोशीबाट २०७६ असार मसान्तसम्म विद्युत् उत्पादन गर्ने प्राधिकरणको लक्ष्य छ । तर, तोकिएको समयभित्र तामाकोशीको बिद्युत उत्पादन हुनेमा शंका रहेको प्रवक्ता अधिकारीले घुमाउरो पारामा स्विकार गरे ।
माथिल्लो तामाकोशीको ३ सय १० मिटरमा पेनस्टक पाइप जडान गर्नुपर्छ । तर, हालसम्म ५० मिटरभन्दा बढि जडान हुन सकेको छैन् । पेनस्टक पाइप जडानमा ठेकेदारको काम गराइबाट आयोजनाका कर्मचारी समेत सन्तुष्ट छैनन् । आयोजना सुचना अधिकारी डा. गणेश न्यौपानले पेनस्टक पाइप फिटिङमा मुख्य समस्या देखिएको बताए । यहि रफ्तारको काम गराइले तोकिएको समयमा आयोजना पूरा हुन गाहे रहेको उनले बताए ।
विद्युत् माग बढेन
प्राधिकरणको प्रक्षेपणअनुसार चालू आवको अन्त्यसम्ममा विद्युत् माग २२ सय २५ मेगावाट पुग्नुपर्छ । तर, अहिले विद्युत्को कुल माग १३ सय मेगावाट भन्दा बढ्न सकेको छैन् । गत कात्तिकको लक्ष्मीपूजाको दिन ‘पिक आवर’ मा विद्युत् माग १२ सय ९७ मेगावाट रह्यो । जुन, अघिल्लो आर्थिक बर्षको तुलनामा ४० मेगावाटले कम हो ।
सवैभन्दा बढि विद्युत् खपत हुने लक्ष्मीपूजाको दिनमा नै विद्युत् माग कम भएकाले अन्य समयको विद्युत् माग व्यापक रुपमा बढाउनुपर्ने अधिकारीले बताए । ‘अहिले नै विद्युत् माग उल्लेख्य रुपमा बढाउन सकेका छैनौं । लक्ष्मीपूजाको दिनकै कुरा गर्दा १२९७ मेगावाट विद्युत् माग थियो’ उनले भने, ‘हामीले अब व्यापक रुपमा विद्युत् माग बढाउनुपर्ने छ ।’ उनका अनुसार, अहिलेको प्रतिव्यक्ति विद्युत् खपत २ सय ४५ युनिट मात्रै छ । यो एकदमै न्युन रहेको अधिकारीले बताए ।